श्रावण ५, २०८२ सोमबार July 21, 2025

कोरोनाको आडमा सत्ता बचाउने खेलमा ओली सरकार लागेको कांग्रेसको निष्कर्ष

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली कांग्रेस पदाधिकारी बैठकले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार कोरोनाको आडमा आफ्नो सत्ता बचाउने खेलमा लागेको निष्कर्ष निकालेको छ ।

बुधबार बिहान सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले प्रधानमन्त्री ओली नेतृत्वको सरकार कोरोना रोकथाम तथा नियन्त्रणमा नलागेर आफ्नो सत्ता बचाउने र जनतामा आतंक फैलाउने खालका काममा लागेको निष्कर्ष निकालेको हो ।

कोरोना संक्रमणको रोकथाम गर्न भन्दा पनि महामारीको आडमा जनतालाई दुई दिनमा साताका लागि खाद्यान्नलगायत सामग्री किन्न भन्नेजस्ता आदेश दिएर आतंक फैलाउने काम सरकारले गरेको कांग्रेसको आरोप छ ।

पदाधिकारी बैठकपछि सहमहामन्त्री प्रकाशशरण महतले भने, ‘दुई दिनभित्र किनमेल गर्नु भन्नेजस्ता कुरा गरेर यो सरकार जनतामा आतंक फैलाउन खोज्दैछ।’ सरकारले पिसिआर परीक्षण नगर्ने, संक्रमितको उपचार नगर्ने तर जनतामा आतंक फैलाउने काम गरिरहेको भन्दै कांग्रेस बैठकले निन्दासमेत गरेको उनले बताए ।

सहमहामन्त्री महतले बैठकमा कोरोना संक्रमितलाई उपचार गर्नेभन्दा पनि कोरोनाको आडमा जनतामा आतंक फैलाउने र राजनीतिक स्वार्थसिद्धी गर्ने कोसिस सरकारबाट भइरहेको कामको भर्त्सना समेत गरिएको बताए ।

कोरोना महामारी भएकोले पार्टी र जनता सडकमा नउत्रने र सामाजिक सञ्जालमै बहश चर्काउने निर्णय समेत बैठकले गरेको उनले बताए ।

जनताका आवश्यकता र पीरमर्का बुझ्न पनि सरकारलाई आग्रह गर्दै दैनिक ज्यालादारीदेखि साना लगानीका उद्यमहरू संकटमा परेकोले हातमुख जोर्न सरकारले सहयोग गर्नुपर्ने कांग्रेसको भनाइ छ। बैठकले उपचार नपाएर र अक्सिजन नपाएर कोभिड संक्रमितहरुको ज्यान गइरहेको तथा दुर्गम लगायत क्षेत्रमा कोरोना परीक्षण हुन नसकिरहेका बेला उपचार, रोकथाम र राहततर्फ केन्द्रीत हुनका लागि सरकारको ध्यानाकर्षण गराएको छ ।

शनिबारदेखि निषेधाज्ञामा कडाइ गरिने, तरकारी र खाद्यान्न पसलसमेत खोल्न नदिने प्रजिअहरूको उक्त निर्णयमा समेत कांग्रेसले गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया