काठमाण्डौंः सुदूरपश्चिम प्रदेशसभा, नेपाल कम्युनिष्ट पार्टी(एमाले) संसदीय दलका नेता प्रकाशबहादुर शाहले प्रमुख सचेतकमा लालबहादुर खड्कालाई नियुक्त गरेका छन् ।
पार्टीमा उत्पन्न आन्तरिक किचलोका बीच संसदीय दलका नेता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री शाहले संसदीय दलको विधान, २०७७ बमोजिम आज प्रमुख सचेतक र सचेतक नियुक्त गरेका हुन् । संसदीय दलको सचेतकमा दुर्गाकुमारी कामीलाई नियुक्त गरिएको छ ।
नेकपा एमालेको केही दिनअघि बसेको स्थायी समिति बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको थियो । स्थायी कमिटीको निर्देशन विपरीत सुदूरपश्चिम प्रदेश, एमाले संसदीय दलको बैठकले अहिले कोरोना महामारीको विषम परिस्थिति रहेको र छिट्टै बजेट नीति कार्यक्रम ल्याउनु पर्ने भएको अवस्थामा हाललाई गठबन्धनको सरकारलाईनै यथावत् राखेर समर्थन फिर्ता नलिने निर्णय गरेको थियो । सो पार्टीको संसदीय दलमा नेता माधवकुमार नेपाल पक्षको बहुमत रहेको छ ।
मन्त्रीद्वारा स्पष्टीकरण
प्रदेश सरकारका सामाजिक विकासमन्त्री एवं नेकपा एमालेका स्थानीय नेता कृष्णराज सुवेदीले पार्टीको प्रदेश कमिटीबाट सोधिएको स्पष्टीकरणको जवाफ दिएका छन् ।
जवाफमा मन्त्री सुवेदीले विसं २०७७ फागुन २३ गते सर्वोच्च अदालतको फैसलाबाट पुनरजीवित नेकपा एमालेको तत्कालीन पदीय हैसियतभन्दा भिन्न सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्ष र सचिवका रूपमा हस्ताक्षरित पत्र आफूलाई प्राप्त भएकामा अन्योल सिर्जना भएको बताएका छन् । उनले स्पष्टीकरण तथ्यहीन कुरामा आधारित रहेको जिकिर गरेका छन् ।
प्रदेश सभामा नेकपा एमालेका सभामुखसहित २५, नेकपा माओवादी केन्द्रका उपसभामुखसहित १३, नेपाली कांग्रेसका १२ र राष्ट्रिय जनता पार्टीका दुई जना सदस्यको प्रतिनिधित्व रहेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया