असार २२, २०८२ आइतबार July 6, 2025

नागरिकता अध्यादेशले समस्याको समाधान गर्दैन । – महेन्द्र राय यादव (अन्तवार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

जसपा अब विभाजनतर्फ उन्मुख भएको हो ?

मलाई पार्टी विभाजनतर्फ गएको जस्तो लागेको छैन । पार्टीको विचार, विधान, पार्टीभित्र अनुशासन र मर्यादा कायम राख्नको लागि यो सबै प्रक्रिया हो ।

पार्टी विभाजन हुन्छ भन्ने मलाई लाग्दैन, विभाजन गर्न पनि हुँदैन । उहाँहरूले के गर्नुहुन्छ, अब उहाँहरूको हातको कुरा हो । उहाँहरूको कारणले अहिले नेपाली जनताको चाहना विपरीतको काम भइरहेको छ ।

महन्थ र राजेन्द्र महतको समूहले त प्रधानमन्त्री ओलीसँग मिलेर ‘हामीले मधेशका सबै माग पूरा गर्‍यौं’ भनिरहनुभएको छ नि ?

पार्टी भएपछि कहीं न कहीं निर्णय हुनुपर्छ । जब हामीले यो प्रतिगमन भनेर आन्दोलन गर्‍यौं र सर्वोच्च अदालतको फैसला मार्फत पुनस्र्थापना भएपछि पनि बैठक नै बसेन ।

बैठक बसाउनको लागि बारम्बार प्रयास गरियो । मिलेर नै जाने, एकताबद्ध भएर जाने भनेर पार्टीमा बैठक गरौं र जे निर्णय हुन्छ त्यही कार्यान्वयन गर्ने भनियो । उहाँहरू बैठकमा पनि बस्न सक्नुभएन ।

यही बीचमा प्रदेश नं ५ को घटना घट्यो । केही साथीहरू सरकारमा जानुभयो तर त्यसका लागि पार्टीको कुनै निर्णय चाहिन्थ्यो । त्यहाँको संसदीय दलको निर्णय एउटा छ, प्रदेश कमिटीको निर्णय एउटा छ तर उहाँहरू त्यसको विपरीत जानुभयो । हामीले पटक–पटक बैठक बस्नका लागि भन्यौं, तर उहाँहरूले बैठक बस्न मान्नु भएन । पार्टी भनेको अनुशासित र मर्यादित हुनुपर्छ ।

पार्टीमा भएको पाँचबुँदे सहमति किन कार्यान्वयन भएन ?

अहिले केपी ओलीले देखाएको प्रतिबद्धता मधेशी र आदिवासी जनताको मागलाई सम्बोधन गर्नका लागि होइन । यो जनताको आँखामा छारो हाल्नका लागि हो । उपेन्द्र यादवजीको जोडबलपछि पार्टीमा ८ बुँदे सहमति भयो । त्यो सम्झौताको मसी नसुक्दै संसदीय दलको नेता दर्ता गराउनुभयो । जुन संसदीय दल विधिविधान विपरीत छ । पार्टीको विधानमा लेखिएको प्रक्रिया पुगेको छैन । अनि होटलमा गएर अरूको सहयोगमा घोषणा हुन्छ भने त्यो वैधानिक हुने कुरा भएन । यी सबै प्रक्रिया बेठीक देखियो ।

तर उहाँहरूले मधेशको एजेण्डा पूरा गराउन खोजेको भन्नुभएको छ नि ?

मुद्दाकै लागि हो भने यो विषय हामीले विगतदेखि नै उठाउँदै आएको हो । उहाँहरूले पाँच सदस्यीय वार्ता समिति बनाउनुभयो । एक–दुई ठाउँमा जानुभयो अनि वार्ता कमिटी पनि भंग गर्नुभयो । त्यसपछि उहाँहरू दुई जना मात्र जान लाग्नुभयो ।

हामीले वार्ता कमिटीको कुनै औचित्य छैन भन्यौं । हामीले पार्टीले जे निर्णय गर्छ, त्यसलाई कार्यान्वयन गरौं र पार्टी एकतालाई बचाऊँ भन्यौं । तर उहाँहरूले पार्टी एकताको मर्मविपरीत कामहरू गर्नुभयो । यसले पार्टीमा एक खालको जटिलता उत्पन्न भयो । १३ महीनादेखि पार्टी कमिटी समायोजन हुनसकेको थिएन ।

उहाँहरूले समायोजनमा बाधाअड्चन खडा गर्नुभयो । आफूभित्र नै निर्णयको कार्यान्वयन नगर्ने हो भने तलका व्यक्तिले कसरी मान्छन् ? ३२ जना सांसदको हस्ताक्षर लेखेर दिने अधिकार उहाँहरूलाई कसले दियो ? ३२ जना छन् कि छैनन् पार्टीबाट निर्णय गराउनुपर्दथ्यो । उहाँहरू गलत पनि गर्दै जानुभयो र अगाडि बढ्दै जानुभयो ।

पहिलो केपी ओली संविधान संशोधनको माग पूरा गर्न नचाहने, अहिले सबै पूरा गर्छु भन्नुभएको छ, यसलाई तपाईंले कसरी लिनुभएको छ ?

अहिले केपी ओलीले देखाएको प्रतिबद्धता मधेशी र आदिवासी जनताको मागलाई सम्बोधन गर्नका लागि होइन । यो जनताको आँखामा छारो हाल्नका लागि हो । किनभने उहाँसँग बहुमत भएको समयमा हामीले सरकारलाई समर्थन गरेका थियौं, उहाँले कागजमा सबै काम गर्छु भन्नुभएको थियो । उहाँले नगरेपछि एक वर्षपछि हामी सरकारबाट फिर्ता आयौं । अनि समर्थन फिर्ता लियौं ।

अहिले उहाँहरूले यो देशको विषम परिस्थितिमा संघीय लोकतन्त्र र यो संविधानलाई समाप्त पार्नको लागि बारम्बार संसदको विघटन गर्नुभएको छ । त्यसले मलाई के लागेको छ भने उहाँहरूको नियत ठीक छैन । जतिवेला दुई तिहाइ थियो, त्यतिवेला संविधान संशोधन हुनसक्थ्यो । अहिले कसरी संविधान संशोधन हुन्छ ?

नाटकीय ढंगले संविधान संशोधनको लागि कार्यदल बनाउने काम भएको छ । नागरिकताको अध्यादेश आएको छ, त्यो ठीक छ तर यसले समस्याको समाधान गर्दैन । एमालेकै कारणले यो विषय तीन वर्षदेखि संसदमा थन्किएको हो । थारूसँग सरकारले एक खालको सहमति गर्छ, पार्टीको खबरदारी आउँछ यो त द्वैध नीति भयो ।

केपी ओली र राजेन्द्र महतो–महन्थ ठाकुरको मिलनलाई बाहिर अलिक अस्वाभाविक रूपमा लिइएको छ, किन होला ?

यो अचम्म छ । शुरूदेखि नै जुनवेला अध्यादेश आयो त्यसको उद्देश्य नै मधेशवादी दलहरूको विभाजन गर्नुथियो, यो त शुरुआती योजना नै हो । हाम्रा साथीहरूको केपी ओलीसँगको साँठगाँठ त्यतिवेलादेखि नै हो ।

हाम्रा साथीहरूको केपी ओलीसँग लामो साँठगाँठ छ । उहाँहरूबीचको शुरुदेखिकै सहकार्यको अहिले निरन्तरता हो । उहाँहरूको आफ्नो सत्ता स्वार्थ, पदलोलुपता नै देखिन्छ । हामी चुनावमा जाँदा हामीले मधेशीको माग सम्बोधन गर्न संविधान संशोधन गराउँछौं भनेका थियौं । अहिले भएको संसद विघटनलाई उहाँहरूले साथ दिनुभएको छ, अब सबै कुराको फैसला जनताले गर्नेछन् ।

हाम्रो आन्दोलन अधिकार र पहिचानको लागि हो । यदि संसद जीवित भएको भए सबै समस्याको हल गर्ने ठाउँ संसद हो । जनताले पाँच वर्षका लागि चुनेको संसद किन तीन वर्षमा विघटन गर्नुभयो ? ६ महीनाभित्र चुनाव हुन सकेन भने ठूलो संकट आउँछ ।

मुलुक तानाशाहतर्फ जान्छ, मुलुक अस्तव्यस्त हुन्छ । यतिवेला संसदलाई विघटन गर्नु भनेको संघीय लोकतान्त्रिक गणतन्त्र र यो देशमा संघीयता, धर्मनिरपेक्षता, समावेशी समानुपातिक सबै समाप्त पार्ने प्रयासमा हाम्रा केही साथीहरू पदलोलुपका कारण लाग्नुभएको छ । अहिले लोकतन्त्रको रक्षाका लागि एउटा गठबन्धन बनेको छ, हामीलाई विश्वास र आशा छ, सर्वोच्च अदालतले सकारात्मक निर्णय गर्छ ।

ओलीलाई तपाईंकै केही साथीले साथ दिनुको पछाडि बाह्य शक्तिको पनि हात छ भन्ने धेरैको बुझाइ छ, तपाईंलाई के लाग्छ ?

त्यो त मलाई लाग्दैन । आफ्नो सत्ता स्वार्थ र पदलोलुपताको कारणले अरूलाई दोष दिन मिल्दैन । अरूलाई सधैं दोषी र आफूलाई क्लिन देखाउने प्रवृत्ति छ, यो मिल्दैन ।

त्यसो भए प्रधानमन्त्री केपी ओलीले संविधान संशोधन गरेर मधेशीको माग पूरा गर्दैनन् ?

संविधान संशोधन हुने ठाउँ संसद हो । संसद भएको भए रेशम चौधरी, संविधान संशोधन लगायतका माग त्यहाँ उठाउन सकिन्थ्यो । विगतमा एमालेकै कारणले संविधान संशोधन हुन नसकेको हो ।

नागरिकता सम्बन्धी विधेयक एमालेकै कारण संसदमा रोकिएको छ । आवाज उठाउने ठाउँलाई विघटन गरिदिएपछि संविधान संशोधनको कुरा गर्नु जनताको आँखामा छारो हाल्नु हो । अहिले लाल आयोगको प्रतिवेदन समेत सार्वजनिक भएको छैन ।

संघीयता र अन्य उपलब्धिहरू समाप्त गर्नका लागि साथीहरू पद र मन्त्रालयको बार्गेनिङमा लागेका छन् । संकटलाई सिर्जना गरेर देशमा राजनीतिक अस्थिरता उत्पन्न गर्ने काम भइरहेको छ । –अनलाईनखबरबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार