असार २२, २०८२ आइतबार July 6, 2025

राष्ट्रपतिको छवि सुधार्न मुलुकको कूटनीतिक शैली बिगार्न पाइँदैन – लक्की शेर्पा, पूर्वराजदूत (अन्तवार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

फुर्सदमै त हुनुहोला, दिन के-कसरी बित्दै छन् ?

कोभिड–१९ को महामारी छ । बाहिर खासै निस्केको छैन । यसो डिजिटल पत्रपत्रिका पढ्यो, केही पुस्तक पढ्यो । मन पर्ने टक सोहरू हेर्ने, सामाजिक कामहरूमा सहयोगी बन्ने, स्वदेश–विदेशमा रहेका साथीसँग कुराकानी गर्ने, कहिलेकाहीँ नेतृत्वसँग पनि मुलुकको राजनीतिक अवस्थाबारे बहस र चिन्तन गर्ने यस्तै गरी बितिरहेको छ ।

यहाँलाई वर्तमान राजनीति कता गएको झैँ लागिरहेको छ ?

अहिलेको राजनीति नियाल्दा यो वा त्यो हुन्छ भन्न सक्ने अवस्था नै छैन । जनताले त्यत्रो मत दिएर पठाएको सरकारको अवस्था यस्तो छ । नेतृत्व र सायद अहंका कारण यो अवस्था आएको हो । यतिबेला हाम्रो राजनीति नागरिक र विश्वकै नजरमा गिरेको देख्छु । यतिबेला हामी छिमेक र शक्ति मुलुकको विश्वासमा समेत छैनौँ । हामी विदेशी हस्तक्षेप भयो भन्छौँ तर यहाँभित्र राजनीति खलबलिएपछि त्यहाँ विदेशीले खेल्छन् नै । यसको जिम्मेवारी सरकारको नेतृत्व गर्नेले लिनुपर्छ । हामी गफ ठूला गर्छौं तर खै जनताले खोप लगाउन पाएको ? दक्षिण एसियामा आरम्भमै खोप लगायौँ भन्छौँ तर त्यसले खै त निरन्तरता पाएको ? यस्ता विषयमा सोच्नुपर्दैन ? सरकारले नसकेर राष्ट्रपतिलाई पत्राचार गर्न लगाएको होइन ? यस्ता विषयमा पनि भ्रम छर्ने र राजनीति गर्ने गर्नु हुँदैन ।

अहिलेको कूटनीतिक गतिविधि असहज देख्नुभएको हो ?

पक्कै । अहिलेको कूटनीतिक गतिविधि भनेको त व्यक्ति र कुर्सी केन्द्रितझैँ लाग्छ । आफ्नो कुर्सी बचाउन जस्तोसुके सम्झौता पनि गरिदिने । यस्तो पनि कूटनीति हुन्छ ? यस्ता विषयमा परराष्ट्रमा माथिल्लो तहमा रहेका र त्यहीँबाट प्रधानमन्त्रीको विश्वास पात्र बनेकाहरूले पनि सुझाउन सक्नुपर्ने नि ? खै त काम भएको ? कसैले दयाको भाव वा छिमेकसँग राम्रो छ भनेर देखाउन दिएको बाहेक खै नेपालले खरिद गरेर आम नागरिकलाई खोप लगाएको ?

सरकारको खोप कूटनीति पूर्णतः असफल बनेको छ ।

कूटनीतिमा अनेकन् कार्य पर्छ र थपिन्छ । अहिले खोप थपिएर ‘खोप कूटनीति’ सुनिन्छ । यस्तै पछि कुनै अर्को थपिएला त्यसमा सरकारले ध्यान दिएर त्यही अनुरूपको रणनीति तय गर्न आवश्यक छ ।

हाम्रो खोप कूटनीति पूर्णतः असफल भएको हो ?

यसमा कुनै शंका छ र ? कसैको दया भावले दिएको वा कुनै राजनीतिक स्वार्थमा आएको बाहेक नेपालले लगातार लबिङ गरेर प्रतिस्पर्धाबाट खोप ल्याएको खै ? तीन करोड जनसंख्या भएको मुलकमा २० लाख नागरिकले खोप लगाएर पुग्छ ? नागरिकमाथि भेदभाव गर्ने अधिकार सरकारलाई छ ? आठ हजारभन्दा बढी हाम्रा दाजु–भाइ दिदी–बहिनीको मृत्यु भइसकेको छ । नेता आफैँलाई नपरी नचेत्ने हो ? यस्ता विषयमा खै सरकारको ध्यान गएको ? दोस्रो भेरियन्ट आएको छ । तेस्रो आउँछ भनिरहेको अवस्था छ । श्रमिक र मजदुर वर्ग खोप लगाउन नपाएर मानसिक रूपमा नै कमजोर बनेका छन् । तर सरकारको ध्यान त्यता होइन, खोपबाट के कस्तो मुनाफा कमाउन सकिन्छ भन्नेमा नै छ झैँ देखिन्छ । यसैले सरकारको खोप कूटनीतिमा पूर्णतः असफल बनेको छ ।

राष्ट्रपतिको तहबाट नै पत्राचार गरेर खोप ल्याउने पहल गरिरहेको भन्दै छ नि त सरकार ?

नचाहिँदो र उटपट्याङ कार्यमा सरकार उद्यत बनेको देख्छु । हाम्रो राष्ट्रपति आलंकारिक राष्ट्रपति हो । उहाँको भूमिका सहजीकरण गराउनेमा नै निहित हुनुपर्छ । तर कार्यकारीझैँ एक्ट गर्दा त्यसले मुलुकलाई हितको ठीक उल्टो कार्य गर्छ । हुनत सरकारको हातखुट्टा नै नचल्ने, सरकारको कुरा बाहिर सुनुवाइ नहुने भएपछि राष्ट्र प्रमुखकै तहबाट गरौँ भनेको भए अर्को कुरा अन्यथा यस्तो नचाहिँदो काम गर्न हुँदैन । कूटनीतिमा लामो समय रहेका र अध्ययन गरेका भन्नेहरूले त यो कुरा बुझ्नुपर्ने होइन र ? कि हो–मा हो लगाएर राम्रो स्थान खोज्ने ?

मिडिया-नागरिक समाजमा राष्ट्रपतिको धेरै आलोचना हुन थाल्यो भनेर छवि सुधार्न खोपमा सक्रिय देखाउन त्यो बाटो तय गरेको हो कि ?

राष्ट्रपतिको छवि सुधार्न मुलुकको कूटनीतिक परम्परा र शैली बिगार्न पाइँदैन । आलंकारिक राष्ट्र प्रमुखले कुनै थ्रो हुने कामबाहेक यस्ता काम गरेका हुँदैन । सबैको एउटा मान्यता र परम्परा हुन्छ । त्यो ‘डेकोरम’ राख्नुपर्छ । यस्तो पत्राचार औपचारिकताका लागि गरिन्छ, कूटनीतिमा । यहाँ त ‘एक्ट’ गर्न नै यस्तो पत्राचार गरिएको छ । यहाँ त सत्तामा रहनेले जे लेखे पनि हुने ? जे बोले पनि हुनेझैँ देखिएको छ । जो बाइडनले खोप दिए, बेलायतबाट आउँदै छ जस्ता के–के प्रचार गर्न भ्याए । तर खोप त्यही दुई छिमेकबाट बाहेक आएको छैन ।

कूटनीतिक मियो अर्थात परराष्ट्र मन्त्रालय बलियो हुन नसक्दाको परिणाम हो कि ?

हो । कूटनीतिको मियो भनेको परराष्ट्र मन्त्रालय र यसको संरचना नै हो । कूटनीति त्यहीँबाट चल्ने हो । परराष्ट्र मन्त्रालयमा कस्ता नेतृत्व पुगेका छन् । यहाँले नै लेख्नुभएको काफी छ । म के भनूँ ? त्यहाँ संरचना बलियो बनाउनेतर्फ कसैको ध्यान छैन । अधिकलाई नेतृत्व खुसी पार्ने र आफू राम्रो स्थानमा जाने ध्याउन्न छ । त्यहाँ काबिल मानिस नभएका होइनन् । तर, उनीहरूले काम गर्ने वातावरण नै बन्दैन । हामीले छिमेकी भारतको जस्तो त कसरी सोच्न सक्छौँ अस्ति भर्खर जन्मिएको बंगलादेशको कूटनीति नियालौँ, श्रीलंका र माल्दिभ्स नै हेरौँ । त्यहाँको करिअर कूटनीतिज्ञको शैली फलो गरौँ । त्यहाँ भएका परराष्ट्र मन्त्रीको ब्यागग्राउन्ड हेरौँ । यहाँ त व्यक्ति सत्ता केन्द्रित नीति मात्र छ, जुन प्रायः असफल छ । हामी यसबाट माथि उक्लिन आवश्यक छ, तर त्यो निकै असहज छ ।

हामी त अल्पविकसित मुलुकको सूचीबाट माथि उकासिँदै छौँ नि त ?

दूरदराजको त कुरै छोडौँ, राजधानीवासीले सहज रूपमा पानी पिउन त पाएको छैनन् । सडकको अवस्था यस्तो छ । दिनहुँ दुर्घटना त्यो पनि सकडकै कारण  । नागरिकको अवस्था पनि उस्तै छ । केही बिचौलियाहरू माथि उक्से होलान् तर आम नागरिकको हैसियत झन् गिर्दो छ । यो अवस्थामा हामी कसरी उकासिने हो ? म पनि अर्थशास्त्रको विद्यार्थी हुँ । त्यसबारे अलिकति पढेलेखेकाले लेख्दा पनि सोचे हुने ? गाउँ गएर हेरिदिए हुने ? हामी कागजमा उकासिँदा फाइदा के हुन्छ, लेखिदिए हुने ? हामी यसरी उकासिने सूचीमा जाने भनेको ‘सुकुलगुण्डो’ शैली हो । त्यो भनेको भित्र केही नभएको बाहिर देखाउनुपर्ने ? सुत्ने बेडसमेत नभएर भुइँमा सुकुल ओछ्याएर सुत्नुपर्ने अवस्था हुँदाहुँदै बाहिर सुट–टाई लगाएर ठाँटिए जस्तो हो । मुलुकको प्रतिव्यक्ति आए औसतमा हेर्दै त्यसबीचको ग्याप अर्थात् दुरी पनि हेर्न पर्छ । जीडीपी र राष्ट्रसंघको इन्डिकेटरको सूचीमा मात्र हेरेर हुँदैन । वास्तविक सर्वेक्षण गर्न आवश्यक छ ।

भनेपछि हाम्रा सबै राजनीतिज्ञ लहडमा छन् त ?

यो त तथ्यले देखाउँछ । मैले भनिरहनुपर्छ र ? कतिपय विज्ञ जे भन्दा राजनीतिज्ञ खुसी हुन्छन्, त्यही भनिरहेका हुन्छन् । निकै थोरैले यथार्थ बोलिरहेका हुन्छन् तर त्यो सुनिँदैन वा सुनेर नि वास्ता गरिँदैन । यथार्थमा होइन, यहाँ त हल्लामा पछि लाग्ने चलन छ । देखासिखी गर्ने चलन छ । हामी कुन अवस्थामा छौँ त नेतालाई थाहा हुनुपर्ने ? उनीहरूको जीवनस्तर उकासियो होला तर जनताको उकासिएको छ त ? वा उकासिए पनि महँगीमा कसरी धानिएको छ, त्यो हेरिएको छ ? त्यसमा अध्ययन हुन आवश्यक छ । त्रिविमै पढ्नसमेत ढाड सेकिने पैसा तिर्नपर्ने अवस्था छ । काम गर्दै पढ्ने भनेर विदेश जान युवा बाध्य छन् । यो अवस्था चिर्न किन नखोज्ने ?

परराष्ट्र नीति नयाँ बनाएर हामीले भयंकर काम गरेका छौँ । विश्वमा नै नेपाल देखिने र सुनिने भयो भनिरहेका छन् नि त ?

आत्मरतिमा रमाउन सबैलाई छुट छ । सुरुवाती दिनमा केही प्रयास भएका हुन् । तर त्यसले खासै अग्रसरता पाएन । सरकारले सबैलाई साथमा लिएर राम्रो गर्ने मौका चुकायो । नेपाल नै देखिने र सुनिने अहिले भएको हो र ? नेपाल एक पुरानो मुलुक हो । हाम्रो पुर्खाले जोगाएर विश्वमा चर्चित मुलुकलाई अहिले कसरी देखिने र सुनिने बनाएको भन्न सकिरहेका छन्– म आफैँ छक्क परेको छु । भन्न पनि कति सक्ने ? अनि परराष्ट्र नीतिको विषय त संविधानमा नै लेखिएको छ ।

नचाहिँदो र उटपट्याङ काममा उद्यत छ, सरकार । 

त्यसलाई नै नीति बनाएर ल्याउँदा कुनै राजनीतिक दलसँग छलफल भएको छ । खासै छलफल नगरी अध्ययनबेगरका परराष्ट्र मन्त्रीले कर्मचारीको ड्राफ्टलाई पारित गराएर ल्याउँदैमा नीति ल्याए भनेर जग किन हँसाउने ? यसरी लुकाएर ल्याएको नीतिलाई सबैले मान्छन् र ? परराष्ट्र नीतिमा सबैको समान एउटै धारणा हुनपर्ने होइन र ? कार्यशैली पो फरक होला, आधार त एउटै हुनुपर्ने नि । यहाँ त हल्ला नै धेरै गरिने ? काम कम ।

परराष्ट्रमन्त्री आफैँ अध्ययनशील र राम्रो बुझेको व्यक्ति हुनुपर्छ भन्ने यहाँको धारणा ?

पक्कै । अन्य मुलुकमा प्रधानमन्त्रीपछिको व्यक्ति मानिन्छ, परराष्ट्र मन्त्रीलाई । हुन पनि विश्वव्यापीकरणमा परराष्ट्रमन्त्रीको भूमिका निकै बढेको छ । त्यसैले परराष्ट्रमन्त्री निकै बलियो पोजिसन हो । त्यहाँ त्यही तहको व्यक्ति जानुपर्छ । कर्मचारीले हल्लाउने होइन, कर्मचारीलाई पनि केही सिकाउन सक्ने व्यक्ति जानुपर्छ । तर, विडम्बना यहाँ अधिकांश समय कर्मचारीबाट सिक्दै कूटनीति चलाउनुपर्ने खालका मन्त्री त्यहाँ पुग्छन् । पञ्चायतकाल र २०४६ को परिवर्तनपछि पनि यस्तो अवस्था थिएन । तर, त्यसो भन्दैमा त्यो राम्रो हो भनेर त्यही फर्कने भनेको होइन यद्यपि त्यो भन्दा राम्रो अब चाहिन्छ भन्ने हो । कमजोर मन्त्री हुँदाको समस्या पर्दै आएको छ । कर्मचारीले जे भन्यो त्यहीमा सही छाप्ने भएपछि कसरी राम्रो हुन्छ ।

दलले पनि त आफ्नो विभिन्न विभाग बनाएर त्यसमार्फत ग्रुम गर्दै ल्याउनुपर्ने होइन र ?

हो तर खै त गरेको ? दलमा पनि यिनै व्यक्ति त छन् । यति वर्ष जेल बसे, यसो गरे, स्वअध्ययन गरे भन्नेहरूकै बोलवाला छ । विज्ञ नचाहिने आफैँ सर्वज्ञ भएकाहरूसँग हामी अलिअलि विश्वविद्यालयको आँखा देखेकालाई अलि कस्तो–कस्तो लाग्दो रहेछ । अनि एउटै मानिसलाई सबै क्षेत्रको विज्ञ बनाइदिने ? गणेश प्रवृत्ति हुर्केको छ । फरक मत राख्नेको कुरामा पनि बहस गर्न सकियोस्, छलफल होस् । अनि न निचोड निस्किन्छ ।

यहाँ स्वयं राजदूत हुँदाको मन्त्रीसँग भएका डिल स्मरण गर्न चाहनुहुन्छ ?

किन नचाहने ? मन्त्री भेट्न जाँदा ओहो के–के न भन्ला भनेर तयारी गरेर गइन्थ्यो । तर, सबैको कुरा हुन्थ्यो । मेरो त्यहाँ त्यो मानिस छ, त्यसलाई हेर्न पर्‍यो । म आउने वातावरण बनाउन पर्‍यो । सबै व्यक्तिगत कुरा । दूतावासले यसो गर्न पर्‍यो यसरी कूटनीति बलियो बनाउन पर्‍यो । व्यापार बढाउन यो कुरामा राजदूतले ध्यान दिनुपर्‍यो । त्यहाँको परराष्ट्र मन्त्री–अर्थमन्त्रीसँग मेरो भेट तय गर्न पर्‍यो र यो–यो विषयमा कुरा गर्न पर्‍यो भन्ने कहिल्यै सुन्न पाइएन । यसरी दिक्क भएको थिएँ । मैले त नेपालबाट नेतालाई बोलाएर नेपालीको कार्यक्रममा सहभागी गराउने कार्य नै ठप्प पारेको थिएँ । हाम्रो नेपालमा पनि चिनियाँ छन्, बर्मेली छन्, भारतीय छन् उनीहरूले आफ्नो नेता बोलाएर कुनै कार्यक्रम गरेको थाहा छ समेत भन्थे । सायद त्यसैको सजाय भोगेँ । मलाई अनेकन् लाञ्छना लगाए छानबिन गर्ने भने तर के भएको यथार्थ भन्न सकेनन् र विवादमा पर्‍यौँ ।

कर्मचारीले हल्लाउने होइन, कर्मचारीलाई पनि केही सिकाउन सक्ने व्यक्ति परराष्ट्र मन्त्री हुनुपर्छ । 

त्यहाँ बस्दा राम्रो हुन्न भन्ने कुरा भयो ठीक लाग्यो, राजीनामा दिएर आएँ ।  मेरो छानबिन गर्न मभन्दा जुनियरहरूको समूह बन्यो । अनि परराष्ट्रमन्त्रीप्रति कठै लाग्यो । तर मलाई कुनै पश्चात्ताप छैन मैले जति काम गरेँ, शिर ठाडो पारेर काम गरेँ । विदेश मन्त्रीसँग मेरो भेटका कारण मलाई अन्य मुलुकका राजदूत भेट्न आउँथे । मैले मुलुकको शिर उँचो हुने नै काम गरेँ । क्यानबेरामा दूतावासको आफ्नै भवन बनाउन जग्गा खरिद गरेँ । त्यो पनि चार गुणा सस्तोमा । राजदूतका नाममा लालपुर्जा ल्याउने काम भयो । यहाँलाई थाहा नै छ, विदेशमा सम्पत्ति खरिद गर्न हामीले ब्युरोक्रेसीबाट कति हन्डर खानुपर्छ ! त्यो व्यहोरेर काम गरेँ । मुलुकको पैसा बचाएँ । खुसी छु । भित्री मनलाई थाहा छ भगवान्लाई थाहा छ । परराष्ट्रका कर्मचारीलाई पनि थाहा छ ।

यहाँ स्वदेश फर्किनुको कारण त यहाँसँगै काम गर्ने पात्रसँगको असमझदारी होइन र ?

मैले मानिसलाई चिन्न सकिनँ । सही व्यक्ति छनौट भएन । आर्थिक रूपमा कमजोर छ, काम गर्छ, फरवार्ड छ भन्ने लागेर लगेँ । उसलाई उतै बस्ने रहरले गर्दा यो प्रोपोगान्डामा परेँ । म त्यो सम्झन पनि चाहन्नँ । नेपालमा पनि मिडियाले बुझ्दै नबुझी उसको एकतर्फी कुरा सुनाउने काम गर्‍यो । विवाद देखिएपछि बस्न उचित त भएन तर परराष्ट्रले पनि आफ्ना सेवाका भन्दा बाहिरका हुनेबित्तिकै फसाउन र हल्ला गराउनतर्फ लाग्यो । यथार्थमा गएन । कामदारका कारण मेरोभन्दा अगाडि पाकिस्तानको कूटनीतिज्ञलाई पनि असजिलो परेको थियो तर त्यहाँको सरकारले आफ्ना कूटनीतिज्ञको बचाउ गरेको थियो । हाम्रो पनि त्यही गरेर कूटनीतिज्ञलाई बचाउ गर्दै मेरो गल्ती थियो भने यहाँ कारबाही गरेको भए हुन्थ्यो । तर, त्यसो गर्नतर्फ लागेनन् । यहाँ सबैलाई सेलिब्रेटी बन्नुपर्ने अनि अनेकन् हतकण्डा गर्नुपर्ने । बाहिर एउटा र भित्र अर्को रूप हुने रहेछ । कैयन् कुरा त पछि मेरो किताबमा आउने नै छ ।

यहाँले पुस्तक लेख्दै हुनुहुन्छ ?

हो नि । फुर्सदको समयको सदुपयोग र आफूलाई लागेको त्यो घाउको चिरफार त गर्नैपर्‍यो । जुन पछिल्लो पुस्ताले पनि हेर्न सक्छ ।

अन्य राजदूतहरूलाई के सुझाव दिनुहुन्छ ?

राजदूतलाई राजदूतका रूपमा स्वतन्त्र छोड्नुपर्छ, उसलाई यो करिअरबाट आएको यो राजनीतिक नियुक्ति भनेर विभिन्न गौँडामा छिर्के हान्न हुन्न । उसको कार्यशैली र कूटनीतिक गतिविधिमा आशंका आए प्रचार मात्र होइन, पहिले संरचनाभित्र नै छलफल गरेर त्यस्तालाई फिर्ता बोलाउने गर्नुपर्छ ।

कतिपय विज्ञ जे भन्दा राजनीतिज्ञ खुसी हुन्छन्, त्यही भनिरहेका हुन्छन् । निकै थोरैले यथार्थ बोलिरहेका हुन्छन् तर त्यो सुनिँदैन वा सुनेर पनि वास्ता गरिँदैन ।

राजदूत भनेको सरकारले पत्याएको, अझभन्दा त प्रधानमन्त्रीले नजिकबाट नियालेका व्यक्ति जाने हो । तर, त्यसो भन्दैमा जथाभावी गर्नु पनि हुँदैन । सम्बन्धित मुलकको ज्ञान भएको र काम गर्न सक्ने व्यक्ति नै पठाउनु पर्छ । चाहे त्यो करिअरको होस् या बाहिरको । करिअरको हुँदैमा उसले सबै जानेको हुन्छ भन्ने पनि होइन । र, बाहिरबाट आएकाले केही पनि जाने–बुझेका हुँदैनन् भन्ने भ्रम परराष्ट्र मन्त्रालयका अधिकारीले पनि राख्नु भएन । कर्मचारी र राजनीतिक नियुक्तिको विभेद चिर्न सक्नुपर्छ ।

तपाईं त वैदेशिक सहायता र परराष्ट्र मन्त्रालय एकै स्थानमा भएको हेर्न चाहने राजदूतमा दरिनुभएको थियो, होइन र ?

दरिनुभन्दा पनि मैले वैदेशिक सहायता पनि परराष्ट्र मन्त्रालयमार्फत नै रहँदा अर्थ र परराष्ट्रबीचको दूरी कम हुने थियो । काम एक स्थानबाट नै सोझै हुने थियो । एकै स्थानमा सँगै हुँदा धेरै नै प्रभावकारी हुन्छ नै । यस्तो अभ्यास अन्त पनि छ । त्यसैले हामीले पनि मिनिस्ट्री अफ फरेन अफेयर्स एन्ड ट्रेड/एड जस्तो केही गरे हुन्छ । वा फरेन मिनिस्ट्रीभित्र त्यो राखे हुन्छ । अब पनि कुर्सी बचाउने र आफ्नालाई जागिर दिने शैलीले यो मुलुकअघि बढ्ने देख्दिनँ, यसलाई चिर्न सक्नुपर्छ । परराष्ट्र मन्त्रालयकै पुनःसंरचना गर्न आवश्यक छ । राम्राहरू पीडित छन्, चाकडीबाजहरू हाबी छ । मुलुक संघीयतामा छ, परराष्ट्र मन्त्रालयको संघीय संरचना पनि तयार गर्न आवश्यक छ । त्यसबारे खासै काम भएको पाउँदिनँ । सातै प्रदेशमा परराष्ट्रको फोकल विङ (सम्पर्क शाखा) हुनुपर्छ । अनि अध्ययन गर्न नेपाली जाने मुलुकमा पनि श्रम सम्झौता गर्न आवश्यक छ । किनकि अध्ययन गर्न गएका नेपाली श्रम शोषणमा परेका हुन्छन् । त्यो विषय पनि ध्यान दिन आवश्यक छ । ईकागजबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार