असार २२, २०८२ आइतबार July 6, 2025

अब नेकपा एमाले नै छोड्छु भन्ने हो भने त के लाग्यो र ? – खगराज अधिकारी (अन्तवार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

तपाईँहरुले अवैद्य कमिटीको अवैद्य बैठक राख्नुभयो अरे ? अनि माधव नेपालले त तपाईँहरुले बोलाएको बैठकमा जान्नँ भनेर भनिसक्नुभयो नि ?

केपी ओलीले न कहिले जालझेल गर्नुहुन्छ, न षड्यन्त्र गर्नुहुन्छ । उहाँको त सधैं सिधासिधी नै कुरा हुन्छ । नेकपा एमालेले अब केन्द्रीय कमिटी जुन बनेको थियो, पार्टी एकीकरणको प्रक्रियामा आएका साथीहरुलाई उहाँहरुले सैद्धान्तिक रुपमा स्विकार गर्नुपनि भएको छ । त्यसैले ती केन्द्रीय कमिटीको बैठक हामी भोलिलाई बोलाउँदैछौं । त्यो बैठकमा सबै आएर पार्टीलाई एकताबद्ध बनाएर जाने कुरामा उहाँहरुको साथ र समर्थन रहन्छ भन्ने कुरामा हामी विश्वस्त छौं ।

एमाले महाधिवेशन आयोजक कमिटी त अवैद्य रहेछ नि ? अनि माधव नेपालले यसले गरेको निर्णय किन र कसरी मान्ने त ?

यो अवैद्य थिएन । अब तपाईँलाई म बताईदिउँ–पार्टीको विधान, पद्धती, परम्परा, निर्वाचन कानून २०७३ को समेतलाई गहिरो अध्ययन नगरीकन, निर्वाचनसमेतलाई गहिरो विश्लेषण नगरिकन अन्तरिम आदेश चाहीँ सर्वोच्च अदालतले जारी गरिदियो । त्यसो भएकोले अदालतका फैसलाहरु हामीले पालना गरेका हौं । त्यो अन्तिम निर्णय होईन् । र, हामीलाई थाहा छ, हामी भ्याकेटमा पनि गएका छौं । अदालतले कानून हेरेर नै अन्तिम निर्णय गर्नेछ । यसमा हामी पूर्ण विश्वस्त छौं । अब भ्याकेटमा गएकोले, यसमा कति समय लाग्छ त्यो हेर्नुपर्छ । तर, हामीले अदालतको अन्तरिम आदेशलाई पालना गरेका हो । हामी अवैद्यपनि होईनौं । हामी कानूनसम्मत्, विधिसम्मत्, नेपालको कानून र ऐनको विधिअनुसार र संविधानअनुसार काम गरेका छौं । यो कुरा माधव नेपाललाई पनि थाहा छ । अरुलाई पनि थाहा छ । तरपनि उहाँहरुले जेठ २ मा फर्किए हामी आउँछौं भनेकोले त्यसलाई मध्यनजर गरेर हिजोको निर्णय गरेको हो ।

तर, तपाईँहरु त फेरि पनि उल्टो बाटो हिँड्नुभयो अरे, माधव नेपाल समूहले त यही टिप्पणी गरेको छ नि ?

यो त अब, हामी विनम्रतापूर्वक के भन्छौं भने एमालेलाई जुटाएको हो र ? शेरबहादुरलाई प्रधानमन्त्री बनाउँछु भन्ने ? अनि फ्लोर क्रस गर्ने, अनि विपक्षीसँग गठबन्धन गरेर अब राष्ट्रियसभामा दुई ठाउँमा फरक मान्छेलाई, पार्टीको आधिकारिक उम्मेद्धवारलाई हराउने कुरा के पार्टीलाई एकताबद्ध गरेको हो र ? त्यसकारण यो उहाँहरुले भन्नै मिल्दैन् । उहाँहरु यो भन्न मिल्ने ठाउँमा नै हुनुहुन्न । तर, पनि उहाँहरु अब महशुस गरेर आउनुहोस । जे भयो, हिजो तितो हुनुभयो । अब तपाईँहरुको पनि योगदान थियो यो एमाले बनाउन । यो कुरालाई स्मरण गर्दै फेरि पनि नेकपा एमाले एकताबद्ध बनाऔं भनेका छौं हामीले त । यो उहाँहरुको लागि महत्वपूर्ण र अन्तिम अवसर हो । यसलाई उहाँहरुले गुमाउनु हुनेछैन भन्ने हाम्रो विश्वास छ ।

तर, हिजो विपक्षी गठबन्धन र खासगरी माधव नेपालले त केपी ओलीको कदम भनेको त मुलकु र मुलुकवासीको लागि घातक छ भनेर भन्नुभयो छ, यसलाई कसरी लिनुहुन्छ ? माधव नेपालले त केपी ओलीकै कारण नेपालमा लोकतन्त्र खतरामा छ भन्नुभयो नि ?

उहाँले घातक भन्नुभयो भन्ने कुरा गर्नुभयो, यदि भनेको हो भने उहाँले गलत कुरा भन्नुभयो । घातक काम त के हुन्छ भनेर आफ्नो पार्टीको सरकार ढाल्ने, प्रमुख प्रतिपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउने, सरकारले विश्वासको मत लिँदा अनुपस्थित् हुने, ह्वीप उल्लंघन गर्ने, दलसम्बन्धी कानूनलाई बर्खिलाप गर्ने र संसदीय परम्पराको विपरित जाने, निर्दलीय परम्परालाई आत्मसात् गर्ने अनि सही लोकतन्त्र हो भन्न खोज्नेजस्तो प्रतिगमन, पश्चगमन कुरा र दृष्टिकोणलाई फेर्नुपर्छ । जसले गरेपनि । माधव नेपालले गरेपनि, या अरु कसैले गरेपनि । यस्ता कुरा फेर्नुपर्छ । त्यस्ता कुराको पछि लाग्नुहुन्न । यो त शासन, व्यवस्था र प्रणालीको विरुद्धमा हुन्छ । संघीयताविरुद्ध, लोकतन्त्रविरुद्धजस्ता कुरालाई निर्ममतापूर्वक, ज–जसले गल्ती गरेपनि सच्याउनुपर्छ । म यही अनुरोध गर्छु ।

हिजो तपाईँहरुले एमालेलाई २०७५ जेठ २ गते नभएर २०७७ फागुन २८ गते फर्काउनुभयो अरे नि ?

उहाँहरु त्यो भनिरहनुहुन्छ । तर, उहाँहरुको मनलाई यो कुरा थाहा छ । उहाँहरुले अब कसम र किरिया नै खाएर, एमाले टुक्र्याएरै अरु विपक्षीहरुसँगै, प्रतिक्रियावादीहरुसँगै गठजोड गर्नैपर्ने बाध्यतामा पुगेको वा कोही फसकेको छ भने त्यो फसाईकाप्रति अझै पनि रेस्क्यु गर्न तयारै छौं । नत्र यस्ता किसिमका गलत, अफवाह र झुठ कुराहरु गर्न आवश्यक छैन् ।

तर, माधव नेपालले त ओलीसँग प्याकेजमै सहमति नभएसम्म हामी बैठकमा जान्नौं भनेर प्रतिक्रिया दिनुभएको छ नि ? अब तपाईँहरु के गर्नुहुन्छ ?

अब पार्टीले बैठक बोलाउने हो । अध्यक्षले बैठक बोलाउने हो । महासचिवले बैठक बोलाउने हो । पार्टीको विधान अब मान्दैनौं, पद्धती मान्दैनौं, नीति र सिद्धान्त मान्दैनौं, महाधिवेशन मान्दैनौं भन्नको लागि व्यक्तिगत रुपमा छुट छ । तर, अब दुईपक्षीय वा बहुपक्षीय होईन, उहाँहरुले गल्ती गर्नुभयो । पार्टी अध्यक्षलाई आरोप लगाउनुभयो । प्रचण्डसँग बहकावमा जानुभयो । अनि पछि फर्कन उहाँहरुलाई अलि लज्जाबोध भयो । यो पनि हुनसक्छ । हामी त्यसलाई बिर्सन्छौं भनेकै छौं । अब उहाँहरुलाई हिनताबोध भयो होला । हिनताबोध नपालिकन आउनुहोस। इतिहासको कालखण्डमा पार्टी एकता गर्दा यस्ता केही घट्नाहरु घटे भनेर यसलाई बिर्सने र प्रेस स्र्टाट गर्ने भनेकै छौं । त्यसो भएको हुनाले यसलाई हिनताबोधले सताएको हुनसक्छ । अब पश्चात्मा अल्झिएर होईन, नयाँ जोश र जाँगरका साथ किसान, महिला, मजदुर र पछाडि परेका जनताहरुको जीवनस्तर उकास्नको लागि अब यो कोभिड १९ विरुद्ध लड्नको निम्ति, बाढि÷पहिरोले यत्रो क्षति पुर्याएको छ, यसको लागि पनि सिंगो देश एकताबद्ध हुनुपर्छ । तपाईँहरुले हिजो विगतमा गरेका एकदमै अशोभनीय कार्यलाई पनि हामी बिर्सन चाहन्छौं । तपाईँहरु आउनुहोस भनेर भनेकै छौं । अब एकताबद्ध हौं भनेका छौं । यहाँ जित÷हारको प्रश्नै छैन नि । नेकपा एमालेको प्रश्न छ । नेकपा एमालेलाई बलियो बनाउनुपर्छ । उहाँहरुको विचारलाई पनि हामी सम्मान गर्छौं । यदि उहाँहरुकै विचार सही छन् भने पनि मान्छौं । हामी छलफलमा भाग लिन्छौं । अन्यथा सपथ नै खाएको छ, जौ, कुश र तिल लिएर एमाले टुक्र्याएरै मात्रै, मैले कसैलाई रिझाउन संकल्प गरिसकेको छु भनेर कसैले भन्छ भने अब त्यो भविष्यमा उद्घाट्न हुन्छ । नत्र भने अब कोही कसैले ईगो लिनुपर्ने अवस्था छैन् ।

तपाईँहरु उहाँहरुसँग प्याकेजमा सहमति गर्नुपर्यो रे ?

होईन, प्याकेजमा मात्रै होईन । सग्लै गर्ने हो । के के मा गर्ने हो ? त्यो कुरा त पार्टी कमिटीको बैठकमा आएर भने भैगयो त । यसमा प्योकज चाहिने हो कि ? सिंगै चाहिने हो कि ? ख्वार्रै जम्मै भन्ने हो कि ? अब उहाँले आएर आँफै महाधिवेशनमा अध्यक्ष हुने हो कि ? सबै भन्दा भयो नि अब त । कुनै अवरोध नै रहेन । हिजोको जडसुत्री कुरा भयो । अब आज त्यस्तो होईन् । अब यो बैठक नै छोड्छु भन्ने हो भने त यसमा हामीलाई लाग्यो र ? अब नेकपा एमाले नै छोड्छु भन्ने हो भने त के लाग्यो र ? तर, नेकपा एमाले भनेको पार्टीको महाधिवेशनले निर्वाचन गरेको सम्पूर्ण संरचनासहितको नेकपा एमाले हो । उहाँहरुले समेत बनाएको नेकपा एमाले यही हो । अरु कुरा गर्नु भनेको फर्जी, नक्कली र वाहियता कुरा हो ।

तर, तपाईँहरुले असंवैधानिक कमिटीको बैठक राखेर केन्द्रीय कमिटीको बैठक बोलाउनु भयो अरे, अनि महाधिवेशन आयोजक कमिटी बनाएर त्यहाँका सदस्यहरुलाई केन्द्रीय कमिटीमा समाहित गर्नुभयो अरे क्या ?

यदि माधव नेपालले यो कुरा गर्नुभयो हो भने उहाँले गल्ती गरिरहनुभएको छ । उहाँले एकपछि अर्को गल्ती गर्नुभएको छ । नेताले अलिकति संयमतता हुनपनि जान्नुपर्छ । जनताको आस्था पनि गुमाउनुहुँदैन् । त्यसमा कुनै व्यवधान नै छैन् । उहाँले भन्न खोजेको र बनाउन खोजेका कुरा सबै पार्टी कमिटीमा राखे भयो नि । यसलाई एजेण्डा नै बनाएर समावेश गरे भैहाल्छ नि ।

तर, माधव नेपालले त केपी ओलीले सर्वोच्च अदालतको फैसलालाई प्रभावित पार्नको लागि चाल चालेको हो, म यसलाई साथ दिन्नँ भन्नुभएको छ नि ?

सर्वोच्च अदालतको फैसलासँग यसको कुनै सरोकार छैन् । अदालत स्वतन्त्र छ । उहाँहरुले प्रभावमा पार्ने बानी पार्नुभएको छ । अदालत आफ्नो काम गर्छ । राजनीतिक दलहरु लोकतन्त्रका पिलर हुन् । राजनीतिक दलहरु आवधिक महाधिवेशन, निर्वाचन यीनै मान्यताको आधारमा हुन्छन् । राष्ट्रिय पार्टीका मान्यताका विधि, विधानहरुको साथ अगाडि जानुपर्छ । सर्वोच्च अदालतले एमालेको महाधिवेशन आयोजक कमिटीको हकमा गलत कुरा गर्यो । विधानविपरित कुरा गर्यो । दलसम्बन्धी कानूनको विपरित कुरा गरेको हो । गरेपनि उसले फैसला गरेपछि, अन्तिम फैसला हुन बाँकी छ । अन्तिम फैसला कहिले हो, हामी कुर्छौं ।

तर, २३ जनालाई तपाईँहरुले पूर्व माओवादी केन्द्रबाट केन्द्रीय कमिटीमा थप्नुभयो नि त ? यो गलत भयो अरे ?

ए बाबा!, उहाँ प्रचण्डको चाहिने दिनदिनै अब साउती मार्नुभएको छ । प्रचण्डसरहको बादललाई के उहाँ बाहिर राख्न सक्नुहुन्छ ? ल हाकाहाकी भन्नुहोस ? बादलबाहेकको नेपाल कम्युनिष्ट आन्दोलनको कल्पना गर्न सक्नुहुन्छ ? माधव नेपालको मात्रै भूमिकाले हुन्छ ? केपीको मात्रै भूमिकाले हुन्छ ? बादलको भूमिका छैन कम्युनिष्ट आन्दोलन निर्माण गर्न ? प्रचण्डको पनि गलत नै होला, उनको पनि त योगदान छ । प्रचण्ड र बादल हलगोरुजस्तै होईन ? उहाँलाई मिनिमाईज गरेर जान सक्नुहुन्छ उहाँ ? हाकाहाकी भन्नुहोस त । यो कुरा सोध्नुहोस उहाँलाई ? उहाँले के बादलको कम्युनिष्ट आन्दोलनमा कुनै योगदान छैन भनेर भन्न सक्नुहुन्छ ? के बादल उहाँसरहको सचिवालय सदस्य होईन ? यसको जवाफ उहाँले दिनुपर्दैन् ? त्यसकारण यस्ता कुराको कुनै अर्थ छैन् । हामी नेकपा माओवादीका शीर्षस्थ नेताहरु जो शीर्ष तहमा काम गरेका छन्, पार्टीको विधान, विचार र दृष्टिकोण मान्दाखेरि लिएर आएका छन् । नेकपा एमाले सारा मिलेर बनेको होईन ? हामी त एकताको पक्षमा छौं नि । हामी सबैलाई एकताबद्ध बनाउन चाहन्छौं । कसैको अपमान गरेर आफ्नो मान हुँदैन नी ।

महाधिवेशन आयोजक कमिटी नै अवैद्य हो अरे ? अनि यसले किन केन्द्रीय कमिटीमा सदस्यहरु थप्यो त ?

यो अवैद्य होईन् । अदालतले पनि बैद्य/अवैद्य भनेर टुँगो गरेको छैन् । त्यो पनि एकल इजलासको सन्दर्भमा म अहिले टिप्पणी गर्न चाहन्नँ । तपाईँलाई थाहा छ । अहिले रेडिमेड हो भन्ने आरोप छ । त्यो पनि हामी भन्दैनौं । अहिले अदालतको फैसलालाई कार्यान्वयन गरेको हो ।

अब केपी ओलीलाई विस्थापित गरेर माधव नेपाललाई प्रधानमन्त्री बनाएर जाउँ भन्ने पनि एमालेभित्रैबाट प्रस्ताव आएको चर्चा छ नि ? यसमा तपाईको सहमति हुन्छ ?

अब माधव नेपाल म त म बन्दिन्, शेरबहादुरजीलाई बनाउँछु भनिसक्नुभएकै छ त । उहाँले कहाँ भन्नुभएको छ र ? यदि भन्नुभएको छ भने आउनुहोस न बसेर सल्लाह गरौं । बैठक बसौं । छलफल गरौं । अहिले त केपी ओली नै प्रधानमन्त्री हुनुहुन्छ । संसदीय दलको नेता नै उहाँ हो । संसदीय दलको नेता फेर्नुपर्ने परिस्थिति आयो भने छलफल गरौंला । अहिले त्यो ठाउँमा पुगेकै छैनौं । उहाँलाई ईच्छा लाग्यो भन्दैमा हुन्छ र ? विधि र पद्धती तोड्ने काम गर्नुुहुँदैन् । पार्टीको बैठक बस्छ । दलले आवश्यकत्ता देख्यो भने त्यसमा निर्णय होला । रिपोटर्स नेपालबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार