असार ३२, २०८२ बुधबार July 16, 2025

नागरिक लगानी कोषको लगानी एक खर्ब ७२ अर्ब

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नागरिक लगानीकोषले चालु आर्थिक वर्षको जेठ मसान्तसम्म रु एक खर्ब ७२ अर्ब बराबरको रकम सङ्कलन गरेको छ । यस्तै सो अवधिसम्म रु एक खर्ब ७१ अर्ब ९७ करोड बराबरको लगानी गरेको छ । कोषको पूँजी वृद्धि हुनका साथै कारोबारसमेत विस्तार भएको छ ।

कोषको आज सम्पन्न २६ औँ वार्षिकोत्सव एवं साधारणसभाको अवसरमा उक्त विवरण सार्वजनिक गरिएको हो । साधारणसभाले आर्थिक वर्ष २०७६/७७ को आम्दानीबाट प्रस्तावित नौ प्रतिशत लाभांश शेयर र आठ दशमलव ८९ प्रतिशत नगद लाभांश स्वीकृत गरेको छ ।

त्यसैगरी साधारणसभाले आव २०७६/७७ को वार्षिक प्रतिवेदन समेत पारित गरेको छ । उक्त प्रतिवेदनसँगै लेखापरीक्षकको प्रतिवेदनसहितको २०७७ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाहसम्बन्धी विवरणसमेत पारित गरेको कोषले जनाएको छ ।

कोषको आर्थिक वर्ष २०७६/७७ को करपछिको खुद नाफा रु ६१ करोड ९६ लाख ७० हजार रहेको छ । खुद नाफामध्ये बाँडफाँटयोग्य रकम रु ५५ करोड ३६ लाख ७२ हजार रहेको सो अवसरमा जानकारी दिइयो ।

कार्यक्रममा कार्यकारी निर्देशक रमण नेपालले कोषको वस्तुस्थितिबारे जानकारी दिँदै थप विस्तारितरूपमा अगाडि बढ्ने उल्लेख गर्नुभयो । कोषको कारोबार विस्तार गर्दै स्वरोजगार र वैदेशिक रोजगारमा रहेका नागरिकलाई आबद्ध गराउने उद्देश्यले नागरिक पेन्सन योजना कार्यक्रम शुरु भइसकेको कार्यकारी निर्देशक नेपालको भनाइ छ ।

मुलुकको पुँजीबजारको विकास, विस्तार र स्थायित्व प्रदान गर्ने उद्देश्यले कोषको अग्रसरतामा नागरिक स्टक डिलर कम्पनी स्थापना गरी कारोबार शुरु भएको छ ।

कोषले एनएलके वेभ बेष्ड सफ्टवेयर पूर्णरूपमा लागू गरेको छ भने सरकारको सरकारी लेखा प्रणाली (सिगास) सफ्टवेयरमा डाटा आदानप्रदान गर्ने कार्य सम्पन्न भएको छ । त्यस्तै नयाँ सफ्टवेयरको प्रयोगका लागि आवश्यक उपकरण खरिद गरी कोषको प्रणालीमा जडान गरिसकिएको छ । कोष सञ्चालक समितिका अध्यक्ष प्राडा रामचन्द्र भट्टराईले सेवा विस्तार गर्दै कोषलाई भरपर्दो संस्थाका रूपमा अगाडि बढाइएको जानकारी दिनुभयो ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया