असार २९, २०८२ आइतबार July 13, 2025

एमाले एकता कार्यदलमा १० बुँदे सहमतिः सोमबार स्थायी र मंगलबार केन्द्रीय कमिटी बैठक डाकियो (पूर्णपाठ)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सत्तारुढ दल नेकपा (एमाले) को विवाद समाधानका लागि गठित कार्यदलमा दश बुँदे सहमति जुटेको छ ।

सिंहदबारमा आइतबार झन्डै १३ घण्टा बसेको बैठकमा १० बुँदे सहमति भएको हो । कार्यदल सोमबारदेखि सक्रिय भएको हो । वार्ता सम्पन्न भएपछि नेता प्रदीप ज्ञवालीले निर्णय पढेर सुनाएका थिए ।

आइतबार सहमति भएमा स्थायी कमिटीबाट अनुमोदान गराउने तयारी गरेर दिउँसो ४ बजेका लागि राखिएको स्थायी कमिटीको बैठक सोमबारसम्मका लागि सारिएको छ भने पार्टीको केन्द्रीय कमिटीको बैठक असार २९ गते बिहान ११ बजेका लागि डाकिएको एमालेका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच गत जेठ २ गतेको सहमतिका आधारमा गठित १० सदस्यीय कार्यदलले कार्य गरिरहेका बेला गत जेठ ८ गते दोस्रो पटक प्रतिनिधिसभाको विघटन भएपछि एमालेमा विवाद बल्झिएको थियो ।

नेकपा (एमाले) मा विद्यमान समस्या समाधान सम्बन्धी प्रस्ताव

विगत केही समययता पार्टीभित्र देखापरेका असहज र असामान्य अन्तरविरोधले गर्दा देशभरिका पार्टी कार्यकर्ता र समर्थक शुभेच्छुकहरु चिन्तित छन् । यसबाट नेकपा (एमाले) को आन्तरिक जीवन मात्र होइन, मुलुकको राजनीतिक स्थायीत्व, अग्रगति र एकता समेत कमजोर हुने हो कि भन्ने आशङ्का बढेर गएको छ । यस्तो स्थितिको अविलम्ब अन्त्य र विद्यमान समस्याहरुको समाधान गरी पार्टीलाई एकताबद्ध एवम् सुदृढ बनाउन पार्टीका सबै नेता कार्यकर्ताहरुले सकारात्मक योगदान गर्नु आवश्यक छ । यही निष्कर्षलाई आत्मसात गर्दै पार्टीको एकताको रक्षा, विकास र सुदृढीकरणका लागि निम्नलिखित निर्णय गरिएको छ

१. केही समययता पार्टीका आन्तरिक अन्तरविरोधहरु पार्टीको दायराभन्दा बाहिर पुगेका छन् र कतिपय सन्दर्भमा कटुतापूर्ण तथा एकअर्काप्रति निषेधात्मक बन्दै गएका छन् । यस्ता अन्तरविरोधहरुलाई पार्टी भित्रै विधिसम्मत उद्गले समाधान गर्दै अघि बढ्न हामी सहमत भएका छौं ।

२. पार्टीका सबै तहका कमिटी, निकाय र जनसंगठनहरु नवौ राष्ट्रिय महाधिवेशनबाट पारित राजनीतिक कार्यदिशा र विधानको व्यवस्था बमोजिम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन हुनुपूर्व २०७५ साल जेठ २ गतेको (जेठ ३ गतेको केन्द्रीय कमिटीमा सदस्यहरु मनोनयन गर्ने निर्णय सहित) संगठनात्मक अवस्थाबाट क्रियाशील हुनेछन् ।

३. २०७७ साल फागुन २३ गते सर्वोच्च अदालतको फैसलाबाट नेकपा (एमाले) पुनर्जीवित भएपछिका पार्टीको वैधानिक व्यवस्था तथा एकतासँग मेल नखाने कुनैपनि तर्फका राजनीतिक र संगठनात्मक काम कार्यवाहीहरु स्वतः बदर भएका छन् ।

४. २०७७ साल फागुन २३ गतेको सर्वोच्च अदालतको फैसला पछि नेकपा (एमाले) मा रहने कमरेडहरुको निर्णयलाई स्वागत गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा रहँदा स्थायी कमिटी र केन्द्रीय कमिटीमा रहनुभएकालाई सोही कमिटीको सदस्यको जिम्मेवारी निर्धारण गरिएको छ । अन्य कमरेडहरुलाई उहाहरु नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा रहँदा सरहको कमिटीमा संगठित गरिने छ ।

५. पार्टीमा महत्वपूर्ण योगदान गर्नु भएका कमरेडहरुलाई मौजुदा केन्द्रीय कमिटीको कूल सदस्य संख्याको १० प्रतिशतमा नबढ्ने गरी उक्त कमिटीमा मनोनित गरिनेछ ।

६. प्रतिनिधिसभाको विघटन सम्बन्धी सर्वोच्च अदालतमा विचाराधीन मुद्दा र सरकारका सम्बन्धमा पार्टी एकताको मर्म र भावनाका आधारमा विधिसम्मत एवम् संस्थागत निर्णय अनुरुप हामी अगाडि बढ्नेछौ ।

७. पार्टी तथा जनसंगठनहरु पूर्ववत अवस्थामा क्रियाशील हुने क्रममा उत्पन्न हुनसक्ने समस्याको निराकरण गर्न र सदस्यता नवीकरण, महाधिवेशन तथा विभिन्न तहका अधिवेशनका सम्बन्धमा सुझाव दिन कार्यदल गठन गरिनेछ ।

८. यी निर्णयहरु आवश्यकता अनुसार अनुमोदनका लागि यथाशीघ्र विधान महधिवेशन आयोजना गरी प्रस्तुत गरिने छ ।

९. पार्टी, संसदीय दल र जनसंगठनहरुलाई विधि र पद्धतिसम्मत किसिमले उच्च समझदारीका साथ सञ्चालन गर्दै एकता, क्रियाशीलता र मर्यादाको अभिवृद्धि गरिनेछ । यसका लागि एकताबद्ध भई आ-आफ्नो स्थानबाट सक्रियतापूर्वक योगदान गर्न समस्त पार्टी पक्तिलाई आव्हान गरिएको छ ।

१०. कार्यदलको सिफारिस कार्यान्वयनका लागि तत्काल पार्टी स्थायी कमिटीको बैठक आयोजना गर्न अध्यक्ष एवम् महासचिव कमरेडलाई अनुरोध गर्ने ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार