काठमाडौंः पूर्व माओवादी नेताहरूले सांसद पद कायम गराई कामकाज गराई पाउँ भन्दै दायर गरेको रिटमा तोकिएको आजको सुनुवाइ स्थगित भएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश आनन्द मोहन भट्टराईको एकल इजलासमा तोकिएको सो मुद्दाको सुनुवाइ रिट निवेदनका कानुन व्यवसायीका तर्फबाट स्थगित गरिएको हो ।
सो रिट निवेदन बिहीबार न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासमा पेसी तोकिए पनि ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो ।
पूर्व माओवादी नेता टोप बहादुर रायमाझी, लेखराज भट्ट, गौरीशङ्कर चौधरी र प्रभु शाहलाई नेकपा एमालेमा प्रवेश गरेको भन्दै माओवादी केन्द्रले पार्टी सदस्यताबाटै बर्खास्त गरी सांसद पदसमेत नरहने गरी कारबाही गरेको थियो ।
सो कारबाहीलाई चुनौती दिँदै उहाँहरूले आफूहरू हालसम्म पनि माओवादी केन्द्रमा नै रहेकाले सांसद पद कायम राख्न माग गर्दै बुधवार सर्वोच्चमा रिट दायर गर्नु भएको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया