काठमाण्डौंः नेकपा (एमाले)का केन्द्रीय सदस्य एवं सांसद गोकुलप्रसाद बाँस्कोटाले पत्रकारको आर्थिक र भौतिक सुरक्षा हुनुपर्ने बताउनुभएको छ ।
उहाँले आज प्रेस चौतारी नेपाल काभ्रेपलाञ्चोकद्वारा बनेपामा आयोजित सदस्यता वितरण एवं अन्तक्र्रिया कार्यक्रममा आर्थिक सुरक्षा नभएसम्म सञ्चारकर्मी स्वतन्त्र नहुनेसमेत दाबी गर्नुभयो ।
“नेपाली सञ्चारकर्मीलाई आर्थिक र भौतिक सुरक्षाको आवश्यकता छ, आर्थिक सुरक्षा नभएसम्म उ स्वतन्त्र पनि बन्न सक्दैन”, बाँस्कोटाले भन्नुभयो ।
सञ्चारकर्मीको श्रमको सुरक्षा र सम्मान हुनुपर्ने बताउँदै कोरोना सङ्क्रमणकालमा ठूला भनिएका मिडियाले पनि बिना पैसा काम लगाएको र कामको पारिश्रमिक नदिई रोजगारीबाट समेत हटाएको उहाँले आरोप लगाउनुभयो ।
पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहनुभएका बाँस्कोटाले भन्नुभयो, “यस्तै मिडियाका कारण सञ्चारकर्मीको आर्थिक सुरक्षा भएको छैन ।”
उहाँले नेपालमा नेता र मन्त्रीको पछि लागेर र उनीहरुका कथा बनाएर पत्रकारिता सम्मानित हुन नसक्ने उल्लेख गर्नुभयो ।
नेता बाँस्कोटाले भन्नुभयो “पार्टी पत्रकारिता गर्ने अनि स्वतन्त्र छौँ पनि भन्ने, दिउँसै रात पार्ने काम सञ्चारकर्मीले गर्नुहुँदैन ।” उहाँले सञ्चारमाध्यमको नाम हेरेर कस्को, कुन लाइनको मिडिया भन्ने अवस्था पत्रकारले दिन नहुने धारणा राख्नुभयो ।”
न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष राजेन्द्र अर्यालले पत्रकारिता आचारसंहिता मिचेर कुनै पनि सञ्चारकर्मीले काम गर्न नहुने बताउँदै श्रमजीवी पत्रकारलाई तोकिएको न्यूनतम पारिश्रमिक कार्यान्वयन गराउन दत्तचित्त रहेको बताउनुभयो ।
सो अवसरमा वाग्मती प्रदेशसभा सदस्य चन्द्र लामा, मण्डनदेउपुर नगरपालिका उपप्रमुख निर्मला शाही, प्रेस चौतारी नेपाल काभ्रेपलाञ्चोकका संस्थापक अध्यक्ष सुरेशप्रसाद हुमागाईलगायतले पत्रकारिता क्षेत्रले मर्यादा भुल्न नहुने बताउनुभएको थियो । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया