असार २९, २०८२ आइतबार July 13, 2025

मेलम्चीको ५१ अर्ब लगानी जोखिममा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं: मेलम्ची खानेपानी आयोजनामा भएको झन्डै ५१ अर्ब रूपैयाँ लगानी बाढीपहिरोका कारण जोखिममा परेको छ।

मेलम्ची नदीको जलाधार क्षेत्रमा बाढीपहिरो आउँदा लगानी जोखिममा परेको हो। अम्बाथानस्थित आयोजनाको हेडवक्र्सभन्दा माथिल्लो भेग बाढीपहिरोका कारण चिराचिरा परेको छ।

मेलम्ची जलाधार क्षेत्रको कमजोर संरचना भत्किने क्रम जारी छ। जलाधार क्षेत्रमा भएको क्षतिको यकिन विवरण आउन सकेको छैन। यद्यपि जलाधार क्षेत्र नै भत्किन पुग्दा मेलम्चीको पानीको मुहान नै सुक्ने हो कि भन्ने आशंकासमेत उब्जिएको छ। सरकारले एसियाली विकास बैंकसँगको साझेदारीमा मेलम्ची आयोजनाको पहिलो र दोस्रो खण्डमा करिब ५१ अर्ब रूपैयाँ खर्च गरिसकेको छ। त्यसमध्ये ३० अर्ब आयोजनाको हेडवक्र्स तथा सुरुङमार्ग निर्माणमा खर्च भएको हो। यसबाहेक मेलम्चीको पानी सुन्दरीजलमा आएपछि उपत्यकाबासीको घरदैलोमा पुर्‍याउने संरचनामा निर्माणमा २१ अर्ब खर्च भइसकेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक कमलराज श्रेष्ठले बताए ।

मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजनल इन्जिनियर राजेन्द्रप्रसाद पन्त मेलम्ची नदीमा बारम्बार अकल्पनीय बाढीपहिरो आउने क्रम नरोकिएकाले आयोजनाको लगानी जोखिमा पर्ने हो कि भन्ने आंशका उब्जिएको बताउँछन्। ‘मेलम्ची खानेपानी आयोजनामा राज्यको ठूलो धनराशि र समय खर्च भएको छ,’ उनले भने, ‘मेलम्ची आयोजनामा बाढीपहिरोले पारेको प्रभावबारे विस्तुत अध्ययन नगरेसम्म क्षतिबारे अनुमान गर्न पनि कठिन छ।’ समितिको प्रवक्तासमेत रहेका पन्त आयोजनाको मुख्य हेडवक्र्ससहितको पूर्वाधारमा अहिलेसम्म ठूलो क्षति नभएको बताउँछन् । ‘अहिले प्रारम्भिक रूपमा मेलम्ची आयोजनाको जलाधार क्षेत्र र पहुँचमार्गमा ठूलो क्षति भएको देखिन्छ,’ उनले भने, ‘जलाधार क्षेत्रमा भएको क्षतिको विस्तृत अध्ययन अनुसन्धान नगर्दासम्म भन्न सकिने अवस्था छैन। तर पनि बाढीपहिरोले क्षतिग्रस्त संरचना पुनर्निर्माण गरेरै भए पनि मेलम्चीको पानी ल्याउनेछौं।’

निर्देशक श्रेष्ठले पनि ढिलोचाँडो मेलम्चीको पानी काठमाडौं आउने बताए। ‘जलाधार क्षेत्रमा भएको क्षतिले मेलम्चीको पानी उपत्यकामा वितरण गर्ने कार्य प्रत्यक्ष प्रभावित भएको छ,’ उनले भने, ‘मेलम्चीको पानी आउन केही समय लाग्ला तर निर्माण गरिएको पूर्वाधार कामै नलाग्ने भन्ने हुँदैन। राष्ट्रिय गौरवको आयोजना भएकाले पनि सरकारले प्राथमिकताका साथ निर्माण कार्य अघि बढाउनेछ।’

दातृ निकायलाई अध्ययन गर्न बोलाउने तयारी

समितिले मेलम्ची आयोजनाको जलाधार क्षेत्रमा आएको बाढीपहिरोको अध्ययन गर्न दातृ निकायसँग अनुरोध गर्ने भएको छ। प्रवक्ता पन्तले दातृ निकायलाई पठाउने पत्रको मस्यौदा बनाउने तयारी भइरहेको बताए। ‘मेलम्ची नदीमा निरन्तर भीषण बाढीपहिरो आएसँगै दातृ निकायले चासो देखाएका छन्। समितिले आधिकारिक निकायमार्फत विश्व बैंक, एसियाली विकास बैंक, इसिमोडलगायतका निकायलाई अनुसन्धानमा सहयोग गर्न पत्र पठाउने तयारी गरेको छ,’ उनले भने।

यसैबीच प्रतिनिधिसभाअन्तर्गतको विकास तथा प्रविधि समितिले मेलम्चीको भौगर्भिक अवस्था अध्ययनका लागि विज्ञसहितको संयन्त्र तयार गरी दीर्घकालीन रूपमा समस्या समाधान गर्न सरकारलाई निर्देशन दिएको छ।

‘मेलम्ची आयोजनामा आगामी दिनमा यस प्रकारको क्षति हुन नदिन स्थायी व्यवस्थापन कसरी गर्न सकिन्छ भन्नेतर्फ सम्बद्ध सबै निकायको ध्यान जानु जरुरी देखिएको छ,’ समितिकी सभापति कल्याणीकुमारी खड्काले भनिन्, ‘अहिले पनि सुक्खा पहाडसहितको गेगर झरिरहेको सो क्षेत्रलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरी विस्थापित नागरिकलाई तत्काल उद्धार, राहत तथा पुनस्र्थापनाका साथै जोखिममा रहेका बासिन्दाको सुरक्षित व्यवस्थापन/स्थानान्तरणको व्यवस्था मिलाउन मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई निर्देश गरेका छौं।’

समितिले आयोजनामा भएको क्षतिको निक्योैल गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसहित विज्ञ टोलीले अनुगमन गर्नुपर्ने ठहर गरेको छ। दीर्घकालीन रूपमा समस्या समाधानका लागि पहल गर्न मन्त्रिपरिषद, अर्थ, भौतिक पूर्वाधार, खानेपानी, सहरी र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई समितिले निर्देशन दिएको छ। समितिले मेलम्ची खानेपानी आयोजना, आयोजना कार्यान्वयन निर्देशनालयको कार्य सञ्चालन प्रभावकारी बनाउन स्पष्ट नीतिगत व्यवस्था गरी आवश्यक बजेट सुनिश्चित गर्न अर्थ र खानेपानी मन्त्रालयलाई निर्देशन दिएको छ । -नागरिक दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
साफ यू २० महिला च्याम्पियनसिपमा आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दै
२०८२ असार २९, आइतबार
क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा
२०८२ असार २९, आइतबार
कफीको बिरुवा बेचेर साढे १३ लाख कमाई
२०८२ असार २९, आइतबार
क्यान्सरको प्रकार थाहा पाइने‘रोश बेन्चमार्क अल्ट्रा इम्युनोहिस्टोक्यामेस्ट्री’ उपकरण सञ्चालनमा
२०८२ असार २९, आइतबार
आकाशको पानीको भरपर्दा सर्लाहीमा भएन रोपाइँ
२०८२ असार २९, आइतबार
प्रधानमन्त्री ओलीद्वारा भानु जयन्तीको शुभकामना, ‘नेपाली मनमा रामायण रोप्ने आदिकवि प्रति नमन’
२०८२ असार २९, आइतबार
चुँदी रम्घालाई सप्तधामका रूपमा विकसित गरिँदै
२०८२ असार २९, आइतबार