असार २९, २०८२ आइतबार July 13, 2025

उड्डयन प्राधिकरणलाई अलग गर्ने विधेयक राष्ट्रिय सभाबाट पारित – अब हवाई सेवा प्राधिकरण र नागरिक उड्डयन प्राधिकरण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल नागरिक उड्डयन प्राधिकरणलाई खण्डीकरण गर्नेगरी दुईओटा विधेयक सोमवार राष्ट्रियसभाबाट पारित भएका छन् । यससँगै लामो समयदेखि प्राधिकरणलाई हवाई सेवाप्रदायक र नियमन निकायको रूपमा अलग गराउने सुझाव तथा तयारी कार्यान्वयन गर्न बाटो खुलेको छ ।

‘नेपाल हवाई सेवा प्राधिकरण–२०७६’ र ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक–२०७६’ पारित भएसँगै प्राधिकरण अब विभाजन हुने भएको छ । यी विधेयक तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईले २०७६ फागुन ११ मा राष्ट्रिय सभामा दर्ता गराएका थिए । नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन–२०५३ अन्तर्गत स्थापित भएको प्राधिकरणले नियमन र हवाई सेवा दुवै दिँदै आएको छ । अब नियामक र सेवाप्रदायक गरी प्राधिकरण अलग–अलग दुईओटा निकायमा बाँडिनेछ ।

प्रवक्ता राजकुमार क्षत्रीले विधेयक पारित भएसँगै यसलाई दुईओटा निकायमा टुक्र्याउन बाटो खुलेको बताए । उनका अनुसार अहिलेको संरचना विभाजन हुँदा नियमनतर्फ भएका कर्मचारीहरू नेपाल हवाई सेवा प्राधिकरणमा जान पाउँदैनन् भने हवाई सेवातर्फ भएका कर्मचारीहरू नियमन प्राधिकरणमा कार्य गर्न पाउने छैनन् । अहिले प्राधिकरणमा १ हजार २२५ जना कर्मचारीहरूको दरबन्दी छ ।

विगतमा १ हजार ५४ दरबन्दी रहेकोमा अहिले पोखरा र भैरहवा विमानस्थल थपिएपछि दरबन्दी संख्या बढेको हो । प्राधिकरण टुक्रिएपछि नियमनतर्फ १२५ जना र अरू कर्मचारीहरू नेपाल हवाई सेवा प्राधिकरणमा जानेछन् । ‘नियमन र सेवा प्रदान गर्ने गरी प्राधिकरण अलग हुँदा स्वार्थको द्वन्द्व हुँदैन,’ उनले भने, ‘नियमनको काम थप प्रभावकारी हुन्छ र हवाई सुरक्षा पनि थप वृद्धि हुने अवस्था आउँदा यसबाट ईयूको कालोसूचीबाट हटाउने विषयमा टेवा पुग्छ ।’ अन्तरराष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) ले २००९ देखि नै प्राधिकरणलाई सेवाप्रदायक र नियामक निकायका रूपमा छुट्टाछुट्टै स्थापना गर्न सुझाव दिँदै आएको थियो । यूरोपेली संघ (ईयू)ले नेपालको उड्डयन क्षेत्रलाई २०१३ देखि कालोसूचीमा राख्दै आएको छ ।

नेपालको हवाई सुरक्षामा गम्भीर चासो देखाउँदै आएको ईयूले यूरोपका आकाशहरूमा नेपाली विमानहरू सञ्चालन गर्न प्रतिबन्ध लगाउँदै आएको छ । तर, आईकाओले भने २०१७ मा प्रतिबन्ध फुकुवा गरिसकेको छ ।

नेपालको हवाई उडान सेवालाई सुरक्षित, स्तरीय, विश्वसनीय बनाई सुविधायुक्त विमानस्थलको निर्माण, स्तरोन्नति र अन्तरराष्ट्रिय मापदण्डअनुरूप विमानस्थल तथा एयर नेभिगेशन सेवा सञ्चालन गर्ने उद्देश्यले नेपाल हवाई सेवा प्राधिकरण (एएसएएन) को स्थापना गर्न लागिएको विधेयकमा उल्लेख छ ।

उक्त विधेयकमा नेपाल हवाई सेवा प्राधिकरणको संक्षिप्त नाममा एएसएएन उल्लेख गरिएको छ । यो प्राधिकरण स्वशासित संस्थाका रूपमा अघि बढ्ने पनि विधेयकमा उल्लेख छ । विमानस्थल निर्माण, स्तरोन्नति, सञ्चालन र व्यवस्थापन गर्ने काम अब एएसएएनको हुनेछ । यसका साथै विमानस्थलमा भूमिस्थ अर्थात् ग्राउन्ड ह्यान्डलिङ सेवा सञ्चालन गर्ने गराउने, जहाज उडान तालिका स्वीकृत गर्ने र उडान अनुमति पनि एएसएएनले गर्नेछ । हेलिप्याडसम्बन्धी मापदण्डलगायत यीसहित १७ ओटा कार्य नेपाल हवाई सेवा प्राधिकरणले गर्ने विधेयकमा उल्लेख छ ।

अब गठन हुने नेपाल नागरिक उड्डयन प्राधिकरण (सीएए नेपाल) सेवाप्रदायक संस्थाहरूको नियमनकारी निकाय रूपमा काम गर्ने प्रयोजनका लागि स्थापना गरिनेछ । स्वशासित संस्थाका रूपमा रहने यो प्राधिकरणका काम कतव्र्यहरू २९ ओटा तोकिएको छ ।

वायुसेवा सञ्चालन प्रमाणपत्रदेखि अल्ट्रालाइट, माइक्रोलाइट, बेलुन, प्याराग्लाइडिङ, ह्याङ्ग्लाइडिङजस्ता मनोरञ्जनात्मक उड्डयन क्रियाकलाप सञ्चालनको प्रमाणपत्र पनि यो निकायले जारी गर्नेछ । यस्तै हवाई सुरक्षा प्रदान गर्ने संस्था, विमानस्थल सञ्चालक, वायुसेवा सञ्चालक तथा अन्य सेवाप्रदायकको सुरक्षा सुपरिवेक्षण गर्ने काम पनि यो प्राधिकरणबाट हुनेछ । अभियान दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
साफ यू २० महिला च्याम्पियनसिपमा आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दै
२०८२ असार २९, आइतबार
क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा
२०८२ असार २९, आइतबार
कफीको बिरुवा बेचेर साढे १३ लाख कमाई
२०८२ असार २९, आइतबार
क्यान्सरको प्रकार थाहा पाइने‘रोश बेन्चमार्क अल्ट्रा इम्युनोहिस्टोक्यामेस्ट्री’ उपकरण सञ्चालनमा
२०८२ असार २९, आइतबार
आकाशको पानीको भरपर्दा सर्लाहीमा भएन रोपाइँ
२०८२ असार २९, आइतबार
प्रधानमन्त्री ओलीद्वारा भानु जयन्तीको शुभकामना, ‘नेपाली मनमा रामायण रोप्ने आदिकवि प्रति नमन’
२०८२ असार २९, आइतबार
चुँदी रम्घालाई सप्तधामका रूपमा विकसित गरिँदै
२०८२ असार २९, आइतबार