असार २९, २०८२ आइतबार July 13, 2025

नेपाल पक्षीय बैठकको निर्णय ‘सम्मानजनक पार्टी एकता’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल कम्युनिस्ट पार्टी (एमाले) वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठकले ‘सम्मानजनक पार्टी एकता हुनुपर्ने’ निर्णय गरेको छ । राजधानीमा शुक्रबार सम्पन्न दुई दिने बैठकपश्चात् पार्टी निर्णय सार्वजनिक गर्दै नेता रघुजी पन्तले गत २७ असारमा सम्पन्न १०बुँदे सहमति एकताको आधार मान्दै निष्कर्ष निकालिएको जानकारी दिँदै ४बुँदे निर्णयसहित बैठक सकिएको बताएका छन् ।

‘हाम्रो अडान सम्मानजनक पार्टी एकता हो,’ १०बुँदे सहमति आधार मानेर एकता प्रक्रिया अगाडि बढाउने निर्णय भएको बताउँदै पन्तले थपे, ‘यसका लागि प्रयास जारी राख्ने सहमति भएको छ ।’ त्यस्तै, बैठकले १०बुँदे सहमतिको भावनाविपरीत वरिष्ठ नेता नेपालमाथि अनेकौं टिप्पणी गरिएकोमा आपत्ति जनाएको छ । पार्टी एकताका लागि वार्ता चलिरहेको समय अध्यक्ष केपी शर्मा ओली पक्षबाट हुने अधिवेशन र सदस्यता नवीकरण रोक्न मागसमेत बैठकले गरेको छ ।

बैठकमा नेपाल पक्षका केन्द्रीय सदस्यले पार्टी विधानअनुसार ७० वर्ष पुगिसेकेका अध्यक्ष ओलीले सक्रिय राजनीतिबाट विश्राम लिनुपर्ने आवाज उठेको छ । केन्द्रीय सदस्य दिनेश राईले ७० वर्ष पुगिसकेका अध्यक्ष ओलीसहितका नेताले सक्रिय राजनीतिबाट विश्राम लिनुपर्नेमा जोड दिए ।

‘पार्टी विधान कार्यान्वयन गर्दै अध्यक्ष कमरेड केपी ओलीले सक्रिय राजनीतिबाट विश्राम लिनुपर्छ,’ राईले भने, ‘विगतमा धेरै नेताले विधान कार्यान्वयन गर्दै सक्रिय राजनीतिबाट विश्राम लिएका छन्, ७० वर्ष पुगिसकेका ओली कमरेडले पनि विधान कार्यान्वयन गर्न आवश्यक छ ।’ एमाले विधान धारा ६५ को उपधारा ३ मा उमेर हदसम्बन्धी व्यवस्था छ ।

विधान–२०४९ले (नवौं महाधिवेशनबाट संशोधन २०७१)ले ७० वर्ष पुगेका व्यक्ति कार्यकारी पदमा निर्वाचित वा मनोनीत हुन रोक लगाएको छ । २०७१ बाट लागू बाध्यकारी प्रावधानकै कारण भरतमोहन अधिकारी र सिद्धिलाल सिंहले सक्रिय राजनीतिबाट बिदा लिएका थिए ।

६० वर्ष लामो राजनीतिक जीवनबाट अधिकारीले विधान पालना गर्दै महाधिवेशन हलबाट बिदाइ लिएका थिए । ११ फागुन २०७७ मै अध्यक्ष ओलीले ७०औं जन्मदिन मनाइसकेका छन् । सोही कारण ७० वर्ष पुगिसकेका ओलीले पनि विधान कार्यान्वयन गर्दै बिदा लिनुपर्ने आवाज बैठकमा उठेको हो ।

ओलीले आत्मालोचना गर्नुपर्ने अडान

बैठकमा ओलीले संविधान र लोकतन्त्रविरोधी कार्य गरेकाले सार्वजनिक रूपमा आत्मालोचना नगरे पार्टी एकता नगर्ने सुझावसमेत आएको छ । संविधान र लोकतन्त्रविरुद्ध ओलीले दुई–दुई पटक प्रतिनिधिसभा विघटन गरेपछि सार्वजनिक आत्मालोचना गर्नुपर्ने राईको जोड छ ।

पार्टी एकता गर्दा सम्मानजनक अवस्थामा मात्रै एकता गर्नुपर्ने दबाब नेपाललाई छ । बैठकमा आफ्नो धारणा राख्दै अधिकांश केन्द्रीय सदस्यले सम्मानजनक अवस्थामा मात्रै एकता गर्नुपर्ने सुझाव दिएका छन् । बिहीबार २३ र शुक्रबार ३२ केन्द्रीय सदस्यले आफ् ना धारणा राखेका छन् । आगामी २४ साउनमा एमाले अध्यक्ष ओली पक्षको केन्द्रीय कमिटी बैठक बस्दै छ ।

सो बैठकले गर्ने निर्णयका आधारमा अगामी रणनीति तय गर्ने नेपाल पक्षका नेताले जनाएका छन् । केन्द्रीय कमिटी बैठकमा सबै सदस्य आफ्ना धारणा राख्न नपाउँदै बीचमै बैठक स्थगित गरिएको हो । नेपाल पक्षको स्थायी कमिटी बैठक बसेर थप अगामी रणनीति तय गर्ने छ ।

सम्मानजनक एकता

केन्द्रीय सदस्य दिलु पन्तले बैठकमा अधिकांश नेताले सम्माजनक एकता पक्षमा आवाज उठाएको बताइन् । ओलीसँग ‘कुनै पनि हालतमा आत्मसमर्पण गर्न नहुने’ उनीहरूको धारणा छ ।

पटकपटक जनविरोधी तथा पार्टी विधानविपरित कार्य गरेकाले ओलीले ‘आत्मालोचना’ गर्नुपर्ने आवाज बैठकमा उठेको उनले सुनाइन् । ‘पार्टी एकताको पक्षमै हामी छौं तर आत्मसमपर्ण गर्न नहुने आवाज बैठकमा उठेको छ ।

पटकपटक जनता विरोधी तथा पार्टी विधानविपरित कार्य गर्नेले सार्वजनिक रूपमा आत्मालोचना गर्नुपर्ने हुन्छ,’ पन्तले भनिन्, ‘१०बुँदे पार्टी एकताको प्रस्तावको जगमा त्यसमा परिमार्जन गर्दै सम्मानजनक एकता हुनुपर्ने आवाज उठेको छ ।’

गतिविधि रोक्न सकिँदैन: ज्ञवाली

नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओली पक्षले एकताको नाममा पार्टी गतिविधि रोक्न नसकिने स्पष्ट पारेको छ । वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठकले एकताका लागि छलफल भइरहेकाले ‘तत्काल अधिवेशन, नवीकरणलगायत गतिविधि रोक्न’ माग गरेपछि ओली पक्षले स्पष्ट पारेको हो ।

ललितपुर च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा शुक्रबार बसेको स्थायी कमिटी बैठकमा पार्टी विधान संशोधनबारे छलफल भएको छ । एमाले सचिव एवं प्रवक्ता प्रदिप ज्ञवालीले बैठकपश्चात सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी गतिविधि जारी रहने बताए । पार्टीको नियमित काम चल्ने र एकताका लागि कुनै गतिविधि नरोकिने बताउँदै उनले गतिविधि रोक्न आएका सुझाव पार्टी हितविपरीत रहेको औंल्याए ।

विधान संशोधनमा समेट्नुपर्ने विषयमा स्थायी कमिटी सदस्य, प्रदेश नेता, विधान संशोधन समिति र राजनीतिक प्रस्ताव तयार पार्न गठित समिति सदस्यसँग छलफल भएको छ । विधान संशोधन प्रस्ताव तयार भएपछि सबै तहमा अध्ययनका लागि तयारीसमेत गरिएको छ । राजधानी दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
साफ यू २० महिला च्याम्पियनसिपमा आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दै
२०८२ असार २९, आइतबार
क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा
२०८२ असार २९, आइतबार
कफीको बिरुवा बेचेर साढे १३ लाख कमाई
२०८२ असार २९, आइतबार
क्यान्सरको प्रकार थाहा पाइने‘रोश बेन्चमार्क अल्ट्रा इम्युनोहिस्टोक्यामेस्ट्री’ उपकरण सञ्चालनमा
२०८२ असार २९, आइतबार
आकाशको पानीको भरपर्दा सर्लाहीमा भएन रोपाइँ
२०८२ असार २९, आइतबार
प्रधानमन्त्री ओलीद्वारा भानु जयन्तीको शुभकामना, ‘नेपाली मनमा रामायण रोप्ने आदिकवि प्रति नमन’
२०८२ असार २९, आइतबार
चुँदी रम्घालाई सप्तधामका रूपमा विकसित गरिँदै
२०८२ असार २९, आइतबार