जेठ ४, २०८१ शुक्रबार May 17, 2024

एमाले एकता संकटमा: नयाँ दल दर्ता तयारीमा नेता नेपाल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ दल दर्ताको तयारी गरेका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीले मंगलबार वरिष्ठ नेता नेपालसहित १४ जना सांसदलाई कारबाहीको सिफारिस गरेपछि एमाले एकता संकटमा परेको छ। नेता नेपालले एकदुई दिनमै नयाँ दल दर्ताको तयारी गरेका छन्।

नयाँ दल दर्ताका लागि विधान, राजनीतिक प्रतिवेदन, तथा नामसमेत तय भइसकेको स्रोतले जनाएको छ। ‘केपी ओलीमा सुधार आउने संकेत देखिएन। नयाँ दल दर्ताको तयारी छ। नेता कार्यकर्तालाई बेवारिसे अवस्थामा राख्न सकिँदैन’, नेपाल पक्षका केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले भने, ‘विधान, राजनीतिक प्रतिवेदन सबै तयारी अवस्थामा छ।’

ओलीले पार्टीमा एकताको ढोका बन्द गरेपछि नयाँ दल दर्ता गर्नुको विकल्प नभएको नेपाल पक्षका नेताहरूको भनाइ छ। पार्टी विभाजन रोक्न मंगलबार साँझ ३० जना केन्द्रीय सदस्यले आन्तरिक छलफल गरे। नेता नेपाल पनि ओली एकताका लागि तयार भए दल विभाजन गर्ने पक्षमा छैनन्। तर ओलीले पेलेर जाने संकेत गरेपछि उनी नयाँ दल दर्ताको तयारीमा लागेका हुन्। ‘ओलीले अन्याय गर्दैनन्, सबै साथीलाई न्यायपूर्ण भावनाले हेर्छन् भने पार्टी विभाजन हुँदैन तर त्यसको ग्यारेन्टी उनले दिन सक्दैनन्’, नेपाललाई उद्धृत गर्दै स्रोतले भन्यो।

नेपाल पक्षका केन्द्रीय सदस्यहरू टंक कार्की, अरूण नेपाल, सुरेन्द्र मानन्धर, ठाकुर गैरे, रविन कोइराला, भानुभक्त जोशी, ममता गिरी, जीवन घिमिरे, निरज आचार्य, माधव अर्याल, दीपकप्रकाश भट्ट, यज्ञराज सुनुवार, पवित्रा निरौला खरेल, राजबहादुर बुढा, जयबहादुर राई, चन्द्रबहादुर शाही, नारायण खतिवडालगायत नेताहरूले पार्टीलाई विभाजन हुनबाट रोक्न पहल गरिरहेका छन्। ‘पार्टी विभाजन गर्नहुन्न भन्ने हाम्रो मत रहेको छ तर यो खतरा झन् बढ्दै गएको छ’, छलफलमा सहभागी केन्द्रीय सदस्य सुनुवारले भने।

उनीहरू राति अबेरसम्म छलफलमा जुटेका थिए। त्यस्तै, भीम रावल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, अमृत बोहोरा, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, गोकर्ण बिष्ट, भीम आचार्य, हरि राई, प्रतापलाल श्रेष्ठ, गरिमा शाह, सोमप्रसाद पाण्डे, झपट रावल पनि पार्टी विभाजन गर्नहुन्न भन्ने पक्षमा छन्। उनीहरू पार्टी विभाजन भए ओलीतिर बस्ने कि नेपालतिर लाग्ने भन्ने दोधारमा छन्। सरकारले राजनीतिक दल विभाजन गर्न सहज हुनेगरी अध्यादेश सिफारिस गरेको भन्दै बिष्ट, भट्टराई र भट्टले विरोध गरेका छन्।

ओलीले पार्टी एकताको ढोका बन्द गरे नयाँ दल बनाउनुपर्छ भन्नेमा झलनाथ खनाल, वामदेव गौतम, मुकुन्द न्यौपाने, वेदुराम भुसाल, रघुजी पन्त, जगन्नाथ खतिवडा, विरोध खतिवडा, श्रीमाया थकाली, रामकुमारी झाँक्री, प्रकाश ज्वाला, पर्शुराम मेघी गुरुङ, राजेन्द्र पाण्डे, विजय पौडेल, जयन्ती राई, रामप्रित पासवानलगायतको पंक्ति छ।

वरिष्ठ नेता नेपालले मंगलबार दिउँसो अध्यक्ष ओलीले नै एकताको ढोका बन्द गरेको भन्दै अब पार्टीलाई पुनर्गठन गर्नुको विकल्प नभएको बताएका थिए। आफ्नो समूहसम्बद्ध जनवर्गीय संगठनहरूको भर्चुअल बैठकलाई सम्बोधन गर्दै नेता नेपालले आफूहरूले एकताका लागि अन्तिमसम्म पहल गरेको भए पनि ओली सच्चिने सम्भावना नभएकाले नयाँ दल बनाउनुको विकल्प नभएको बताए। पार्टी उपमहासचिव घनश्याम भुसालले एकताका लागि अन्तिम पहल गर्ने भनेको र त्यसमा आफूले सहमति दिएको नेपालले बताए।

नेता नेपालका अनुसार गत फागुन २८ देखि अहिलेसम्म ओलीले गरेका सबै निर्णय खारेज गर्ने, नयाँ निर्णय नगर्ने र अहिलेसम्म भएका सहमति पालना गर्नेगरी थप सहमति गर्ने प्रस्ताव भुसालले राखेका छन्। त्यसमा आफूले सहमति दिएपछि भुसाल ओलीलाई भेट्न गएको पनि नेपालले बताए। ‘उहाँ (ओली) ले माधव नेपालहरूका लागि यो पार्टीको ढोका बन्द भइसक्यो भन्नुभएछ’, नेपालले भने, ‘आजै (मंगलबार) पनि प्रकाश ज्वालालाई केन्द्रीय सदस्यबाट निकाल्नुभयो र २६० जनाको नाम निर्वाचन आयोगमा पठाउनुभएछ। सुन्दैछु, म, रामकुमारी झाँक्रीसहित १४ जनालाई निष्कासन गर्नुभयो।’ – नागरिक दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
न्यायपालिकालाई भरोसायोग्य बनाउन सबैको सहयोग जरुरीः प्रधानन्यायाधीश श्रेष्ठ
२०८१ जेठ ४, शुक्रबार
डिजिटल रुपान्तरणका माध्यमबाट समृद्धि हासिल गर्न सकिन्छ: मन्त्री शर्मा
२०८१ जेठ ४, शुक्रबार
नेपालको विकासमा रसियाको ठूलो सहयोग छ : परराष्ट्रमन्त्री श्रेष्ठ
२०८१ जेठ ४, शुक्रबार
विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयन कायम गर्नुपर्छ : राष्ट्रपति पौडेल
२०८१ जेठ ४, शुक्रबार
एक जना पनि विद्यार्थी नभएको जैमिनीको विद्यालयमा चार शिक्षक
२०८१ जेठ ४, शुक्रबार
एलियन बने कार्तिक आर्यन
२०८१ जेठ ४, शुक्रबार
गृहमन्त्रीलाई बोल्नदिनुपर्छ, संसदीय छानबिन समिति गठन हुनुपर्छ : ज्ञानेन्द्र शाही
२०८१ जेठ ४, शुक्रबार