जेठ ४, २०८१ शुक्रबार May 17, 2024

खोप लगाएरपछि मात्र कक्षा १२ को परीक्षा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौः कोरोना भाइरसविरुद्धको खोप लगाइसकेपछि मात्र कक्षा १२ को स्थगित परीक्षा सञ्चालन गरिने भएको छ ।

कक्षा १२ को परीक्षामा सहभागी हुने अधिकांश विद्यार्थीले खोप लगाउन पाउने अवस्था देखिएको छ । सोही कारण खोप लगाएरपछि मात्र परीक्षा सञ्चालन गर्ने आन्तरिक तयारी राष्ट्रिय परीक्षा बोर्डले गरेको छ ।

बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले तीन लाख ७४ हजार जना विद्यार्थी परीक्षामा सहभागी हुने जानकारी दिँदै त्यसमध्ये ८४५ जना विद्यार्थी मात्र खोप लगाउन बाँकी रहने देखिएको बताए । अन्य सबै विद्यार्थी १८ वर्ष पूरा भइसकेका छन् र उनीहरूले खोप लगाउन पाउने छन् ।

बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री र स्वास्थ्य सचिवलाई यसका लागि अनुरोध गरिएको तथा सकारात्मक जवाफ प्राप्त भएको जानकारी दिए। कक्षा १२ को परीक्षामा सहभागी हुने विद्यार्थीलाई आगामी साता जापानबाट आउने खोप उपलब्ध गराउने सम्भावना छ । देशभर खोप अभियान सञ्चालन गरिने भएकाले तीन/चार दिनको हाराहारीमा विद्यार्थीले खोप लगाइसक्ने अवस्था छ ।

सरकारले कक्षा १२ को विद्यार्थीलाई खोप लगाउने सूचना जारी गरेको एक/दुई दिनभित्रै स्थगित परीक्षाको नयाँ कार्यतालिका सार्वजनिक गर्ने बोर्डको तयारी छ । विद्यार्थीले खोप लगाउन थालेपछि १५ दिनको सूचना दिएर कार्यतालिका सार्वजनिक गरी स्थगित परीक्षा सञ्चालन गरिने जनाइएको छ ।

विद्यार्थीलाई प्रवेशपत्रका आधारमा खोप लगाउने प्रबन्ध मिलाइदिन आग्रह गरिएको छ । उनले कक्षा १२ का सबै विद्यार्थीको प्रवेशपत्र आफूहरूले विद्यालयमा उपलब्ध गराइसकेकाले यसमा कुनै समस्या नहुने स्पष्ट पारे । यसअघि साउन २३ गते सम्पन्न बोर्ड बैठकले साउन ३१ गतेदेखि तय गरिएको कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो । -गोरखापत्र दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया