जेठ ४, २०८१ शुक्रबार May 17, 2024

यस्तो थियो, नेपाल–ओली सहकार्य र संघर्ष

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश प्रमाणीकरण गरेपछि एमाले विभाजन भएको छ । १४ वर्षभन्दा बढी समय एमाले नेतृत्व गरेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वमा नयाँ दल गठन भएको छ । नयाँ दल गठनसँगै एमाले अध्यक्ष केपी शर्मा ओली र नेपालबीचको ३३ वर्षे लामो सहकार्य टुटेको छ ।

अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीचको सम्बन्ध विगतमा सौहाद्रपूर्ण भए पनि पछिल्लो अवस्थामा तिक्ततापूर्ण रह्यो । विगतमा नेपालको प्रमुख सहयोगी रहेका ओली पछिल्लो समय नेपालको विश्वास जित्न नसक्नुले दूरी बढ्दै गएको देखिन्छ । उनीहरूबीचको सहकार्य र संघर्ष २०४५ सालदेखि देखिनेगरी सुरु भएको छ । २०४८ सालमा झापा क्षेत्र ६ र २०५९ सालमा झापा क्षेत्र २ बाट प्रतिनिधिसभा सदस्यमा ओली निर्वाचित भएका ओली २०५१ देखि २०५२ सम्म गृहमन्त्री थिए ।

नेता नेपालकै प्रस्तावमा मनमोहन अधिकारी प्रधानमन्त्री भएको सरकारमा गृह मन्त्रालयजस्तो महत्वपूर्ण जिम्मेवारी पाउन सफल ओली त्यसयता नेपालको प्रमुख सहयोगीमध्येकै एक हुन् । त्यस्तै, २०६४ देखि २०६५ सम्म ओली उपप्रधान एवं परराष्ट्रमन्त्री भएका थिए । दोस्रो जनआन्दोलनपछि बनेको अन्तरिम सरकारमा एमालेको नेतृत्व गर्दै ओलीलाई माधव नेपालले उपप्रधान एवं परराष्ट्रमन्त्री बनाएका थिए । त्यसबेला जनआन्दोलनकै विरोधमा बोलेका ओलीलाई नभएर अमृत बोहोरालाई सरकारमा पठाउनुपर्ने पक्षमा धेरै नेता थिए ।

तर, नेपालले पार्टी बैठकबाटै निर्णय गरेर ओलीलाई सरकारमा पठाए । नेपालको महत्वपूर्ण सहयोगमा ओली सरकारमा पुगे पनि एमालेबाट २४ असोज २०७२ मा नेपालको ३८औं प्रधानमन्त्रीका रूपमा पहिलोपटक प्रधानमन्त्री भएका ओलीलाई नेपालको सहयोग नभएको नेताहरू बताउँछन् । तत्कालीन नेकपा (माले) संस्थापकमध्येका ओली २०२२ सालमा कम्युनिस्ट राजनीतिमा लागेका थिए ।

‘सरकार सफल हुँदामात्रै पार्टी बलियो हुन्छ तर व्यक्तिबारे मात्रै सोच्न थालियो भने परिणाम पनी राम्रो हुन सक्दैन ।’

२०२६ सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिएका उनी २०२८ सालको झापा आन्दोलनका प्रमुखमध्येका थिए । सोही वर्ष उनी जेलसमेत परे । पञ्चायती व्यवस्थाविरुद्धको संघर्षक्रममा ओली २०२८ देखि २०४४ सम्म १४ वर्ष जेल जीवन बिताए । केन्द्रीय सदस्य हुँदै एमाले अध्यक्षसम्म भएका ओलीलाई विगतमा नेपालको महत्वपूर्ण सहयोग रह्यो । तर, पछिल्लो समय दुई नेताबीच चिसो आउनुमा ओलीले नेपालको विश्वास जित्न नसक्नु र भनेकोको कुरा नगर्नु नै प्रमुख कारण रहेको बुझिएको छ ।

नेपालनिकट स्थायी कमिटी सदस्य डा. बेदुराम भुसालका अनुसार ‘भनेको कुरा पूरा नगर्नु’ नै ओलीप्रतिको अविश्वास हो । ‘उहाँ जे भन्नुहुन्छ, त्यो गर्नुहन्न । केपी ओलीले माधव नेपालको विश्वास जित्न नसक्नुको प्रमुख कारण नै यही हो,’ भुसाल भन्छन् । एमाले छैठौं महाधिवेशनमा कार्यनीतिक दस्तावेज पेस गर्नेगरी ओलीलाई नेपालले पार्टीमा तेस्रो बरियता दिलाए ।

ओलीलाई आफूभन्दा माथि राखेपछि रिसाएका एमाले उपाध्यक्ष वामदेव गौतमले महाधिवेशनमा फरक दस्तावेज नै पेस गरे । नेपाल र ओलीबीचको देखिनेगरी सहकार्य र संघर्ष यहीँबाट सुरु भएको नेताहरू सम्झन्छन् । त्यसबेला मनमोहन अधिकारी अध्यक्ष र नेपाल महासचिव थिए ।

गौतमलाई पछि पारेर ओलीलाई तेस्रो वरियता दिलाउनुमा भने मदन भण्डारीको निभनपछि महासचिव बनेका नेपालले ओलीको साथ पाउनु नै हो । नेपाललाई महासचिवका लागि ओलीले महत्वपूर्ण सहयोग गरेका थिए । एमाले नेताका अनुसार मदन भण्डारी र माधव नेपालको नेतृत्व रहेको पार्टीमा संस्थापनविरुद्ध सीपी मैनाली सदाबहार प्रतिपक्षी भूमिकामा देखिनुले पनि ओली नेपालसँग नजिक हुनुपर्ने परिस्थिति निर्माण भएको थियो ।

सीपी र केपीबीच पहिलेदेखि नै सम्बन्ध राम्रो थिएन । सीपीसँगको सम्बन्ध राम्रो नभएका र नेतृत्वमा नेपाल रहेकाले आफ्नो राजनीतिक भविष्यका लागि ओली माधवसँग सम्बन्ध बनाउँदै आगडि बढे । ओलीनिकट नेता माधव नेपाल १४ वर्षसम्म पार्टी महासचिव रहिरहँदा सधैं ओलीले साथ दिएको दाबी गर्छन् ।

तर, महासचिव हुँदा पनि ईश्वर पोखरेल, अशोक राई, अमृत बोहरा, युवराज ज्ञवालीको जस्तो साथ ओलीबाट कहिल्यै नमिलेको नेपालले आफू निकटकालाई बताउने गरेका छन् । ओलीलाई तेस्रो बरियता दिनु र सीपी–वामदेवहरूप्रति ओली अनुदार देखिनु पनि एमाले विभाजन हुनुको प्रमुख कारण रहेको नेपाल समूहमा समीक्षा हुने गरेको छ । त्यसबेला सीपी–वामदेवहरूले केन्द्रीय सदस्य बनाउन १४ जनाको नाम पेस गरेका थिए । तर, त्यो माग पूरा गर्ने पक्षमा ओली थिएनन् ।

ओलीकै अडानका कारण सीपी–वामदेवले बुझाएका नाम पार्टी केन्द्रीय सदस्यमा मनोनित भएन । सीपी, वामदेव रहँदासम्म पार्टी प्रमुख हुन नपाउनेमा ढुक्क रहेका ओलीले ‘उनीहरू बाहिरिउन्’ भन्ने चाहना राखेका थिए । जुन पछि पूरा पनि भयो । सीपी–वामदेवहरू बाहिरिएपछि भने ओली मुख्य नेतृत्वकै प्रमुख दाबेदार बने । पछि, तिनै वामदेव गौतमसँग गठबन्धन गरेर ओलीले २०५९ को सातौं महाधिवेशनमा महासचिव पदमै दाबी गरे ।  राजधानी दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया