जेठ ४, २०८१ शुक्रबार May 17, 2024

काँग्रेस केन्द्रीय नेतृत्वमा आधा दर्जनको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सत्ताधारी दल नेपाली कांग्रेसको १४औं महाधिवेशन नजिकिँदै गर्दा केन्द्रीय नेतृत्वको दाबी गर्ने नेताको संख्या आधा दर्जन नाघिसकेको छ ।

संस्थापन पक्षबाट प्रधानमन्त्रीसमेत रहेका वर्तमान सभापति शेरबहादुर देउवा आफैं दोहोरिने रणनीति बनाउँदै छन् भने उपसभापति विमलेन्द्र निधि पनि नेतृत्व लिन अघि सर्नुभएको छ ।

संस्थापनइतर पक्षबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्य डा. शेखर कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंहदेखि केन्द्रीय सदस्य सुजाता कोइरालासम्मले नेतृत्वको दाबी गर्दै उम्मेदवारी घोषणा गरिसक्नुभएको छ । १३औं महाधिवेशनमा सभापति दाबी गर्नुभएको नेता कृष्णप्रसाद सिटौलाले पनि अहिलेसम्म आफ्नो दाबी छोड्नुभएको छैन ।

सोमबार राजधानीको अनुपम फुडल्यान्डमा बसेको वरिष्ठ नेता पौडेल पक्षीय शीर्ष नेताहरुको बैठकमा पनि आगामी नेतृत्वको बारेमा छलफल भएको छ । सो बैठकमा सहभागी केन्द्रीय सदस्य बलबहादुर केसीका अनुसार १४औं महाधिवेशनमा नेतृत्वका लागि साझा उम्मेदवार चयन गर्ने विषयमा छलफल भएको थियो । बैठकमा वरिष्ठ नेता पौडेल, महामन्त्री कोइरालाका साथै नेताहरु डा. शेखर कोइराला, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, डा. रामशरण महत, सुजाता कोइरालालगायतका नेताहरुको सहभागिता रहेको थियो ।

आउँदो मंसिर ९ देखि १३ गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका बनाएको कांग्रेसको तल्लो तहको अधिवेशन भने यहि भदौ १८ गतेबाट शुरु हुँदै छ । १८ गते वडा अधिवेशन गर्न लागेको कांग्रेसले भदौ २७ मा गाउँ÷नगर अधिवेशन गर्दै छ भने असोज १ मा प्रदेशसभा क्षेत्रीय अधिवेशन गर्न लागेको छ ।

कार्यतालिकाअनुसार प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते र एकभन्दा बढी प्रतिनिधिसभा क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० गते हँुदै छ । प्रदेश अधिवेशन भने १० देखि १२ गतेसम्म सम्पन्न गर्ने कार्यतालिका छ ।

१४औं महाधिवेशनमा सभापतिको उम्मेदवार घोषणा गर्नेको संख्या आधा दर्जन नाघिसकेको सन्दर्भमा प्रतिक्रिया दिँदै केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईं भन्नुहुन्छ– ‘अहिले नेतृत्वको दाबी गर्दै बाहिर आएको नाम सबै हल्ला मात्र हुन् । वास्तविक उम्मेदवार को–को हुन् भन्ने कुरा जिल्ला अधिवेशनपछि मात्र थाहा हुन्छ ।’ नेपाल समाचारपत्रबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया