जेठ ४, २०८१ शुक्रबार May 17, 2024

१० बुँदे कार्यान्वयनमा सहमति जुटेपछि अन्ततः ‘५७ भाइ’ एमालेमै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः झन्डै डेढ महिनाअघि भएको १० बुँदे सहमति कार्यान्वयनमा जोड दिँदै आएका एमाले वरिष्ठ नेता माधवकुमार नेपालनिकट नेताहरू अन्ततः एमालेमै रहने भएका छन् ।

५ पुस २०७७ मा तत्कालीन नेकपाका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि प्रतिगमनविरुद्धको लडाइँमा नेपाललाई साथ दिँदै आएका नेपालनिकट नेताहरूले आठ महिनापछि उनको साथ छोडेका हुन् । योबीचमा एमाले वरिष्ठ नेता नेपालले भने नयाँ पार्टी गठनका लागि निर्वाचन आयोगमा निवेदन दिइसकेका छन् ।

निर्वाचन आयोगले नयाँ दल दर्तालाई मान्यता दिने दिन नजिकिँदै जाँदा उनीहरूले नेपालको साथ छोडेका हुन् । पार्टी एकताका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपाललाई दबाब दिँदै आएका तेस्रो धारका ती नेताहरू र अध्यक्ष ओलीबीच सोमबार भएको बैठकमा सहमति जुटेपछि उनीहरू एमालेमै रहने निष्कर्षमा पुगेका हुन् ।

तेस्रो धारका रूपमा चिनिएका ‘५७ भाइ’ले पार्टी एकताका लागि मंगलबारसम्मको अल्टिमेटम दिएको भए पनि सोमबार नै अध्यक्ष ओलीसँग सहमति जुटेको हो । अध्यक्ष ओलीले मंगलबारभित्र १० बुँदे सहमति कार्यान्वयनका लागि चित्तबुझ्दो जवाफ नदिए आफूअनुकूल निर्णय गर्न स्वतन्त्र रहेको उनीहरूले बताउँदै आएका थिए । एमाले सचिव योगेश भट्टराईले पार्टीलाई एकताबद्ध बनाउन १० बुँदे प्रस्ताव कार्यान्वयन गर्ने सैद्धान्तिक सहमति भएको बताए ।

२ जेठ २०७५को अवस्थामा फर्किने विषयमा अध्यक्ष ओली सहमत भएको उनको भनाइ थियो । ‘त्यो कसरी हुने भन्नेबारे भोलि (मंगलबार) बस्ने बैठकबाट टुंग्याउने छौं, पार्टीभित्र कसैलाई पनि पक्षपात नहुने र सबैको पुरानो जिम्मेवारी कायम हुनेछ,’ भट्टराईले भने, ‘हाम्रा पुराना जिम्मेवारीहरू कायम हुनेछन् र पार्टीभित्र कसैमाथि पनि पक्षपात हुँदैन ।

कसैमाथि पनि अन्यायपूर्ण व्यवहार हुँदैन भन्ने कुराको सुनिश्चितता पार्टी स्थायी कमिटीले गर्छ ।’ १० बुँदे कार्यान्वयनमा सहमति जुटेपछि मंगलबार स्थायी कमिटी बैठक बोलाइएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बिहान ११ बजे स्थायी कमिटी बैठक बस्ने बताए ।

बैठकमा २ जेठ २०७५ को स्थायी कमिटीमा रहेका नेताहरू मात्रै सो बैठकमा सहभागी हुनेछन् । एमाले स्थायी कमिटीका सदस्य सुरेन्द्र पाण्डेले मंगलबार बस्ने स्थायी कमिटी बैठकले १० बुँदे प्रस्ताव कार्यान्वयनबारे निर्णय गर्दै अगाडि बढ्ने बताए । बैठकमा एमालेले कारबाही गरेका नेता नेपालसहित १४ नेताहरूबारे पनि चर्चा भएको तर त्यसबारे पनि मंगलबार बस्ने बैठकले निर्णय गर्ने उनले बताए । बैठकपछि एमाले सचिव प्रदीप ज्ञवालीले पार्टीलाई सुदृढ गर्ने गरी छलफल भएको बताए ।

उनले बैठकले १० बुँदे प्रस्ताव कार्यान्वयनमा लाने विषयलाई यसअघिकै स्थायी कमिटी र केन्द्रीय कमिटीले निर्णय गरिसकेको भए पनि त्यसमा थप जोड दिँदै मिलाउनुपर्ने प्रक्रिया मिलाएर पूर्ण रूपमा कार्यान्वयनमा लाने सहमति भएको बताए ।

‘छलफलले १० बुँदे प्रस्तावको कार्यान्वयनको प्रक्रियालाई थप तीव्रता दिने निर्णय गरेको छ र यसबारे थप निर्णय गर्न भोलि (मंगलबार) स्थायी कमिटीको बैठक डाकिएको छ,’ ज्ञवालीले भने, ‘यो छलफलपश्चात् पार्टी एकतामा देखिएका समस्या समाधान हुने, पार्टी दृढतापूर्वक अगाडि बढ्ने विश्वास लिएका छौं ।’

एमालेमा नेपाल समूह नेताहरू यसअघिका पार्टी बैठकमा उपस्थित नभएकाले १० बुँदे प्रस्तावको कार्यान्वयनमा समस्या उत्पन्न भएको र मंगलबार उनीहरू बैठकमा उपस्थित भएपछि त्यस्तो अवस्था नरहने ज्ञवालीले बताए । छलफलमा अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेल र सचिव ज्ञवाली सहभागी थिए ।

नेपाल समूहलाई साथ दिँदै आएका तर नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीमा नगएका एकता पक्षधर उपाध्यक्षत्रय युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिवत्रय गोकर्ण विष्ट, भीम आचार्य, योगेश भट्टराई, स्थायी कमिटीका सदस्यहरू सुरेन्द्र पाण्डे, रघुजी पन्तलगायतको सहभागिता रहेको थियो ।

पार्टी एकता पक्षधर नेताहरूले अध्यक्ष ओलीसँग १० बुँदे प्रस्ताव कार्यान्वयन गर्न र नेता नेपालसँग नयाँ पार्टी दर्ताको प्रक्रियाबाट पछाडि फर्किन माग गर्दै आएका छन् । तर, नेता नेपालले नयाँ दल दर्ताको प्रक्रियाबाट पछाडि फर्केका छैनन् । राष्ट्रपति भण्डारी र नेपालबीच भेटघाट यता राष्ट्रपति विद्यादेवी भण्डारी र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच भेटघाट भएको छ ।

सोमबार राष्ट्रपति कार्यालय शितल निवासमा भण्डारी र नेपालबीच भेटघाट भएको हो । एमाले विभाजन भएपछि नयाँ दल गठन गरेका नेपाल र भण्डारीबीच पार्टीलाई एकताबद्ध बनाउनेबारेमा छलफल भएको स्रोतको दाबी छ । एमाले विभाजन भएपछि राष्ट्रपतिले चासो व्यक्त गरेको स्रोतले जनाएको छ । एमाले अध्यक्ष ओली र नेपाल समूहबीच विवाद चर्किंदै गएपछि पार्टी विभाजन भएको हो ।

दुई÷दुईपटक प्रतिनिधिसभा विघटन गर्दै संविधान र लोकतन्त्रको विरोधमा ओली लागेपछि नेपालले बाध्य भएर एकीकृत समाजवादी पार्टी गठन गरेको बताउँदै आएका छन् ।

अब पछाडि फर्कने स्थिति छैन: नेपाल पक्ष

यसैबीच नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीका नेताले १० बुँदे प्रस्तावकै आधारमा पार्टी एकता हुन नसक्ने जनाएका छन् । अध्यक्ष ओली र पार्टी एकता पक्षधर नेताबीच १० बुँदे प्रस्तावलाई कार्यान्वयन गर्ने सैद्धान्तिक सहमति गरेपछि मंगलबार स्थायी कमिटी बैठक बस्दै छ ।

तर, सो बैठकमा नेपाल सहभागी हुनेछैनन् । नेपालको अध्यक्षतामा गठन भएको एकीकृत समाजवादी पार्टीका नेताहरूले १० बुँदे प्रस्तावले पार्टी एकताबद्ध बनाउन नसकिने भएकाले आफूहरूलाई स्वीकार्य नभएको जनाएका छन् ।

एकीकृत समाजवादीका नेता जगन्नाथ खतिवडाले १० बुँदे सहमति मात्रै कार्यान्वयनले पार्टी एकताबद्ध नहुने बताए । प्रतिनिधिसभा दुईपटक विघटन गरेका अध्यक्ष ओलीको पछिल्लो कार्यशैलीलगायतका विषयमा त्यो १० बुँदे प्रस्तावमा केही उल्लेख नभएको उनले बताए ।

‘पछिल्लो समय विवाद भएपछि १० बुँदे प्रस्तावमा पावर सेयरिङलगायतका विषयमा केही उल्लेख नै छैन । दुई÷दुईचोटि प्रतिनिधिसभा विघटन गरेका ओलीबारे केही प्रस्ट नभएको सहमति कार्यान्वयनले पार्टीलाई एकताबद्ध बनाउन सकिँदैन’ खतिवडाले भने, ‘पार्टी गठन गर्दै दर्ताको प्रक्रियामा हामी अगाडि बढिसकेकाले अब पछाडि फर्किने कुरो आउँदैन ।

केही साथीहरूले त्यसैलाई आधार मानेर जाने हो भने जान सक्नुहुन्छ, हामीलाई केही भन्नु छैन ।’ पार्टी एकताका लागि दुई शक्तिबीच छलफल हुनुपर्ने भए पनि त्यसो नभएको उनले बताए । ओली र नेपालबीच केही पनि सहमति नभएकाले अहिलेकै अवस्थामा पार्टीलाई एकताबद्ध बनाउन नसकिने उनले बताए ।

आफूहरू दल दर्ताको प्रक्रियामा अगाडि बढिसकेको बताउँदै पछाडि फर्किन नसक्ने खतिवडाले बताए । नेपालसहितका नेताहरू चन्द्रागिरि रिसोर्टमा यसैबीच एकीकृत समाजवादी पार्टीका अध्यक्ष नेपालसहितका नेताहरू मंगलबार चन्द्रगिरिस्थित चन्द्रागिरि हिल्स रिसोर्टमा पुगेका छन् ।

एकीकृत समाजवादी पार्टीका एक नेताका अनुसार बुधबार बिहान १० बजे सबै नेता एकैचोटि हस्ताक्षर सनाखतका लागि निर्वाचन आयोग जानेछन् । चन्द्रगिरि पुगेका नेताहरू सोमबारदेखि बुधबार बिहानसम्म त्यही बास बस्नेछन् । चन्द्रागिरि रिसोर्टमा सयभन्दा बढी कोठाहरू बुक गरिएको छ । दल दर्ताको प्रक्रियामा रहेका उनीहरूलाई निर्वाचन आयोगले सनाखतका लागि बुधबार बोलाएको छ । राजधानीबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया