जेठ ४, २०८१ शुक्रबार May 17, 2024

अन्ततः संकटमा बाग्मती प्रदेश सरकार मुख्यमन्त्री शाक्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः अष्टलक्ष्मी शाक्य नेतृत्वको बाग्मती प्रदेश सरकार संकटमा पर्ने देखिएको छ । नेकपा एमालेको स्पष्ट बहुमत पुग्ने अवस्था नरहेपछि सो प्रदेशमा विपक्षी गठबन्धन आबद्ध दलले नै सरकार बनाउने सम्भावना बढ्दै गएको छ । केही दिनअघि सो प्रदेशमा एमाले नेतृ अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बनेकी थिइन् ।

उनलाई त्यस बखत मुख्यमन्त्री रहेका डोरमणि पौडेलले बाटो खुला गर्दै एकल बहुमतको मुख्यमन्त्रीका रूपमा प्रस्ताव गरेका थिए । तर, बदलिएको राजनीतिक अवस्थासँगै माधव नेपाल नेतृत्वको दल नेकपा एकीकृत समाजवादी निर्वाचन आयोगमा दर्ता भएको छ । सो दललाई रोज्दै मंगलबार मात्रै बाग्मती प्रदेश निर्वाचन कार्यालय हेटौंडामा एमालेका १२ प्रदेश सभा सदस्यले सनाखत गराएका छन् ।

उनीहरू नेपालले नेतृत्व गरेको दलमा लाग्दा मुख्यमन्त्री शाक्यको पद धरापमा पर्ने निश्चित छ । संविधानअनुसार मुख्यमन्त्री शाक्यले प्रदेश सभाबाट विश्वासको मत लिनुपर्नेछ । त्यस्तो अवस्थामा उनलाई सो पद जोगाउन मुस्किल हुनेछ । उनलाई प्रदेशमा सरकार जोगाउन ५५ सांसदको समर्थन आवश्यक पर्छ ।

कुल १ सय ९ सदस्यीय बाग्मती प्रदेश सभामा एमालेका सभामुखसहित ५६ सांसद छन् । त्यसमध्ये १२ जना नेपाल नेतृत्वको दल नेकपा एसमा खुल्दा एमालेमा ४४ जना बाँकी रहन्छन् । यस्तो अवस्थामा विपक्षी गठबन्धनमा आबद्ध सांसदहरूको संख्या बढी हुने देखिन्छ ।

बाग्मती प्रदेशमा नेकपा माओवादी २३, कांग्रेस २२ नेकपा (एकीकृत समाजवादी) १२, नेकपा एमाले ४४, नेमकिपा २, राप्रपा २ विवेकशील साझा ३ स्वतन्त्र १ प्रदेश सभा सदस्य छन् । नेकपा एकीकृत समाजवादी र एमालेको सांसदको संख्या भने निर्वाचन आयोगले दल परिवर्तन गर्न दिएको समय २२ भदौसम्म अझै थपघट हुन सक्छ ।

यस्तो अवस्थामा हाल सो प्रदेशमा विपक्षी गठबन्धनमा रहेका दलको नेतृत्वमा सरकार बन्न सक्छ । तत्कालीन प्रदेश प्रमुख विष्णु प्रसाईंले शाक्यलाई एकल बहुमतको मुख्यमन्त्रीका रूपमा २ भदौमा नियुक्त गरेका थिए ।  राजधानीबाट ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया