काठमाडौंः ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीमा रिँगटा लाग्ने समस्याको उपचारका लागि क्लिनिक सञ्चालनमा आएको छ ।
पछिल्लो समय धेरै मानिसमा रिँगटा लाग्ने समस्या हुन थालेपछि धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले शुक्रवारदेखि रिँगटा लाग्ने समस्याको उपचारका लागि क्लिनिक सञ्चालनमा ल्याएको हो ।
अस्पतालका प्रशासक हरि खड्काले रिँगटा लाग्ने आम व्यक्तिको समस्यालाई मध्यनजर राख्दै ग्राण्डीले उक्त क्लिनिक सञ्चालनमा ल्याएको जानकारी दिनुभयो । “ग्राण्डीले आगामी दिनमा बिरामीको आवश्यकताअनुसार सेवा बिस्तारै गर्दै लैजान्छ”, उहाँले भन्नुभयो ।
उक्त सेवा आइतबारदेखि शुक्रवारसम्म बिहान ९ बजेदेखि ५ बजेसम्म लिन सकिने सो अस्पतालले जनाएको छ । क्लिनिकका रिँगटासम्बन्धी विशेषज्ञ धर्म डङ्गोलले अस्पतालको डाक्टरसँगको सहकार्यमा बिरामीको रोगको निधान गरेर रिँगटासम्बन्धी समस्या उपचार गरिने बताउनुभयो ।
“कतिपय बिरामीले औषधि सेवन गरे पनि रोग निको नभई रहेको अवस्थामा रोगको निधान गरेर रोगको प्रकृति हेरेर औषधि र थेरापीका माध्यामबाट उपचार गर्छौँ”, उहाँले भन्नुभयो । विसं २०६९ पुसमा स्थापना भएको ग्राण्डी अस्पतालले हाल २०० शय्यामार्फत बिरामीको उपचार गराउँदै आएको छ । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया