काठमाडौंः नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि प्रक्रिया सुरु भइसकेको छ । भदौ १८ बाट वडा अधिवेशन सुरु भएसँगै १४औं महाधिवेशनका लागि नेतृत्व चयनको प्रक्रियामा कांग्रेस अघि बढेको हो । कांग्रेसको केन्द्रीय महाधिवेशन भने आगामी मंसिर ९ देखि १३ सम्म काठमाडौंमा हुँदै छ ।
कांग्रेसको १३औं महाधिवेशन २०७२ फागुनमा भएको थियो । कांग्रेसको विधानअनुसार १४औं महाधिवेशन २०७६ फागुनमै हुनुपर्ने थियो । तर प्रत्येक चार वर्षमा हुनुपर्ने महाधिवेशन पटक–पटक सारेर आगामी मंसिरमा पुर्याइएको हो । कांग्रेसको वडा तहदेखि केन्द्रसम्म नेतृत्व चयनको प्रक्रिया यस्तो छ ।
वडा र क्षेत्रीय प्रतिनिधि चयन
वडा अधिवेशन कांग्रेस महाधिवेशनको प्रारम्भिक चरण हो । वडा अधिवेशनले वडा र क्षेत्रीय प्रतिनिधि चयन गर्छ । कांग्रेसको सम्बन्धित वडाका क्रियाशील सदस्यले आफूमध्येबाट वडाको नेतृत्व मतदानमार्फत चयन गर्छन् । जसमा सभापति एक, उपसभापति दुई जना, सचिव दुई जना र सहसचिव २ जना र सदस्यहरू निर्वाचित हुनेछन् । कोषाध्यक्ष वडा कार्यसमितिको बहुमतले चयन गर्छ । त्यसैगरी वडा अधिवेशनबाटै क्षेत्रीय प्रतिनिधि चयन हुनेछन् । क्षेत्रीय प्रतिनिधिको संख्या सम्बन्धित वडामा रहेको क्रियाशील सदस्यको आधारमा निर्वाचित हुन्छ ।
वडा अधिवेशन गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाका सबै वडाहरूमा एकै तरिकाले गरिन्छ । सबै वडाबाट समावेशी समूहको प्रतिनिधित्व अनिवार्य गरिएको छ । वडा अधिवेशनले नै क्षत्रीय प्रतिनिधि चयन गर्ने भएकाले यसलाई निकै महत्व दिइएको छ ।
गाउँ/नगर/उपमहानगर र महानगरपालिकाको नेतृत्व चयन
कांग्रेसको गाउँ/नगर/उपमहानगर र महानगरपालिकाको नेतृत्व वडा कार्यसमितिका सभापति र क्षेत्रीय प्रतिनिधिले चयन गर्नेछन् । यसमा पनि सभापति एक, उपसभापति दुई, सचिव दुई र सहसचिव दुई जना हुनेछन् ।
कोषाध्यक्ष गाउँ/नगर/उपमहानगर र महानगरका सभापतिले निर्वाचित कार्यसमिति सदस्यमध्येबाट एक जनालाई चयन गर्नेछन् । गाउँ/नगर/उपमहानगर र महानगर कार्यसमिति समावेशी हुनुपर्नेछ ।
प्रदेशसभा क्षेत्रीय कार्यसमिति
वडा, गाउँ, नगर, उपमहानगर र महानगरको कार्यसमिति चयनपछि कांग्रेसमा प्रदेशसभाको क्षेत्रीय कार्यसमिति चयन गर्ने प्रक्रिया रहेको छ । यसमा वडा अधिवेशनबाट निर्वाचित क्षेत्रीय प्रतिनिधि, वडा, गाउँ, नगर, उपमहानगर र महानगरपालिकाका कार्यसमिति सभापतिले प्रदेशसभा क्षेत्रीय कार्यसमितिको चयन गर्छन् । प्रदेशसभा क्षेत्रीय कार्यसमितिमा सभापति एक, उपसभापति दुई, सचिव दुई र सहसचिव दुईजना हुनेछन् । प्रदेशसभाका क्षेत्रीय सभापतिले निर्वाचित सदस्यमध्येबाट एक जनालाई कोषाध्यक्षका लागि प्रस्ताव गर्नेछन् ।
प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति
प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको नेतृत्व वडा कार्यसमितिका सभापति, गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकका सभापति, सम्बन्धित प्रतिनिधिसभा र प्रदेशसभाका सांसद र क्षेत्रीय प्रतिनिधिले चयन गर्छन् । प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको संरचना पनि वडा तहकै जस्तो हुन्छ ।
केन्द्रीय महाधिवेशन प्रतिनिधि
प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनले कम्तीमा चार महिलासहित १४ जना प्रत्यक्ष र महिला, दलित, आदिवासी, जनजाति, खसआर्य, मधेशी, थारु मुस्लिम, पिछडिएको क्षेत्रबाट १० जना प्रतिनिधि, समानुपातिक आधारमा प्रतिनिधिसभा क्षेत्रको जनसंख्याको आधारमा निर्वाचित गर्नेछ ।
महासमिति सदस्य
प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनले केन्द्रीय महाधिवेशन प्रतिनिधिमध्येबाट दुई महिलासहित ७ जना प्रत्यक्ष र महिला, दलित, आदिवासी, जनजाति, खसआर्य, मधेशी, थारु मुस्लिम, पिछडिएको क्षेत्रबाट चार जना प्रतिनिधिसभा क्षेत्रको जनसंख्याको बनोटअनुसार तोकिएबमोजिम समानुपातिक आधारमा केन्द्रीय महासमिति सदस्य निर्वाचित गर्नेछ ।
जिल्ला कार्यसमिति गठन
हरेक वडाको सभापति, गाउँ, नगर, उपमहानगर र महानगरपालिकाका सभापति, क्षेत्रीय प्रतिनिधि, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यले जिल्ला कार्यसमितिको छनोट गर्नेछ ।
प्रदेश कार्यसमिति
जिल्ला कार्यसमितिको गठनपछि कांग्रेसमा प्रदेशसभाको कार्यसमिति बन्छ । यसमा प्रदेशसभा निर्वाचन क्षेत्रबाट निर्वाचित प्रदेश प्रतिनिधि सदस्य, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनबाट केन्द्रीय महाधिवेशनका लागि निर्वाचित केन्द्रीय महाधिवेशन प्रतिनिधि, प्रदेशसभाभित्रका जिल्ला कार्यसमितिका सभापति, भातृ तथा सुभेच्छुक संस्थाका प्रमुखबाट प्रदेश कार्यसमितिको नेतृत्व चयन हुन्छ ।
केन्द्रीय नेतृत्व छनोट
वडा तहदेखि सबै संरचनाको गठनपछि कांग्रेसमा अन्तिममा केन्द्रीय कार्यसमितिको नेतृत्व छनोट हुन्छ । प्रत्येक जिल्लाबाट निर्वाचित महाधिवेशन प्रतिनिधिले केन्द्रीय नेतृत्वको छनोट गर्छ । लोकपथ
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया