असार ३२, २०८२ बुधबार July 16, 2025

विद्युतीय चार्जिङ स्टेसनका लागि ठाउँ खोज्दै साझा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः निकट भविष्यमा नै विद्युतीय बस भित्र्याउन लागेको नेपाल सरकारको सेयर लगानी रहेको साझा यातायातलाई चार्जिङ स्टेसनका लागि ठाउँको अभाव देखिएको छ ।

साझा यातायातले काठमाडौं उपत्यकाभित्र सञ्चालन गर्न ४० वटा विद्युतीय बस टेन्डरमार्फत ल्याउन लागेको हो । त्यसका लागि चार्जिङ स्टेसन बनाउन साझाले ठाउँ खोजिरहेको हो ।

चार्जिङका लागि ठूलो पावर लाग्ने भएपछि सोहीअनुसारको ठाउँको अभावसमेत देखिएको छ । साझाका अनुसार सानो एउटा बिजुलीको सबस्टेसनबराबरको पावर चाहिने भएकाले नेपाल विद्युत् प्राधिकरण समन्वय गरेर चार्जिङ स्टेसन बनाउने तयारी रहेको भइरहेको छ ।

साझाले चार्जिङ स्टेसनका लागि विभिन्न मन्त्रालय तथा निकायअन्तर्गतको सरकारी जग्गा खोज्न थालेको छ । साझा यातायातको कार्यालय रहेको पुल्चोकस्थित परिसरमा पनि एउटा चार्जिङ स्टेसन राख्ने र बाँकी चक्रपथ बाहिर दुई÷तीन ठाउँमा चार्जिङ स्टेसन बनाउने साझाको तयारी छ । त्यसका लागि ठाउँ तथा जग्गा भने मिलिसकेको छैन ।

काठमाडौंको थानकोट, ललितपुरको भैंसीपाटी, भक्तपुरको सल्लाघारी क्षेत्रमा चार्जिङ स्टेसन राख्नेगरी साझाले तयारी गरिरहेको हो ।

अहिले काठमाडौं उपत्यकामा निजी क्षेत्रबाट सञ्चालित विद्युतीय बस सञ्चालन भइरहेको छ । सुन्दर यातायातले आफ्ना लागि काठमाडौंको केही ठाउँमा चार्जिङ स्टेसन बनाएर बस चार्ज गरी सञ्चालन गर्दै आएको छ ।
ऊर्जामन्त्री पम्फा भुसालले चार्जिङ स्टेसनका लागि आवश्यक पर्ने स्थानको उपयुक्त विकल्प खोज्न पहल गर्ने बताएकी छन् ।

साझा यातायातले निकट भविष्यमा ल्याउन लागेको विद्युतीय बसमा एकपटक पूरा ब्याट्री चार्ज गर्दा २ सय किलोमिटर गुड्ने जनाएको छ । एउटा बसमा १ सय ६१ किलोवाट पर आवरको ब्याट्री जडान गरिने छ भने सो ब्याट्री ४ घण्टामा चार्ज फुल हुनेछ ।

साझाले रातको समयमा विद्यत् प्राधिकरणले सस्तो महसुलमा विद्युत् उपलब्ध गराउने भएकाले सो समयमा चार्ज गरिसक्ने गरी योजना बनाएको छ ।

साझाले अहिले पेट्रोल डिजेलबाट चल्ने ७१ वटा ठूला बस सञ्चालन गर्दै आएको छ । आगामी सन् २०२५ सम्ममा हाल पेट्रोल डिजेलबाट चल्ने बसलाई विस्थापित गरी विद्युतीय बस सञ्चालन गर्ने साझाले तयारी गरेको छ । साझा यातायातमा सरकारको ३ अर्बको सेयर लगानी छ । राजधानीबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया