श्रावण १, २०८२ बिहिबार July 17, 2025

एमसीसीबारे राष्ट्रिय हितलाई केन्द्रमा राखेर अगाडि बढ्छौः अध्यक्ष नेपाल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमसीसीका सम्बन्धमा उठेका नकारात्मक विषयमा नेपाली जनताले थाहा पाउने गरी स्पष्ट पार्न आग्रह गर्नुभएको छ ।

उहाँले एमसीसीका सम्बन्धमा अनेकन कोणबाट टीकाटिप्पणी भएको र राष्ट्रको हितमा नरहेको भन्ने सन्दर्भमा कुरा उठिरहेकाले थप स्पष्ट पार्न आग्रह गर्नुभएको हो । पूर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष नेपालसँग शिष्टाचार भेटका लागि पुग्नुभएका एमसीसीका उपाध्यक्ष फतिमा सुमारलाई उहाँले राष्ट्रहितको विषयलाई केन्द्रमा राखेर नै आफ्नो पार्टीले उपयुक्त निर्णय गर्ने बताउनुभएको थियो ।

भेटमा सहभागी एकीकृत समाजवादीका नेता गङ्गालाल तुलाधरका अनुसार सो अवसरमा अध्यक्ष नेपालले एमसीसीले उपलब्ध गराउने सहयोग नेपाली जनताको हितमा रहेको छ भन्ने स्पष्ट पार्न विशेष ध्यानाकर्षण गराउनुभएको थियो ।

उहाँले सत्ता गठबन्धनमा रहेका पाँच राजनीतिक दलका बीचमा साझा धारणा बनाएर नै सो बारेमा आवश्यक निर्णय हुने बताउनुभएको थियो । एमसीसी उपाध्यक्षले आफूहरुले उपलब्ध गराउने सहयोगका बारेमा स्पष्ट पार्दै सकारात्मक सहयोगको अपेक्षा गर्नुभएको नेता तुलाधरले जानकारी दिनुभयो ।

तत्कालिन नेकपाका वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा गठित कार्यदलले एमसीसीका सम्बन्धमा गरेको अध्ययनमा सो सम्झौतामा रहेका केही विषय संशोधन गर्नुपर्ने सुझाव दिइएकोसमेत अध्यक्ष नेपालले स्मरण गर्नुभएको नेता तुलाधारले जानकारी दिनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया