श्रावण ६, २०८२ मंगलबार July 22, 2025

कोरोना भाइरस : सक्रिय सङ्क्रमित ३० प्रतिशतले घटे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः भदौको पहिलो हप्ताको तुलनामा पछिल्ला दिनमा कोरोना भाइरसको सङ्क्रमण घट्दो र निको हुने दर बढ्दै गएको पाइएको छ । तथ्याङ्कअनुसार भदौको ३ गतेको तुलनामा बिहीबार सक्रिय सङ्क्रमितको सङ्ख्यामा करिब ३० प्रतिशतले कमी आएको पाइएको छ ।

भदौको पहिलो हप्ताको तुलनामा सक्रिय सङ्क्रमित उल्लेखनीय रुपमा घट्दै गएको देखिएको छ । भदौ ३ गते सक्रिय सङ्क्रमित ४० हजार ५०० जना थिए भने त्यो सङ्ख्या घटेर बिहीबार २८ हजार ६७८ जनामा आएको छ । यसरी हेर्दा सक्रिया सङ्क्रमितको सङ्ख्यामा करिब ३० प्रतिशतले कमी आएको छ ।

यसैगरी भदौ ३ गते १६ हजार ४३८ जनाको पिसिआर परीक्षण गरेकामा तीन हजार ७५ जनामा सङ्क्रमण पाइएको थियो । त्यसदिन कोरोना भाइरस सङ्क्रमण निको हुने व्यक्तिको सङ्ख्या दुई हजार १२६ जना मात्र थिए ।

यो सङ्ख्यामा बिहीबार गिरावट आएको छ । बिहीबारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क हेर्दा ११ हजार ९४४ जनाको पिसिआर परीक्षणमा एक हजार २७१ जनामात्र सङ्क्रमित पाइएका छन् ।

यता पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला घटेर १६ मा पुगेको छ भने बिहीबार एक हजार ८४५ जना सङ्क्रमणमुक्त भएका छन् । बिहीबारसम्म सात लाख ३५ हजार ६ जना सङ्क्रमणमुक्त भएका छन् भने नेपालमा सङ्क्रमणमुक्त हुने दर ९४.९ प्रतिशत पुगेको छ । पछिल्लो समय मुलुकभरि नै सङ्क्रमण घटेको पाइएको चिकित्सकले जनाएका छन् ।

नेपाल सरकारले जोमिखममा रहेका व्यक्तिलाई खोप लगाउने कामलाई प्राथमिकतामा राखेको छ । यसबाट नागरिकमा रोग प्रतिरोधात्मक क्षमता बढ्न गई सङ्क्रमण घटेको चिकित्सकको भनाइ छ । प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप दिने काम सरकारको पहिलो प्राथमिकता रहेको भन्दै यसका लागि आवश्यक प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

त्यसैले धेरै नागरिकले खोप पाएका र जोखिममा रहेका सङ्क्रमित पनि निको भएपछि उनीहरुमा पनि एन्टिबडीसमेत बनिसकेकाले सङ्क्रमण हुने व्यक्तिको सङ्ख्या घट्दै गएको र निको हुने सङ्ख्या बढेको पाइएको हो ।

नेपालमा बिहीबारसम्म ९२ हजार १६९ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । अहिलेसम्म ५७ लाख २९ हजार ७८९ जनाले पहिलो मात्रा र ५१ लाख दुई हजार २४४ जनाले पूर्णमात्राको खोप लगाइसकेका मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले पछिल्लो हप्ता सङ्क्रमण दरमा कमी आएको जानकारी दिए । उनका अनुसार परीक्षण गराएकामध्ये सङ्क्रमण हुने दरमा कमी आएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसार त्यहाँ पहिलेभन्दा सङ्क्रमित भएर उपचार गराउन आउने बिरामीको सङ्ख्यामा कमी आएको छ । सो अस्पतालमा सघन उपचार कक्ष एवं अक्सिजन चाहिने बिरामी भर्ना हुन कमै मात्र आएका छन् । धेरैले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेको र रोग प्रतिरोधात्मक क्षमता पनि बढेकाले सङ्क्रमण घटेको चिकित्सकहरुको भनाइ छ ।

यस्तै बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पतालमा पनि पहिलेको तुलनामा सङ्क्रमित भएर आउने बिरामीको सङ्ख्यामा कमी आएको छ । एक महिनाअघि दैनिक २० जना बिरामी आउने गरेकामा अहिले दैनिक पाँच÷छ जना मात्र बिरामी यहाँ आउने गरेका छन् । नेपालमा हालै गरिएको एक सर्वेक्षणमा ६८.६ प्रतिशत मानिसमा रोग प्रतिरोधात्मक क्षमता (एन्टिबडी) बनेको पाइएको थियो । यस्तै एक मात्रा खोप लगाएका व्यक्तिमा ८० प्रतिशतमा र पूर्णमात्रा खोप लगाएकामा ९० प्रतिशतमा एन्टिबडी बनेको मन्त्रालयले जनाएको छ । नेपालमा ५० वर्षभन्दा माथिका प्राय सबैले खोप लगाइसकेका छन् ।

सरकारको तथ्याङ्कअनुसार नेपालमा दैनिक एक लाख जनाले खोप लगाइरहेका छन् । नेपालले कोभ्याक्स सुविधा, अनुदान र खरिद गरेर अहिलेसम्म एक करोड ३३ लाख खोप ल्याइसकेको छ । कोरोना भाइरसको सङ्क्रमण रोक्ने उपायहरुमध्ये भरपर्दो उपाय खोप देखिएकाले नेपाल सरकारले यसमा प्राथमिकता दिएर खोप भित्र्याएको छ ।

जनस्वास्थ्यका मापदण्ड लागू गरेकाले हाल सङ्क्रमण कम भएको तर सभा, सम्मेलन जस्ता गतिविधिले फेरि सङ्क्रमण बढ्नसक्ने खतरा रहेको भन्दै यसका लागि सबैले ध्यान दिनुपर्ने चिकित्सकहरुको सुझाव छ ।

जनस्वास्थ्यविद्हरुले अहिले सङ्क्रमण दर स्थिर अवस्थामा रहेको र प्रायः सबैले खोप लगाइएको र जनस्वास्थ्यका मापदण्ड लागू गरेको हुनाले सङ्क्रमण नबढेको पाइएकोले यो अवस्थालाई निरन्तरता दिनुपर्ने सुझाव दिन्छन् ।

सरकारले असोजसम्म कूल जनसङ्ख्याको ३३ प्रतिशत र चैतसम्म सबै नेपालीलाई खोप लगाइसक्ने जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले हालै दिनुभएको जानकारीअनुसार सरकारले १८ वर्षमुनिका बालबालिकाका लागि ४० लाख मात्रा मोडर्ना र ६० लाख मात्रा फाइजर खोप ल्याउने अन्तिम तयारी गरेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानी हक्की टिमले भारतमा एसिया कप नखेल्ने, भन्यो, ‘सुरक्षा ग्यारेन्टी छैन्’
२०८२ श्रावण ६, मंगलबार
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसुची
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार