श्रावण ६, २०८२ मंगलबार July 22, 2025

२२ जनामा स्क्रब टाइफसको सङ्क्रमण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पछिल्लो समय यहाँ ‘स्क्रब टाइफस’ रोगको जोखिम बढ्दै गएको छ । यहाँका स्वास्थ्य संस्था र अस्पतालमा उपचारका लागि आउने बिरामीमा स्क्रब टाइफस देखिन थालेपछि जोखिम बढ्दै गएको हो ।

जिल्ला अस्पतालमा उपचारका लागि आउने बिरामीमा पनि स्क्रब टाइफस देखिएको अस्पतालका सूचना अधिकारी हरिश पन्तले जानकारी दिए । विगतका वर्षमा फाट्टफुट्ट मात्र देखिए पनि यस वर्ष स्क्रब टाइफसका बिरामीको सङ्ख्या बढेको छ । उनले भने, “वर्षायामको सुरुबाटै बिरामीको सङ्ख्या बढेको छ, साउनदेखि हालसम्म २२ जनामा स्क्रब टाइफस पुष्टि भइसकेको छ ।”

जिल्लाका सबै स्थानीय तहबाट आएका बिरामीमा स्क्रब टाइफस देखिने गरेको छ । त्यसमध्ये पनि सदरमुकामस्थित दशरथचन्द नगरपालिका र दोगडाकेदार गाउँपालिकाबाट उपचारका लागि जिल्ला अस्पताल आएका बिरामीमा बढी यो रोग देखिएको सूचना अधिकारी पन्तले बताए ।

जिल्ला अस्पतालमा बढीजसो भाइरल ज्वरोका बिरामी उपचारका लागि आउने गरेका छन् । अस्पतालमा हाल दैनिक १०० बिरामी उपचारका लागि आउने गरेकामा ५० जना भाइरल ज्वरोका आउने गरेका जिल्ला अस्पतालका प्रमुख डा. वसन्तराज जोशीले बताए । “अस्पतालले ज्वरोका प्रत्येक बिरामीमा स्क्रब टाइफसको परीक्षण गरिरहेको छ”, उहाँले भन्नुभयो, “केही स्क्रब टाइफसका बिरामीलाई अस्पताल भर्ना नै गरेर उपचार गर्नुपर्ने अवस्था छ ।”

वर्षात्मा पानीका मुहान सफा नहुँदा पानीजन्य रोग देखापर्ने गरेको स्वास्थ्यकर्मीले बताएका छन् । यो समयमा किर्नालगायतका किराले टोक्ने भएकाले स्क्रब टाइफसका बिरामी पनि देखिने गरेका अस्पतालका प्रमुख डा जोशीले बताए । उनले भने, “पशुचौपाया घुलमिल हुँदा किर्नाले टोक्ने त्यसपछि स्क्रब टाइफस देखिने गरेको छ, स्क्रब टाइफसले ज्यानै लिन सक्ने भएकाले परीक्षणको दायरा बढाएर उपचार गरिरहेको छौँ ।”

कोभिड–१९ सँग मिल्दाजुल्दा लक्षण भएको ‘स्क्रब टाइफस’ रोग 

यसैबीच नेपाल सरकारले केही दिनअघि कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण भएको ‘स्क्रब टाइफस’ रोग देखिन थालेको जनाएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै कोभिड–१९ का लक्षणसँग मिल्दाजुल्दा रोग स्क्रब टाइफस देखिन थालेकाले उक्त रोगसँग सचेत रहनसमेत अनुरोध गरेको छ ।

कोभिड–१९ जस्तै स्क्रब टाइफसमा मानिसलाई उच्च ज्वरो आउने, आँखा रातो हुनु, खोकी, वान्ता, पेट दुखाइ र पखालाले सताउनु, सास फेर्न समस्या हुनु धेरै टाउको दुख्नु जोर्नी तथा मांसपेशी दुख्नु, बिमिरा देखिनु, टोकेको ठाउँमा कहिलेकाहीँ कालो दागजस्ता लक्षण देखिने गर्दछ ।

स्क्रब टाइफस ‘ओरिन्सिया सुसुगामासी’ जीवाणुले सङ्क्रमित एक प्रकारको सानो किर्नाको टोकाइबाट मानिसमा सर्ने रोग हो । स्क्रब टाइफसले मस्तिष्क, कलेजो, फोक्सो लगायतमा सङ्क्रमण र कहिलेकाहीँ बहुअङ्ग विकार (मल्टी अर्गन डिल्फसन)को अवस्था पनि सिर्जना हुनसक्ने छ ।

के हो ‘स्क्रब टाइफस’ ?

स्क्रब टाइफस रोग मुसाको कानमा वा अन्य जीवजन्तुमा हुने सङ्क्रमित किर्नाले मानिसलाई टोकेपछि सर्ने गर्दछ । समयमा नै रोगको पहिचान गरी औषधि सेवन गरे रोग निको हुने गर्दछ । यसको  समयमा नै उपचार नगरे यसले गम्भीररुप लिनसक्ने स्वास्थ्यकर्मीले बताएका छन् ।

बच्ने उपाय

किर्नाको टोकाइबाट बच्न खेत, झाडी वा वनजङ्गलमा जाँदा लामो बाहुला भएको कपडा र उपयुक्त जुत्ता लगाउने तथा शरीरको खुला भागमा कीटनाशक मल्हमको प्रयोग गर्ने, घर वरिपरिका खेताबारीमा घाँस धेरै बढ्न नदिने र वातावरण सफा राख्ने, मुसा नियन्त्रणका लागि उपयुक्त किसिमको अन्न भण्डारण गर्नुपर्ने जनाइएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेको सक्रिय राजनीतिमा फर्किएँ, पछि हट्दिनँ : पूर्वराष्ट्रपति भण्डारी
२०८२ श्रावण ६, मंगलबार
प्रधानमन्त्रीसँग चीनको अन्तरर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्षको भेट
२०८२ श्रावण ६, मंगलबार
गण्डकीका मुख्यमन्त्री पाण्डे एकसाताका लागि चीन प्रस्थान
२०८२ श्रावण ६, मंगलबार
श्रमिकको न्यूनतम पारिश्रमिकमा वृद्धि
२०८२ श्रावण ६, मंगलबार
गठबन्धन सरकार फरक मतबीचको साझा मतबाट सफल हुन्छ : महामन्त्री विश्वप्रकाश शर्मा
२०८२ श्रावण ६, मंगलबार
पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा फर्किन नहुने एमाले नेताहरूको धारणा
२०८२ श्रावण ६, मंगलबार
राष्ट्रपतिबाट भू-ढकान नक्सा सार्वजनिकीकरण
२०८२ श्रावण ६, मंगलबार