श्रावण ५, २०८२ सोमबार July 21, 2025

फर्पिङको हरिशङ्कर जात्रा: खट घुमाउने कार्यक्रम सकियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ: दक्षिणकाली नगरपालिकास्थित फर्पिङमा परापूर्वकालदेखि मनाइने हरिशङ्कर जात्रा अन्तर्गत खट घुमाउने कार्यक्रम सम्पन्न गरिएको छ। सो जात्रामा नेपालमै सबैभन्दा ठूलो खट बोकिने जनाइएको छ ।

भाद्र शुक्ल पूर्णिमादेखि १२ दिनसम्म फर्पिङ क्षेत्रका पुरातात्विक, सांस्कृतिक एवं धार्मिक दृष्टिले महत्वपूर्ण स्थानमा खट यात्रा गरी सो जात्रा मनाइने परम्परा रही आएको छ। यात्राको समाप्ति आश्विन शुक्लप्रतिपदाका दिन गोपालेश्वरको यात्रा गर्ने मूर्तिलाई मन्दिरबाट देवताको घर (आगमछेँ) मा ल्याएर राखेपछि हुन्छ ।

यस वर्ष यो कार्यक्रम यही असोज २१ गते बिहीबार गरिने जात्रा व्यवस्थापन समितिले जनाएको छ। गत वर्ष कोरोना भाइरसको सङ्क्रमण फैलने डरले क्षमा पूजा गरी स्थगित गरिएको जात्रा यस वर्ष भने भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर सम्पन्न गरिएको दक्षिणकाली नगरपालिकाका उपप्रमुख वसन्ती डङ्गोल तामाङले जानकारी दिइन् ।

यो यात्रामा शिखरनारायणलाई हरि र गोपालेश्वरलाई शङ्करका रुपमा मानिन्छ। फर्पिङवासीका अनुसार यहाँको हरिशङ्कर यात्रा एवं भक्तपुरको विस्केट जात्राका विषयमा मृत्युपश्चात् यमराजले पनि प्रश्न गर्छन् भन्ने विश्वास लिइन्छ। यसैले यी दुवै यात्रा हेर्नै पर्ने मान्यता पनि यहाँ छ। भाद्र शुक्ल पूर्णिमाका दिन विधिवत् शुरु गरिने जात्राको विधिविधान भने भाद्र शुक्ल प्रतिपदाकै दिनदेखि शुरु हुने गरेको छ ।

यात्रामा शिखरेश्वर, गोपालेश्वर, नन्दिकेश्वर, अघोरेश्वर, कनकेश्वर, तिलविक्रमेश्वर र सिद्धिगणेश्वरका सात वटा खट बोकिन्छ। सबै खटमा सम्बद्ध देवताका मुखलिङ्ग शैलीका मूर्तिहरु स्थापना गरिएको हुन्छ। यो यात्रामा बोकिने खट नेपालका खटयात्रामध्येमा सबैभन्दा ठूला हुने गरेको छ। यो यात्राको एउटा खट बोक्न कम्तीमा पनि ५० जना मानिस चाहिन्छ। हरिवंश पुराणमा विष्णु र शिवलाई एउटै स्वरुप मानिएकाले यो यात्रा चलाउने गरिएको यहाँका वृद्धा बताउँछन् ।

फर्पिङको हरिशङ्कर यात्रा वाणासुरका पालादेखि शुरु भएको विश्वास गरिन्छ। वाणासुरले चलाएको यात्रा भएकाले यसमा आर्य र अनार्यबीचको समन्वय समेत रहेको स्थानीयवासीको भनाइ छ। जात्रासँग सम्बन्धित सात वटै मन्दिरमा क्षमापूजा गरिएको फर्पिङ जात्रा पर्व व्यवस्थापन समितिले जनाएको छ ।

गत वर्ष महामारीका कारण बन्दाबन्दीका कारण गर्न नसकिएको जात्रा भएपछि यस वर्ष दक्षिणकाली नगर क्षेत्रमा रौनकता बढेको छ। जात्राका माध्यमबाट यस क्षेत्रको धार्मिक पर्यटन प्रवद्र्धन गर्ने गरी प्रचारप्रसार गर्न लागिएको नगरपालिकाले जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया