काठमाण्डौंः भारत भ्रमणमा रहेको नेपाली काँग्रेसको प्रतिनिधिमण्डल र भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच आज बिहान भेटवार्ता भएको छ । उत्तरप्रदेशस्थित मुख्यमन्त्री आदित्यनाथको कार्यालयमा आज भएको भेटमा नेपाल–भारत सम्बन्धका विविध विषयमा छलफल भएको सो प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएका नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले जानकारी दिए ।
त्यसक्रममा आफूहरुले नेपाल–भारत सम्बन्ध द्विपक्षीयहित तथा दुई देशबीचका राजनीतिक धार्मिक सांस्कृति ऐतिहासिक एवं जनताबीचको सम्पर्कका विविध आयामका बारेमा कुरा उठाएको जानकारी डा.महतले दिए । भेटका क्रममा मुख्यमन्त्री आदित्यनाथले नेपालसँग सम्बन्धित विविध मुद्दा एवं विषयवस्तुलाई भारतले सधैँ प्राथमिकतामा राखेको बताए ।
मुख्यमन्त्रीले भारतले नेपालसँगको सम्बन्धलाई मुख्य प्राथमिकतामा राखेको जनाउँदै नेपाल र नेपालको राष्ट्रियता बलियो हुनुपर्छ र यसमा भारतको हित हुने प्रतिक्रिया आएको डा.महतले जानकारी दिए । भेटका क्रममा आफूले बनारसमा रहेको नेपाली मन्दिर हिन्दू करिडोर निर्माणका क्रममा विस्थापित हुनसक्ने विषयमा चासो राखेको र मुख्यमन्त्री आदित्यनाथले उक्त मन्दिर त्यहाँबाट विस्थापित नहुने र उचित स्थानमा निर्माण हुने विषयमा आफूले निर्देशन दिइसकेको जानकारी दिएको डा महतले बताए ।
भारतीय जनता पार्टीको निमन्त्रणामा तीन दिनअघि भारत गएको डा महत नेतृत्वको सो प्रतिनिधिमण्डलमा काँग्रेसका नेताद्वय उदयशमशेर राणा र अजय चौरसिया रहेका छन् । आजको भेटमा भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवाले र अर्का नेता आश्विन जोहर रहेका थिए । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया