श्रावण ५, २०८२ सोमबार July 21, 2025

बडादशैंको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आरधना गरि मनाईदैं

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नवरात्रको आज चौथो दिन आज कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरी मनाइदैछ । कुष्माण्डा देवीलाई शुभकर्मको शुभारम्भ वा सृष्टिको प्रतीको रुपमा पूजा गरिन्छ ।

आठ भुजा भएकीले कुष्माण्डा देवीलाई अष्ठभुजा पनि भनिन्छ । देवीको अष्ठभुजामा कमन्डलु, धनुष, बाँण, गधा, चक्र, अमृत, कलश र माला रहेको छ । मन्द हाँसोसहित ब्रह्माण्डको उत्पन्न गरेकाले देवीको नाम कुष्माण्डा रहेको उल्लेख छ ।

कुष्माण्डाको अर्थ कुभिण्डो हो । गर्मी मौसममा फल्ने फल भए पनि फलको भित्री भाग शीतल हुने भएकाले कुष्माण्डा देवीलाई पनि सांसारीक दुःख कष्ट तथा पीडामा शितलता प्रदान गर्ने देवीको रुपमा पूजा गरिन्छ । कुभिण्डोलाई कुष्माण्डा देवीको प्रतीकको रुप मानेर नवरात्रको चौथो दिन यसको पूजाआजा गर्ने चलन रहेको छ ।

शक्तिपीठ तथा देवी मन्दिरहरूमा आज कुभिन्डोको विधिपूर्वक पूजा गरी त्यसैको बलीसमेत चढाउने गरिन्छ ।

नवरात्रभर पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ ।

नवरात्रभर देशका विभिन्न शक्तिपीठहरूमा दर्शन गर्न भक्तजनको घुईँचो लाग्ने गर्छ । विशेषगरी काठमाडौंको नक्साल भगवती, शोभा भगवती, भद्रकाली, काभ्रेको नाला भगवती, काभ्रेको पलाञ्चोक भगवती मन्दिर, ताप्लेजुङको पाथीभारा, धरानको दन्तकाली, गोरखाको मनकामना, सप्तरीको छिन्नमस्ता, पोखराको विन्ध्यावासिनी, भोजपुरको सिद्धकाली मन्दिरमा विशेष पूजाआराधना हुने गर्छ । यस पटक कोरोना संक्रमणको जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्डको कडाईकासाथ पालना गर्न सरकारले आह्वान गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया