काठमाण्डौंः भरतपुर अस्पतालले अनलाइन टिकट सुरु गरेको छ । अस्पतालले अनलाइनबाट ओपिडी (बहिरङ्ग) टिकट सुरु गरेको हो ।
अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार भरतपुर अस्पतालको मोबाइल एप्लिकेसन वा भरतपुर अस्पतालको वेबसाइटमा गएर टिकट लिन सकिने व्यवस्था गराएको हो । आउँदो आइतबारदेखि अनलाइनबाट टिकट लिन सकिने सूचना अधिकारी पौडेलले जानकारी दिए ।
अस्पतालमा प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले टिकट लिन अत्यधिक भीड भएपछि अनलाइन टिकट सुरु गरिएको बताए । उनले यो व्यवस्थासँगै टिकट लिन लामो समय कुर्नुपर्ने बाध्यताको अन्त्य हुने बताए । उनले भने, “अहिले सबैको हातहातमा स्मार्ट मोबाइल छ ।
दुई-तीन सय जनाले अनलाइन टिकट लिनुभयो भने पनि धेरै सहज हुन्छ ।” अनलाइन टिकट सुरु गरेसँग टिकट काट्न लाइनमा बस्ने भीड कम हुने अपेक्षा गरिएको छ ।
अस्पतालले ओपिडीमा अत्यधिक भीड भएपछि गत असोज १८ गतेबाट जिओपिडी सेवा सुरु गरेको थियो । बिहान ८ः३० बजेदेखि दिउँसो ३ बजेसम्म जनरल ओपिडी (फ्याम्लि मेडिसिन) सेवा सञ्चालन हुँदै आएको हो । बिहान ८ देखि टिकट खुल्ला हुन्छ भने ८ः३० बजेदेखि जिओपिडी परीक्षण गरिन्छ ।
यी दुवै सेवा सञ्चालन भएसँगै टिकट काट्न र ओपिडी परीक्षण गराउन निकै सहज हुने अस्पतालले जनाएको छ । रकमको भुक्तानी खल्ती सेवाबाट गर्न सकिनेछ । टिकटको शुल्क रु ३० रहेको छ ।
सङ्घीय अस्पताल भरतपुरमा चितवनसहित १९ जिल्लाका बिरामी उपचारका लागि आउने गर्दछन् ।-रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया