श्रावण ९, २०८२ शुक्रबार July 25, 2025

ताप्लेजुङमा कोभिड-१९ विरुद्ध खोप लगाउन अटेर, कारबाही गर्ने तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः ताप्लेजुङ जिल्लामा सुरुदेखि हालसम्म ३५ हजार नगरिकले कोभिड–१९ विरुद्ध पूर्ण खोप लगाएका छन्  । जिल्लामा १८ वर्ष पूरा भएका सबैलाई पुग्नेगरी खोप आएको भए पनि नागरिकले खोप प्रति चासो नदेखाएको पाइएको छ ।  जिल्लामा १८ वर्ष उमेर समूहका करिब ८३ हजार नागरिक रहेको स्वास्थ्य कार्यालय ताप्लेजुङका खोप सुपरभाइजर दिनेश रायले जानकारी दिए । तर पछिल्लो समय दुई चरणमा सञ्चालित खोप अभियानमा करिब १५ हजार जनाले मात्र खोप लगाएको उनले बताए ।

यस अवधिका ५० हजारले कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य राखेकामा करिब ३० प्रतिशतले मात्र खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाका नागरिकले लक्ष्यअनुसार कोरोनाविरुद्ध खोप नलगाएपछि जिल्लास्थित कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिले अनिवार्य रुपमा खोप लगाउन सबैमा आग्रह गरेका छन् । खोप लगाउनु नागरिकको अधिकार मात्र नभई कर्तव्यसमेत भएकाले अनिवार्य लगाउन समितिले आग्रह गरे ।

कोरोनाविरुद्ध खोप लगाउन मिल्ने नागरिकले नलगाई सङ्क्रामक रोग निवारण ऐनअनुसार कारबाहीसमेत गर्ने तयारी गरिएको जिल्ला कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिए । आआफ्नो क्षेत्रमा खोप लगाउन बाँकी रहेका नागरिकको सूची तयार गरी अनिवार्य खोप लगाउने वातावरण मिलाउनका लागि पाण्डेले स्थानीय तहका जनप्रतिनिधिलाई आग्रहसमेत गरे ।

खोप लगाउन अटेर गरेको पाइए सङ्क्रामक रोग निवारण ऐनअनुसार कारबाही गर्नु आफ्नो बाध्यता हुने पनि उनको भनाइ छ ।

अठार वर्ष पूरा भएका जिल्लाका सबै नागरिकलाई पुग्नेगरी पर्याप्त खोप आएको जानकारी दिए। उनका अनुसार पछिल्लो समय करिब ६१ हजार जनालाई पुग्नेगरी भेरोसिल खोप आएको जिल्ला खोप व्यस्थापन समितिले जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया