असार २७, २०८२ शुक्रबार July 11, 2025

कात्तिक ३० गतेभित्र महाधिवेशन प्रतिनिधिका विवरण पठाउन एमालेको निर्देशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिले यही कात्तिक ३० गतेभित्र महाधिवेशन प्रतिनिधिका सम्पूर्ण विवरण उपलब्ध गराउन मातहतका कमिटीलाई निर्देशन दिएको छ । महाधिनका लागि एक हजार ९९९ प्रतिनिधि छनोट हुनेछन् ।

एमालेले महाधिवेशन प्रतिनिधि छनोटका लागि यही कात्तिक २७ गते देशभरका कमिटीका निर्वाचन तोकेको छ । सो पार्टीको महाधिवेशन आगामी मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ । हाल एमालेका सात लाख ३० हजार सङ्गठित सदस्य रहेका छन् । एमालेले बाँकी रहेका पालिका वा वडा अधिवेशन यही कात्तिक २५ गतेभित्र सक्न यसअघि निर्देशन दिइसकेको छ ।

एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले मङ्सिर ११ गते विद्युतीय उपकरणका माध्यमबाट केन्द्रीय नेतृत्व चयनका लागि निर्वाचन सुरु हुने उल्लेख गर्दै सौराहामा बन्दसत्र, भोजन, आवासलगायतका व्यवस्थापन हुने जानकारी दिनुभयो । उहाँले नारायणी किनारमा अध्यक्ष केपी शर्मा ओलीबाट हुने उद्घाटन सत्रमा चितवन आसपासका समेत गरेर पाँच लाख नेता कार्यकर्ताको सहभागिता गराइने जनाउनुभयो ।

उहाँले प्रचारप्रसार पूर्णरूपमा डिजिटल गरिने भएकाले भित्तेलेखन आदि नगरिने बताउनुभयो । एमालेले नेता रामबहादुर थापाको संयोजकत्वमा २३ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरेको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया