काठमाण्डौंः नेकपा (माले)को आठौँ राष्ट्रिय महाधिवेशन चितवनमा हुनेभएको छ । यही कात्तिक २७ गतेदेखि २९ गतेसम्म चितवनको नारायणी कला मन्दिरमा महाधिवेशन गर्न लागिएको हो ।
महाधिवेशन मूल व्यवस्थापन समितिले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो । समितिका संयोजक एवं मालेका स्थायी कमिटी सदस्य दीननाथ घिमिरेका अनुसार महाधिवेशनका लागि आवश्यक सबै प्रक्रिया पूरा भइसकेको छ । मालेका महासचिव सिपी मैनालीद्वारा उद्घाटन हुने सो महाधिवेशनमा देशभरका ३५० प्रतिनिधि सहभागी हुने पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।
गत वैशाखमा गर्ने भनिएको महाधिवेशन कोरोना कहरका कारण सारिएको भन्दै उहाँले स्वास्थ्य मापदण्ड पालनाका लागि थोरै प्रतिनिधिका बीच महाधिवेशन गर्न लागिएको जानकारी दिनुभयो । यस महाधिवेशनले ७५ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्नेछ । सोही समितिले पोलिटब्यूरो सदस्य, स्थायी कमिटी र महासचिव निर्वाचित गर्नेछ ।
महाधिवेशनमा नेपालको क्रान्तिको कार्यक्रम (नयाँ जनवाद), राजनैतिक प्रतिवेदन, नेपाल चिन्तन, मालेको सङ्गठनात्मक प्रस्ताव-प्रतिवेदनमाथि छलफल गर्नेछ । यस्तै पार्टीको तत्कालीन कार्यनीति, अर्थनीति, राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रस्ताव, पार्टीको विधान (परिमार्जनसहित पारित गर्ने) घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार पार्टीको महाधिवेशनमा हालको राज्य व्यवस्था असफल भएको विषयमा बृहत् छलफल हुनेछ ।
अहिलेको सङ्घीयताका कारण जनतामा परेको समस्या विशेष प्राथामिकतामा रहने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “महाधिवेशनमा प्रादेशिक संरचनाको विषयमा छलफल हुनेछ ।” प्रदेशका संरचना हटाई स्थानीय तह र जिल्लालाई अधिकार दिने विषयमा विशेष निर्णय गरिने उहाँको भनाइ थियो । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया