तीनवटा अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि लागेका आरोपहरूबारे छानबिन गर्न माग गरेका छन् । एमनेष्टी इन्टरनेसनल, कमिसन अफ जुरिस्ट्स र ह्युमन राइट्स वाचले संयुक्त वक्तव्य जारी गर्दै सर्वोच्च अदालतको संकटका कारण नेपालको न्यायपालिकाको स्वतन्त्रता र अखण्डता जोखिममा पर्दै गरेको बताएका हुन् ।
नेकपा (एकीकृत समाजवादी)ले एकता गर्न संभव हुने शक्तिसँग वार्ता गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको स्थायी कमिटी बैठकले राजनीतिक दृष्टिकोण र महत्त्वका आधारमा सबैसँग वार्ता गर्ने निर्णय गरेको हो ।
२७ कात्तिकमा बोलाइएको कांग्रेस केन्द्रीय समिति बैठकका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल खेमाले तीन बुँदे एजेण्डा तय गरेको छ । शुक्रबार बत्तीपुतलीमा बसेको आफू निकट पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको बैठकमार्फत त्यस खेमाले सभापति शेरबहादुर देउवालाई तीनवटा बुँदामा केन्द्रित रहेर प्रश्न उठाउने तयारी गरेको हो । केन्द्रीय सदस्य चन्द्र भण्डारीका अनुसार महाधिवेशनको सुनिश्चितता, न्यायालयको विषयमा मौनता र संसद अधिवेशन अन्त्यको कारणबारे प्रधानमन्त्रीसमेत रहेका सभापति देउवालाई पौडेल खेमाले प्रश्न सोध्ने भएको हो ।
आज सर्वोच्च अदालतमा कुनै पनि मुद्दाको सुनुवाइ भएन । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज बन्दी प्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोकेका थिए । तर, न्यायाधीशहरूले इजलास बहिष्कार गरेपछि सुनुवाइ हुन नसकेको हो ।
प्रधानन्यायाधीश राणाले आज आठवटा इजलासमा पेसी तोकेका थिए । तीमध्ये सात संयुक्त र एउटा एकल इजलास थियो । ती सबै इजलासमा ‘बेञ्च नबसेको’ भनेर जनाइएको छ ।
अस्ट्रेलिया यूएईमा जारी आईसीसी टी- २० विश्वकपको फाइनलमा प्रवेश छ । बिहीबार राति दुबईमा भएको दोस्रो सेमिफाइनल खेलमा पाकिस्तानलाई ५ विकेट हराउँदै अस्ट्रेलिया उपाधि नजिक पुगेको हो ।
पाकिस्तानले दिएको १७७ रनको लक्ष्य अस्ट्रेलियाले १९ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । उसका लागि म्याथ्यु वेड, मार्कस स्टोइनिस र डेभिड वार्नरले शादार ब्याटिङ गरे । वेडले १७ बलमा ४ चौका र २ छक्काको मद्दतमा नटआउट ४१ रन बनाउँदै अस्ट्रेलियालाई फाइनलमा पुर्याएका हुन् । उनले १९औँ ओभरका अन्तिम ३ बलमा लगातार ३ छक्का हान्दै उपाधि नजिक पुर्याए । यस्तै, स्टोइनिसले अविजित ४० र वार्नरले ४९ रनको योगदान दिए ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले न्यायालयमा भएको विवादको विषयमा पाँच दलीय गठबन्धनको साझा धारणा छिटै आउने बताएका छन् । आज (शुक्रबार) माओवादी केन्द्र भोजपुरको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा प्रचण्डले यस्तो बताएका हुन् ।
पत्रकारसँग कुरा गर्दै प्रचण्डले भने, ‘न्यायालय जस्तो स्वतन्त्र र गरिमामय संस्था विवादमा मुछिनु राम्रो होइन । सर्वाेच्च अदालतभित्रको विवाद त्यहीँभित्रबाटै मिलाउन सके राम्रो हुन्छ तर त्यस विषयमा हाम्रो साझा धारणा छिटै बाहिर ल्याउँछौँ ।’
स्वास्थ्यमन्त्री विरोध खतिवडा नेतृत्वको छानबिन समितिले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीसहितका पदाधिकारीलाई पदमुक्त गरी कारबाही गर्न प्रधानमन्त्रीलाई सिफारिस गरेको छ ।
प्रतिष्ठानका उपकुलपति डा. गिरीसहित रेक्टर गुरु खनाल, अस्पताल निर्देशक डा. गौरीशंकर साह र राजीनामा दिइसकेका रजिष्ट्रार मोहनचन्द्र रेग्मीमाथि पनि कारबाही गर्न छानबिन समितिले प्रधानमन्त्रीलाई सिफारिस गरेको छ । शुक्रबार प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति शेरबहादुर देउवालाई स्वास्थ्यमन्त्री खतिवडाले प्रतिवेदन बुझाएका छन् ।
मंसिरमा हुने नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा समकालीन तीन जना युवा नेता भिड्ने पक्का भएको छ ।प्रवक्तासमेत रहेका केन्द्रीय सदस्य विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्यद्वय गगन थापा र प्रदीप पौडेल महामन्त्री पदमा आमनेसामने हुने भएका छन् । कांग्रेसमा १४ पदाधिकारीमध्ये कोषाध्यक्ष मात्र मनोनीत हो । सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्री चुनावमार्फत् आउँछन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया