असार ३२, २०८२ बुधबार July 16, 2025

नेपाली पौरख र गौरवभित्र लुकेर बसेका प्रतिभालाई चिनाउन प्रधानमन्त्रीको आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं: प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली पौरख र गौरवभित्र लुकेर बसेका कैयौँ प्रतिभालाई बाहिर ल्याई नेपालको अपार बौद्धिक क्षमतालाई विश्वसामु चिनाउनुपर्ने बताएका छन् ।

नेपाल प्रज्ञा–प्रतिष्ठानकोे ३६औँ प्राज्ञसभाको उद्घाटनका अवसरमा प्रतिष्ठानका प्रमुख संरक्षक समेत रहनुभएका प्रधानमन्त्री देउवाले भौतिकरूपमा जतिसुकै उन्नत भए पनि सांस्कृतिकरूपमा प्रगति नगर्ने मुलुकले समृद्धि हासिल गर्न नसक्ने बताए ।

उनले महाकवि लक्ष्मीप्रसाद देवकोटाको परिकल्पना र प्राज्ञिक व्यक्तित्वको अग्रसरतामा स्थापित प्रतिष्ठानले मुलुकको भाषा, साहित्य, संस्कृति, दर्शन आदिका क्षेत्रमा महत्वपूर्ण कार्य गरेको बताउँदै आगामी दिनमा पनि प्राज्ञिक अध्ययन र सांस्कृतिक संरक्षणमा थप योगदान गर्नुपर्ने धारणा राखे। समयको मागअनुसार प्राज्ञिक सामग्रीको उत्पादन हुनुपर्नेमा पनि प्रधानमन्त्रीको जोड थियो ।

प्रधानमन्त्री देउवाले महाकवि देवकोटा सङ्ग्रहालय निर्माणले देवकोटाप्रति सम्मान हुने उल्लेख गर्दै सभाबाट सांस्कृतिक क्षेत्रमा दूरगामी प्रभाव पार्ने निर्णय गर्ने अपेक्षा व्यक्त गरे। संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले कोभिड–१९ को महामारीका समयमा पनि प्राज्ञिक अध्ययन अनुसन्धानका काममा नियमितता दिएकामा प्रशंसा गरे।

कार्यक्रममा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले प्रतिष्ठानले ऐतिहासिक ग्रन्थहरूको प्रकाशन र पुनः प्रकाशन गरेर भाषिक तथा साहित्यिक क्षेत्रको समृद्धिका लागि योगदान दिनसक्ने बताए। प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाले प्रतिष्ठानले लेखक साहित्यकार परिचयपत्र वितरण गरेर उपयोगी काम गरेको जनाए ।

सभामा नेपाल सङ्गीत नाट्य प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ ‘रायन’ र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले सभामा शुभकामना व्यक्त गरेका थिए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया