काठमाण्डौंः आन्तरिक राजस्व कार्यालय दमौलीमा उत्कृष्ट करदातालाई सम्मान गरिएको छ। दशौँ राष्ट्रिय कर दिवस तथा कर सप्ताहका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उत्कृष्ट करदाताका रूपमा डुम्रेस्थित सबैको लघुवित्त संस्थालाई सम्मान गरिएको हो ।
गत आर्थिक वर्षमा रु ३९ करोड नौ लाख कारोबार गरेको वित्तीय संस्थाको करयोग्य आयकर रु तीन करोड ९१ लाख रहेको थियो। उक्त संस्थाले त्यसअवधिमा रु एक करोड १७ लाख आयकर तिरेको थियो। विभिन्न मापदण्डका आधारमा उक्त संस्थालाई उत्कृष्ट करदाताका रूपमा सम्मान गरिएको प्रमुख कर अधिकृत डा नारायण ढकालले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल र प्रमुख कर अधिकृत ढकालले उक्त संस्थाका प्रतिनिधि केशव पौडेललाई दोसल्ला र प्रशंसापत्रले सम्मान गरे। सोही अवसरमा कार्यालयका उत्कृष्ट कर्मचारी नासु विनिता रानाभाटलाई पनि सम्मान गरिएको छ। कार्यक्रममा प्रजिअ अर्यालले करको दर भन्दा करको दायरा वृद्धि गर्नुपर्नेमा जोड दिए ।
तनहुँ उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्ष इमकुमार मल्लले व्यवसायी र कर प्रशासनबीच नङ र मासुको सम्बन्ध रहेकाले व्यवसायीलाई निर्भिक रुपमा व्यवसाय गर्ने वातावरण सिर्जना गर्नु राज्यको दायित्व रहेको बताए। चेम्बर्स अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कृष्ण आचार्यले व्यवसायीलाई करको दायरामा ल्याउन सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कर सप्ताहको अवसरमा कार्यालयले विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने भएको छ। कर प्रशासन सुधारका लागि विभिन्न कार्ययोजना बनाइएको बताउँदै प्रमुख कर अधिकृत ढकालले करको परिपालना गर्नेको करको लागत घटाउने नीति लिइएको जानकारी दिए। आन्तरिक राजश्व कार्यालय गत आर्थिक वर्षमा रु आठ अर्ब ५० करोड २६ लाख ६१ हजार राजश्व सङ्कलन गरेको थियो ।
कार्यालयले उक्त आर्थिक वर्षमा रु आठ अर्ब ५६ करोड ६८ लाख ३७ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो। कार्यालयले तनहुँसहित लमजुङ, गोरखा र मनाङको असुली गणना, लेखापरीक्षण र अनुसन्धानको काम गर्दै आएको छ। यद्यपि गत वर्षदेखि गोरखा र लमजुङमा करदाता सेवा कार्यालय स्थापना भएको छ।
मनाङका करदाताले लमजुङबाट कर तिर्न सक्ने व्यवस्था मिलाइएको छ । उक्त दुई जिल्लामा करदाता सेवा कार्यालय नहुँदा त्यहाँका करदाताले पनि दमौलीमै आएर कर तिर्नुपर्ने बाध्यता थियो । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया