श्रावण ६, २०८२ मंगलबार July 22, 2025

विवाह पञ्चमीको तयारी तीव्र, साताव्यापीरुपमा विवाह पञ्चमी महोत्सव मनाइने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः हिन्दू धर्मावलम्बीको आस्थासँग जोडिएको सीताराम विवाह पञ्चमी महोत्सवका लागि तयारी तीव्र पारिएको छ ।

प्रत्येक वर्ष झँै यसवर्ष पनि यही मङ्सिर १७ देखि २२ गतेसम्म साताव्यापी सीताराम विवाह पञ्चमी मनाउन लागिएको हो । महोत्सव नजिकिँदै गर्दा अबेर रातिसम्म पाल लगाउनेदेखि मूलद्वार सजावटमा कामदार व्यस्त देखिन्छन् ।

मिथिलाको उत्सवमध्ये विवाह पञ्चमीलाई महामहोत्सवका रुपमा भव्यताका साथ मनाउने गरिन्छ । त्रेतायुगमा भगवान् राम सीता विवाहको सम्झनामा प्रत्येक वर्ष विवाह पञ्चमी मनाउँदै आइएको छ ।

महामहोत्सव तयारीका लागि दिनरात जानकी मन्दिर प्रशासन लागिपरेको जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले जानकारी दिनुभयो ।

मन्दिर प्राङ्गणमा कार्यक्रमका लागि मञ्च बनाउनेदेखि जानकी मन्दिर तथा मुलद्वार सजाउने कार्य अहिले भइरहेको उल्लेख गर्दै  उहाँले प्रत्येक साँझ मन्दिर परिसरमा मङ्गल गीत तथा झाँकीसमेत हुने गरेको बताउनुभयो ।

विवाह पञ्चमीका दिन भारतको अयोध्याबाट आउने सन्त महन्थसहितको जन्तीको स्वागतका लागि पन्डाल, स्वागत द्वार निर्माणलगायत कार्यसमेत भइरहेको छ ।

अघिल्लो वर्ष विश्वव्यापीरुपमा फैलिएको कोरोना महामारीका कारण विवाह पञ्चमी औपचारिकतामा मात्र सीमित थियो । त्यसैले यसवर्ष भव्यरुपमा विवाह पञ्चमी मनाउन विभिन्न १९ वटा समिति एवं उपसमितिसमेत गठन गरिएको जनाइएको छ ।

महोत्सवका लागि शान्तिसुरक्षाको व्यवस्था, प्रचारप्रसार, सवारी साधन  व्यवस्थापन, अयोध्याबाट आउने जन्तीको स्वागत, विद्युत् आपूर्ति, बजार व्यवस्थापनलगायत समिति गठन गरिएको छ ।

भगवान् रामको जन्मभूमि अयोध्याबाट हरेक पाँच वर्षमा सीता नगरी जनकपुरमा विशेष जन्ती आउने प्रचलन छ । त्यसैले यसपटक औपचारिकरुपमा जन्ती नआए पनि साधुसन्त र ठूला महन्थ जन्तीकैरुपमा आउने उहाँको भनाइ थियो।

विवाह पञ्चमीमा सहभागी हुन ठूलो सङ्ख्यामा मानिस आउने भएकाले जताततै फोहर बढ्ने हुँदा  सरसफाइमा ध्यान दिन र शौचालयको व्यवस्था मिलाउन जनकपुर उपमहानगरपालिकासँग आग्रह गरिएकोे महन्थ वैष्णबले बताउनुभयो ।

फोहर र शौचालय व्यवस्थापनमा उपमहानगरपालिका र जनकपुर बृहत्तर क्षेत्र विकास परिषद्लेसमेत ध्यान नदिने गरेको गुनासो गर्दै उहाँले आफ्नै छोरीको बिहे ठानेर सबैले सहयोगमा चासो दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

महन्थ वैष्णबले प्रदेश सरकारले चाहे केही सरसफाइ र शौचालय व्यवस्थापनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । विवाह पञ्चमी महोत्सवअन्तर्गत मङ्सिर १७ गते जनकपुर नगर दर्शन, १८ गते फूलबारी लीला, १९ गते धनुष यज्ञ, २० गते तिलकोत्सव, २१ गते मटकोर र २२ गते शुभविवाह तथा २३ गते रामकलेवा कार्यक्रम तय गरिएको छ  ।  रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया