काठमाण्डौंः वीरगञ्ज र आसपासका क्षेत्रमा सञ्चालित होटल तथा रेष्टुराँको स्तरीकरण गर्ने भएको छ। नेपालको आर्थिक विकासको आधारमध्ये पर्यटन क्षेत्र पनि प्रमुख रहेको र प्रदेश नं २ को पर्यटकीय विकासका लागि वीरगञ्ज आधार बन्दै गएकाले वीरगञ्जमा सञ्चालित होटलको स्तरीकरण र वर्गीकरण गर्न लागिएको हो ।
होटल रेष्टुराँ स्तरीकरण निर्देशिका–२०७४ बमोजिम यहाँ सञ्चालित होटेल, रेष्टुराँ, पार्टी प्यालेस र मिठाई पसललगायतको खाद्य स्वच्छता, गुणस्तर र स्तरीकरणका लागि पहिलो चरणमा लोगो वितरण गर्ने तयारी गरिएको होटल तथा पर्यटन व्यवसायी सङ्घ वीरगञ्जका अध्यक्ष हरि पन्तले बताए ।
उनका अनुसार होटल तथा रेष्टुराँको बाहिरी परिधिको सरसफाइको अवस्था, भुइँ, भित्ता र सिलिङको स्थिति, खाद्यवस्तुको सम्पर्कमा आउने स्थलको अवस्था, सरसफाइ गर्न प्रयोगमा ल्याइने रसायन तथा विषादी प्रयोग र भण्डारण तथा ढल निकासको व्यवस्थित प्रणालीलाई मूल्याङ्कनको आधार बनाइनेछ ।
स्तरीकरणका लागि निर्देशिकामा उल्लेख गरिएका पचास प्रश्नको उत्तर दिने क्रममा सबैभन्दा बढी अङ्क ल्याउने व्यवसायले अति उत्तम, त्यसपछि उत्तम, मध्यम (सन्तोषजनक) र सामान्य श्रेणीको प्रमाणपत्रको लोगो पाउनेछन्। अतिउत्तम श्रेणीको होटल रेष्टुराँले तीनवटा तारा र (क) सहित अतिउत्तम लेखिएको हरियो स्टिकर पाउनेछ। यो लोगोे पाउन होटल रेष्टुराँले तोकिएको मापदण्डबमोजिम ९० भन्दा बढी अङ्क प्राप्त गर्नुपर्छ ।
त्यस्तै, उत्तम श्रेणीको खाद्य व्यवसायले दुईवटा तारा र (ख) सहित उत्तम लेखिएको हरियो स्टिकर पाउनेछन्। यस्तो लोगोे पाउन ८० भन्दामाथि ८९ सम्मको अङ्क प्राप्त गर्नुपर्ने हुन्छ। यसैगरी, मध्यम श्रेणी (सन्तोषजनक)को लोगो पाउन ६५ देखि ७९ बीचको अङ्क प्राप्त गर्नुपर्ने निर्देशिकामा उल्लेख छ। यस्तो लोगो पाउने होटल रेष्टुराँले एउटा तारा र (ग) सहित सन्तोषजनक लेखिएको हरियो स्टीकर पाउनेछन्। सामान्य श्रेणीको लोगोमा (घ) सहित सामान्य लेखेको स्टिकर उल्लेख हुनेछ। यो श्रेणीको लोगो पाउन ५० देखि ६० बीचको अङ्क प्राप्त गर्नुपर्ने व्यवस्था छ ।
त्यस्तै, पानी आपूर्तिका पाइप तथा अन्य प्रयोगका पाइपको अवस्था, खाना बनाउने, खाना खुवाउने तथा भण्डारण कोठामा प्राकृतिक वा कृत्रिम प्रकाशको स्थिति, प्राकृतिक र यान्त्रिक भेन्टिलेसन, भाँडाकुँडाको व्यवस्थापन, सरसफाइ प्रयोजनका लागि पर्याप्त पानीको आपूर्ति, पिउने प्रयोजनका लागि प्रशोधित तथा पिउनयोग्य पानीको व्यवस्थालगायत पनि मूल्याङ्कनको मापदण्डमा उल्लेख छ ।
होटलको स्तरीकरण र वर्गीकरणले पर्यटक अर्थात् ग्राहक आफैँले पनि होटल छनोट गर्न पाउने र सेवा सुविधा रोजाइअनुसार पाउने गरी थप सेवा विस्तार गर्ने योजना रहेको अध्यक्ष पन्तको भनाइ छ यसले होटलको सेवामा प्रतिस्पर्धा बढ्नुका साथै गुणस्तरीय पनि हुने उनले बताए। पर्यटन क्षेत्रको विकासका लागि होटलको स्तरीकरण र वर्गीकरण आवश्यक रहेकाले वीरगञ्जको मुख्य बजारमा सञ्चालित होटल थप स्तरीकरण गरिने योजना बनाइएको छ ।
पर्यटकलाई आकर्षित बनाउन स्तरीय होटल र सेवाको बारेमा पहिचान स्थापित गराउन स्तरीकरण आवश्यक देखिएको अध्यक्ष पन्तको भनाइ छ। पर्यटनको पूर्वाधार होटल नै भएकाले यहाँको पर्यटन विकासमा होटलको महत्वपूर्ण भूमिका रहेकाले प्रदेश नं २ को खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरको टोलीले वीरगञ्ज क्षेत्रका होटल व्यवसायीका लागि सचेतनामूलक कार्यक्रम गर्दै आएको छ ।रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया