श्रावण ६, २०८२ मंगलबार July 22, 2025

तनहुँ जलविद्युत् आयोजनाः रु एक अर्ब ३० करोड मुआब्जा वितरण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाका लागि रु एक अर्ब ३० करोड मुआब्जा वितरण गरेको छ ।

आयोजनाको निर्माण कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडले क्याम्प र विद्युत्गृहको पहुँचमार्ग, बाँधस्थलको पहुँचमार्ग र जलाशय क्षेत्रमा आवश्यक जग्गा अधिग्रहणका लागि रु एक अर्ब ३० करोड मुआब्जा वितरण गरेको हो । क्याम्प र विद्युत्गृहको पहुँचमार्गका लागि १५० रोपनी क्षेत्रफल अधिग्रहण गरिएको छ । त्यसका लागि रु ४० करोड मुआब्जा वितरण गरिएको आयोजनाका प्रमुख अच्युत घिमिरेले जानकारी दिए ।

उनका अनुसार बाँधस्थलको पहुँचमार्गका लागि ५० रोपनी जग्गा अधिग्रहण गरिएको छ । त्यसका लागि रु आठ करोड मुआब्जा वितरण भएको छ । जलाशय क्षेत्रका लागि एक हजार २३० रोपनी जग्गा अधिग्रहण गरिएको छ । त्यसका लागि रु ८२ करोड मुआब्जा वितरण गरिएको छ । बाँधस्थलको पहुँचमार्गमा ९० र जलाशय क्षेत्रमा ९७ प्रतिशत मुआब्जा वितरण भइसकेको उनले बताए ।

आयोजनाले रु ३८ करोडमा क्याम्प, रु १२ करोडमा विद्युत् सवस्टेशन, रु आठ करोडमा पहुँचमार्ग र रु दश करोडमा सेती नदीमा पक्की पुल निर्माण सम्पन्न गरिसकेको छ । आयोजनाले हालसम्म २५ प्रतिशत भौतिक प्रगति गरेको छ । आयोजनाको सबैभन्दा ढिलाइ भएको प्याकेज १ अन्तर्गतको कामका लागि गत अगष्ट ३१ बाट निर्माण कम्पनी परिचालन भइसकेको छ । प्याकेज १ अन्तर्गत नदी फर्काउने, बाँध निर्माण लगायतका काम हुनेछ । उक्त कामका लागि आयोजनाले सोङ दा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन प्रालि नेपाल जेभीसँग सम्झौता गरेको थियो ।

आयोजनाको प्याकेज १ (हेडवक्र्स) निर्माण कार्यका लागि निर्माण कम्पनी सिएमसी डि राभेना, इटालीसँग विसं २०७५ असोज १५ मा सम्पन्न खरिद सम्झौता रद्द भए पश्चात् कम्पनीले विसं २०७६ वैशाख १२ गते पुनः बोलपत्र आह्वान गरेको थियो । कम्पनीले उक्त बोलपत्र प्रक्रियामा प्राप्त कुनै पनि प्राविधिक बोलपत्र सारभूत रुपमा प्रभावग्राही हुन नसकेकाले सबै बोलपत्र अस्वीकृत गरी एशियाली विकास बैंकको खरिद निर्देशिकाअनुरुप विसं २०७६ फागुन १६ गते दोस्रो पटक पुनः बोलपत्र आह्वान गरेको थियो ।

प्याकेज २ अन्तर्गत सिनो हाइड्रोले भूमिगत काम गरिरहेको छ । उक्त प्याकेज अन्तर्गत पावरहाउस, वर्क टनेल, सर्च ट्याङ्कलगायतका काम भइरहेको छ । सिनो हाइड्रोले पाँच वटा सुरुङको काम सकेको छ । १९० मिटरको केवल सुरुङ, २८१ मिटरको मुख्य प्रवेश सुरुङ, ४३७ मिटरको सर्च ट्याङ्क जाने पहुँच सुरुङ र ३१४ मिटरको ड्याम जाने सुरुङ खनेर सकिएको छ । बाँधबाट पानी ल्याउने एक हजार ४०० मिटरको सुरुङ खन्ने काम जारी छ ।

प्याकेज ३ अन्तर्गतको प्रशारण लाइन निर्माणको कामले पनि तीव्रता पाएको छ । उक्त प्याकेज अन्तर्गत प्रशारण लाइन निर्माणका लागि आठ वटा टावर निर्माण सम्पन्न भएको छ । कूल ९४ मध्ये २७ फाण्डेशनको काम सकिएको छ, भने छ वटा फाउण्डेशनको काम चलिरहेको छ । २० टावरका लागि आवश्यक सामग्री आउने क्रममा रहेको बताइएको छ ।

आयोजनाको बाँधस्थलको जलाधार क्षेत्र १५०२ वर्ग किलोमिटर रहेको छ । उक्त नदीको अनुमानित औषध बहाव १०७.७ घनमिटर रहेको र सेती नदीको अनुमानित वार्षिक थेग्यान दर ३७६६ घनमिटर प्रति वर्ग किमि रहेको छ । आयोजनामा थेग्यान बगाउने प्रविधि अपनाइएकाले जलाशयको सञ्चालन आयु करिब एक सय ३७ वर्ष हुने अनुमान छ । १४० मिटर बाँधको उचाइ रहने आयोजनाको भूमिगत विद्युत्गृहको लम्बाई ८९ मिटर, चौडाई २२ मिटर र उचाई ४४ मिटर रहनेछ ।

कम्पनीको पूँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कूल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याज समेत) ५० करोड ५० लाख अमेरिकी डलरको लागि एडिबिले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले ८ करोड ५० लाख र नेपाल सरकार÷नेपाल विद्युत् प्राधिकरणले ८ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार
आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
२०८२ श्रावण ६, मंगलबार
एमाले केन्द्रिय समिति बैठक आज पनि बस्दै
२०८२ श्रावण ६, मंगलबार
देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न, सबैभन्दा धेरै सुदूरपश्चिममा
२०८२ श्रावण ६, मंगलबार