श्रावण ६, २०८२ मंगलबार July 22, 2025

डाँडाखेत-राहुघाट प्रसारण लाइन आयोजनाको ठेक्का सम्झौता भारतीय कम्पनीलाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाल विद्युत् प्राधिकरणले यहाँ निर्माण गर्न लागेको १३२ केभी क्षमताको डाँडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाको ठेक्का सम्झौता गरिएको छ । मालिका गाउँपालिका–७ डाँडाखेतबाट रघुगङ्गा गाउँपालिका–३ अम्बाङ जोड्ने प्रसारण लाइन र दुवै ठाउँमा सबस्टेशन बनाउने ठेक्का भारतीय कम्पनी लार्सन एण्ड टियुब्रो (एलएनटी)ले पाएको हो । आयोजना प्रमुख रोशन अग्रवालले २६ मिलियन अमेरिकी डलरमा एलएनटीसँग ३१ डिसेम्बर २०२१ मा ठेक्का सम्झौता भएको जानकारी दिए ।

“आह्वान गरिएको अन्तर्राष्ट्रिय बोलपत्र प्रतिस्पर्धामा सबैभन्दा कम दर प्रस्ताव गरेको एलएनटीसँग सम्झौता गरिएको हो”, उनले भने, “सम्झौतालगत्तै ठेकेदारले डिजाइन र सर्वेक्षणको काम सुरु गरेको छ ।” ठेक्का सम्झौताको अवधि ३० महिना छ । म्याग्दीको पश्चिमी क्षेत्र भएर बग्ने म्याग्दी र मध्य भूगोलबाट बग्ने राहुघाट तथा आसपासका नदीमा निर्माणको चरणमा रहेका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्न प्रसारण लाइन र सबस्टेशन बनाउन लागिएको हो ।

पच्चीस किलोमिटर दूरीको १२ केभी क्षमताको डबल सर्किट प्रसारण लाइनका ९० टावर निर्माण हुनेछन् । डाँडाखेत सबस्टेशनमा १३३-३३ केभी, ३० एमभिए क्षमता र एआइएस प्रविधिको उपकरण जडान गरिने भएको छ । २२०-१३२-३३ केभी, २०० एमभिए क्षमताको उपकरण जडान हुने राहुघाट सबस्टेशन जीआइएस प्रविधिको हुने आयोजना प्रमुख अग्रवालले बताउनुभयो । एशियाली विकास बैंकको ऋणमा प्रसारण लाइन र सबस्टेशन निर्माण गर्न लागिएको हो । डाँडाखेतमा सबस्टेशन बनाउन चार वर्षअघि ५१ रोपनी र राहुघाटको अम्बाङमा करिब ९० रोपनी जग्गा अधिग्रहण गरेर प्रारम्भिक चरणको पूर्वाधार निर्माण भएको छ ।

दुवै ठाउँमा जग्गा व्यवस्थापन, घेराबार, पहुँचमार्गका साथै डाँडाखेतमा गार्ड र कर्मचारी आवासगृह भवनसमेत निर्माण भएको छ । म्याग्दी नदीमा १७२।८ मेगावाट क्षमताको चार जलविद्युत् आयोजना निर्माण सुरु भएका छन् । संसारको सातौँ अग्लो धवलागिरि हिमालको फेदीबाट बग्ने म्याग्दी नदीमा दुई आयोजनाले पूर्वाधार निर्माण सुरु गरेका छन् । थप दुई आयोजनाले लगानी जुटाएर पूर्वाधार निर्माणको तयारी गरेका हुन् ।

सबस्टेशन र राहुघाट जोड्ने प्रसारण लाइन निर्माणको तयारी भएसँगै अनुमति लिएर बसेका प्रवद्र्धक सक्रिय भएका मालिका–७ बिमका वडाध्यक्ष रेशम जुग्जालीले बताए । “नेपाल विद्युत् प्राधिकरणले डाँडाखेतमा सबस्टेशन र राहुघाट जोड्ने प्रसारण लाइन निर्माणका लागि ठेक्का सम्झौताको तयारी गरेसँगै जलविद्युत् आयोजना निर्माण अघि बढेका हुन”, उनले भने, “दुई आयोजनाले पूर्वाधार निर्माण सुरु गरिसकेका छन् भने थप दुई तयारीमा छन् ।”

गैरआवासीय नेपालीहरूको अगुवाइमा धवलागिरि कालिका हाइड्रोले २५ मेगावाट क्षमताको दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजनाको सुुरुङको अडिट पोर्टल बनाउन थालेको छ । आयोजनाका इञ्जीनियर प्रकाश शाहीले पहुँचमार्ग बनिसकेको, जग्गा, कार्यालय र क्याम्प व्यवस्थापन सकेर सुरुङको अडिट निर्माण सुरु गरेको जानकारी दिए ।

गोज्जामा अडिट नम्बर २ को पोर्टन निर्माण भइरहेको छ । बाँध र विद्युत्गृह निर्माणको तयारी भएको छ । मालिका–७ बिम र धवलागिरि–७ को सिमानामा पर्ने इल्पुमा बाँध रहने आयोजनाको पाँच किलोमिटर ५०० मिटर सुरुङ निर्माण गरिने भएको छ । धवलागिरि–४ मा हाइड्रो इम्पायर प्रालि काठमाडौँले निर्माण गर्न लागेको ३७ मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत् आयोजनाले विस्तृत अध्ययन सकेर पहुँचमार्ग निर्माण सुरु गरेको छ ।

हाइड्रो इम्पायरका अध्यक्ष जीतबहादुर घर्तीले बिमको शिवरात्रिखोलाबाट भारबाङ, कल्लेनी, छहरी हुँदै बाँसबोटसम्म करिब पाँच किलोमिटर पहुँचमार्गको ट्रयाक खोलिसकेको जानकारी दिए । धवलागिरि–४ मै भिजन हाइड्रो प्रालिले ५७।३ मेगावाट क्षमताको म्याग्दी खोला जलविद्युत् आयोजनाको संरचना तयारी सुरु गरेको छ । कम्पनीका प्रबन्ध निर्देशक सुशील पोखरेलले निर्माण अघि बढाउन विद्युत् विकास विभागबाट अध्ययन अनुमति पाइसकेको बताए ।

अपर हाइड्रोपावर प्रालि काठमाडौँले धवलागिरि र मालिका गाउँपालिकाको भूगोलमा बनाउन लागेको ५३।५ मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत् आयोजना निर्माणस्थलमा सडक र विद्युत् सुविधा पुर्‍याउने काम भइरहेको छ । धवलागिरि–४ मुदीको खाम्ला नजिकै बाँध र मालिका–७ बिमको भारवाङमा विद्युत्गृह रहने आयोजना रन अफ द रिभर प्रकृतिको हो । पाँच किलोमिटर ५०० मिटर दूरीको सुरुङबाट ल्याइएको पानी ७७० मिटर हेडबाट विद्युत्गृहमा खसालिने कम्पनीले जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेको सक्रिय राजनीतिमा फर्किएँ, पछि हट्दिनँ : पूर्वराष्ट्रपति भण्डारी
२०८२ श्रावण ६, मंगलबार
प्रधानमन्त्रीसँग चीनको अन्तरर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्षको भेट
२०८२ श्रावण ६, मंगलबार
गण्डकीका मुख्यमन्त्री पाण्डे एकसाताका लागि चीन प्रस्थान
२०८२ श्रावण ६, मंगलबार
श्रमिकको न्यूनतम पारिश्रमिकमा वृद्धि
२०८२ श्रावण ६, मंगलबार
गठबन्धन सरकार फरक मतबीचको साझा मतबाट सफल हुन्छ : महामन्त्री विश्वप्रकाश शर्मा
२०८२ श्रावण ६, मंगलबार
पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा फर्किन नहुने एमाले नेताहरूको धारणा
२०८२ श्रावण ६, मंगलबार
राष्ट्रपतिबाट भू-ढकान नक्सा सार्वजनिकीकरण
२०८२ श्रावण ६, मंगलबार