श्रावण ६, २०८२ मंगलबार July 22, 2025

थारु बस्तीमा माघीको रौनक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः थारुहरुको महान् चाड माघीपर्वले पश्चिमी तराईका थारु बस्तीमा रौनक देखिएको छ । सुदूरपश्चिम प्रदेशमा कैलाली र कञ्चनपुरमा बसोबास रहेको थारु बस्तीमा माघीको उल्लास छाएको छ ।

कोरोना सङ्क्रमण बढिरहेको जोखिमका बीच थारु समुदायले परम्परागत रुपमा मनाइँदै आएको पर्वलाई निरन्तरता दिइरहेका छन् । कञ्चनपुरमा थारु समुदायको बसोबास रहेको बेलौरी, पुर्नवास, कृष्णपुर, शुक्लाफाँटा, बेदकोट र भीमदत्त नगरपालिकामा विभिन्न माघी मिलन कार्यक्रम सञ्चालन भएका छन् । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ का रामप्रसाद चौधरीले माघीले एक सातायता बस्तीमा चलहपहल बढेको बताउनुभयो ।

“हाम्रो मौलिक अनि विशेष पर्व विगत दुई वर्षयता कोरोना कहरले संत्रासका बीच मनाउँदै छौँ”, चौधरीले भन्नुभयो, “यस पटक पनि पर्वसँगै सावधानी अपनाउनुका साथै स्वास्थ्य सुरक्षामा समेत ख्याल गर्न जरुरी छ ।” वर्ष दिनमा थारु समुदायको सबैभन्दा विशेषरुपमा मनाइने माघीका अवसरमा यहाँका विभिन्न थारु बस्तीमा परम्परागत नृत्यसहित रमाइलो गरी मनाइँदै छ । माघी पर्व थारु समुदायले नयाँ वर्षका रुपमा समेत मनाउने गरेका छन ।

‘हर साल आउँछ माघी, माघी जान्छ आफ्नै सुरमा
खुसियाली छ दाङमा, खुसियाली कञ्चनपुरमा
हर साल आउँछ माघी, माघी जान्छ आफ्नै सुरमा’

थारु समुदायको गीतमा भनिएझैँ यस समुदायमा बालबालिकादेखि पाका पुस्तासम्म माघीकै रौनकता छ । माघ १ गतेदेखि सुरु हुने सप्ताहव्यापी योे पर्वमा यो समुदायले विभिन्न खानाका परिकारलाई बढी जोड दिन कुटानीपिसानी गर्ने, नयाँ लत्ताकपडा किन्ने र गाउँघरको सरसफाइ गर्ने गरेको चौधरीको भनाइ छ ।

त्यसैगरी यहाँको बेलौरी नगरपालिका–३ का स्थानीय घुम्मन चौधरीले परम्परागत रुपमा मनाउँदै आएको पर्वको रौनकता रहेपनि पहिले जस्तो नरहेको बताउनुभयो । “माघीपर्वलाई जुन महत्व दिएर संरक्षण र सम्वद्र्धन हुनुपर्ने हो त्यो भएको छैन”, उहाँले भन्नुभयो, “माघीपर्व मात्रै नभई हाम्रो संस्कृति पनि हो ।” माघी पर्वको अवसरमा यहाँको शुक्लाफाँटा नगरपालिकाले माघ ३ गते एक दिन बिदा दिने निर्णय गरेको शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख दिलबहादुर ऐरले जानकारी दिनुभयो ।

“दीर्घकालीन रुपमा माघीको पर्व र संस्कृतिको जगेर्नाका लागि हाम्रो पनि सहयोग रहन्छ”, ऐरले भन्नुभयो, “थारु संस्कृति र पहिरन पर्यटकीय दृष्टिकोणले पनि महत्वपूर्ण छन्, संरक्षण गर्नै पर्छ ।” थारु समुदायले माघीपर्वकै अवसरमा बडघर र भलमन्सा छनोट गर्ने, छोराछोरीको बिहे, अंशबन्डा र खेतीपातीको वार्षिक योजना निर्माणसमेत गर्ने अवसरका रुपमा लिने प्रचलन रहेको छ ।

त्यसैगरी माघीमा विशेषतः ढिक्री, तरुल, सखरखण्ड र फर्सी उसिनेर खाने गरिन्छ । माघीको अघिल्लो रात सुँगुर काटेर मासु खाने गरिन्छ, जसलाई थारु भाषामा ‘जिता मरना’ भन्ने प्रचलन रहेको बेलौरीकै सुकराम चौधरीले बताउनुभयो । माघीको अघिल्लो दिन राति थारु समुदाय मासु, जाँड र ढिक्री खाएर रातभर जाग्राम बसेर ‘मघौटा’ नृत्यमा रमाउने गर्दछ ।

माघीको दिन (माघ १ गते) झिसमिसेमै उठेर नदी, जलाशयमा गई लोटामा सिक्का राखिएको पानीले नुहाउने र नुहाइसकेपछि सिक्का लुटाउने प्रचलन रहेको चौधरीको भनाइ छ । सो अवसरमा तिलको आगो ताप्नाले वर्षभरि अन्जानवश गरिएको पाप नाश हुने धार्मिक मान्यतासमेत रहेको छ । माघीमा मनोरञ्जनका लागि घरमै मादकपदार्थसमेत उत्पादन गरेर खाने प्रचलन रहिआएको छ ।

यहाँको शुक्लाफाँटा नगरपालिका–२ का परदेशी चौधरीले कोरोना कहरले गर्दा माघीमा सचेत भएर मनाउनुपर्नेमा जोड दिनुभयो । “घर÷छिमेकमै विधि प्रक्रिया पूरा गरी रमाइलो गरी मनाउने हो”, उहाँले भन्नुभयो, “धेरै तामझाम र भीडभाड गर्ने माहोल कोरोनाका कारण छैन ।” यता स्थानीय प्रशासनले पनि भीडभाड कोरोना नियन्त्रणका लागि स्वास्थ्य मापदण्ड पालना गर्न र भीडभाड नगर्न यसअघि नै भनिसकेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपतिबाट भू-ढकान नक्सा सार्वजनिकीकरण
२०८२ श्रावण ६, मंगलबार
ऊर्जामार्फत बिपीको सपना साकार पार्न लागेका छौं : ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ६, मंगलबार
लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानी हक्की टिमले भारतमा एसिया कप नखेल्ने, भन्यो, ‘सुरक्षा ग्यारेन्टी छैन्’
२०८२ श्रावण ६, मंगलबार
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार