श्रावण ७, २०८२ बुधबार July 23, 2025

जापानले दिने २ अर्ब ६१ करोडको अनुदान स्वीकार गर्ने सरकारको निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सरकारले विराटनगर खानेपानी सुधार आयोजना कार्यान्वयन गर्न जापान सरकारबाट प्राप्त हुने दुई अर्ब ६१ करोड रूपैयाँसम्मको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को यही माघ १० गतेको निर्णय बुधबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई सरकारी जग्गा लिजमा उपलब्ध गराउने स्वीकृति दिने निर्णय गरेको पनि जानकारी दिए।

मन्त्रिपरिषद्ले नेपाल विद्युत् प्राधिकरणअन्तर्गतका विभिन्न प्रसारणलाइन तथा सबस्टेसन आयोजनाका लागि जग्गा प्राप्ति गर्न स्वीकृति दिने र प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने निर्णय पनि गरेको छ।

बैठकले भोजपुरस्थित नेपाली सेनाको फस्ट राइफल गणको ब्यारेक पेरिमिटरको उत्तर र पूर्वतर्फ फैलिएको स्थानीयको स्वामित्वमा रहेको करिब २० रोपनी १५ आना दुई दाम जग्गा प्राप्त गर्न स्वीकृति प्रदान गरेको छ।

कञ्चनपुर र कैलालीमा एकीकृत फोहरमैला व्यवस्थापन प्लान्ट स्थापनाका लागि शुक्लाफाँटा नगरपालिका र गोदावरी नगरपालिकाको वनक्षेत्रभित्र पर्ने जग्गा प्रयोग गर्न पनि मन्त्रिपरिषद्ले स्वीकृति प्रदान गरेको छ।

यस्तै, सरकारले विभिन्न समयमा छपाइ भएका, प्रकाशन नभएका र चलनचल्तीमा ल्याउन नसकिएका हुलाक टिकट र हुलाक स्टेसनरी प्रचलनमा नल्याउने र कानुनबमोजिम नष्ट गरी मिनाह गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ।

मन्त्रिपरिषद् बैठकले स्वास्थ्य बीमा बोर्डको अस्थायी दरबन्दी स्वीकृत गर्ने तथा लोकसेवा आयोगको सिफारिसमा विभिन्न सेवा समूहका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतलाई सम्बन्धित सेवा समूहको राजपत्राङ्कित प्रथम श्रेणीको सहसचिवमा नियुक्ति तथा पदस्थापना गर्ने निर्णय पनि गरेको छ। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया