श्रावण ७, २०८२ बुधबार July 23, 2025

अलैंची उत्पादन वृद्धिः किसानले पाएनन् मूल्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः खोटाङ जिल्लामा अलैँची उत्पादनमा वृद्धि भएको छ । आर्थिक वर्ष २०७६/७७ को तुलनामा गत आर्थिक वर्षमा २४५ मेट्रिक टन अलैँचीको उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र खोटाङले जनाएको छ।

केन्द्रका अनुसार आर्थिक वर्ष २०७६/७७ मा ५४२ मेट्रिक टन अलैँची उत्पादन भएकोमा गत आर्थिक वर्षमा ७८७ मेट्रिक टन उत्पादन भएको हो।

उत्पादनमा वृद्धि भए पनि यसले उचित मूल्य पाउन सकेको छैन। महत्वपूर्ण नगदेबालीको रुपमा रहेको अलैँची खेतीप्रति उत्साहित किसान उचित मूल्य नपाउँदा भने निराश देखिएका छन्।

कुनै समयमा राम्रो मूल्यमा बिक्री हुने गरेको कारण अलैँची खेतीमा हौसिएर जिल्लाका किसानले अलैँची उत्पादन वृद्धि गर्न थाले पनि अहिले भने जस्तो उचित मूल्य पाउन नसक्दा अलैँची उत्पादक किसान निराश बन्न थालेका हुन्।

विगतका वर्षमा तीन हजारदेखि तीन हजार ५०० प्रतिकिलो मूल्यमा बिक्री हुने गरेको अलैँची अहिले ८७५ देखि एक हजारसम्म मात्र बिक्री हुने गरेको किसानको भनाइ छ।

मौसम अनुकूल र रोगको प्रकोप कम भएका कारण यो वर्ष जिल्लामा अलैँचीको उत्पादन बढेको केन्द्रका सूचना अधिकारी एवम् कृषि प्रसार अधिकृत सञ्जयकुमार पण्डितले बताउनुभयो।

जिल्लामा अलैँची खेतीका लागि उपयुक्त १४ हजार दुई हेक्टर क्षेत्रफलमध्ये यो वर्ष १० हजार ६४ हेक्टर जग्गामा लगाइएको थियो। खेर गएको भिरालो, सेपिलो, ओसिलो र छहारी भएको जमिनमा उत्पादन हुने अलैंची बिक्रीबाट जिल्लामा वार्षिक तीन करोडभन्दा बढी रकम भित्रिने गरेको छ।

यहाँ उत्पादित अधिकांश अलैँची निकासी भइसकेको छ भने कतिपय निकासीको चरणमा छ। कतिपय किसान अलैँचीको बजारभाउ बढ्ने र त्यही मौकामा बिक्री गर्ने योजनामा पनि छन्।

अलैँची खरिद गर्नका लागि ठेकेदारले ट्याक्टर लिएर किसानका घर–घरमा पुग्ने गरेका छन्। केही वर्षयता अलैँचीको भाउ निरन्तर ओरालो लागे पनि यसको व्यावसायिक खेतीप्रति किसानको आकर्षण भने घटेको छैन।

केही रोपनी जग्गाबाट अलैँची खेती सुरु गरेका किसानले वर्षेनी अलैँची खेतीको क्षेत्र विस्तार गरिरहेका छन्। कतिपयले जग्गा भाडामा लिएरसमेत अलैँचीको व्यावसायिक खेती सुरु गरेका छन्।

अन्नबालीका लागि दिनरात खट्नुपर्ने तथा अलैँचीका लागि थोरै समय दिँदा पनि मनग्य आम्दानी हुने भएपछि जिल्लाका किसान अलैँची खेतीप्रति आकर्षित भएका हुन्।

पहिला–पहिला अलैँचीको मूल्य राम्रो भएका कारण आर्थिक आम्दानीको लागि अलैँची खेतीमा लागेका किसान हिउँद, बर्खा दुःख ऋणपान गरेर भए पनि अलैँची उत्पादन ग¥यो, तर यसको उचित मूल्य नपाउँदा उनीहरु अहिले निराश भएका छन्। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया