श्रावण ७, २०८२ बुधबार July 23, 2025

मापदण्डविपरीत संरचना निर्माण गर्ने कर पनि नतिर्ने खाद्य कम्पनी महानगरको कालोसूचीमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सरकारले तोकेको मापदण्डविपरीत इच्छुमती (टुकुचा) खोला दायाँबायाँ जग्गा नछोडी संरचना निर्माण गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले घरजग्गा एवं घरबहाल करसमेत नतिरेको काठमाडौँ महानगरपालिकाले जनाएको छ।

काठमाडौँ महानगरपालिका–११ भद्रकाली प्लाजास्थित कम्पनीका नाममा रहेको कित्ता नं २३९५ को सात रोपनी जग्गा भाडामा दिँदा मन्त्रिपरिषद्को मापदण्ड मिचेको जग्गाको घरजग्गा एवं बहाल करसमेत नतिरेको वडाध्यक्ष हीरालाल तण्डुकारले बताए।

कम्पनीले २०७४ सालमा कम्पनीको जग्गा भाडामा लगाउन सार्वजनिक सूचना प्रकाशन गरेको थियो। बीसभन्दा बढी कम्पनीले बोलपत्र हालेकामा सबैभन्दा बढी भाडा कबोल गर्ने फनल्यान्ड इन्टरटेनमेन्ट प्रालिलाई मासिक १० लाख ५१ हजारमा दिने सम्झौता ०७४ साल असार ७ गते गरिएको कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले बताइन्।

कम्पनीले घर बहालमा लगाए पनि कर भने तिरेको छैन। भद्रकाली प्लाजा क्षेत्रमा रहेका नेपाल टेलिकम, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, राष्ट्रिय बिमा संस्थानले भने वडा कार्यालयले गरेको पत्राचारअनुसार नै कर तिरिरहेका छन्। यस क्षेत्रमा रहेका अन्य कार्यालयलाई पनि कर तिर्न पत्राचार गरिएकामा नतिरेको वडा कार्यालयले जनाएको छ।

‘कम्पनीका प्रमुख कार्यकारी अधिकृतलगायत पदाधिकारी र बोर्ड सदस्य महानगरीय प्रहरी परिसरलाई जग्गा बेच्नुअघि वडा कार्यालयमा सिफारिसका लागि आउनुभएको थियो, मैले कर तिर्न भनेँ, उहाँहरूले नतिरीकन माथि माथिबाट मिलाएर जग्गा बेच्नुभएछ, महानगरीय प्रहरी परिसरले घरबाटो सिफारिस गर्दा भने ६ लाख कर वडा कार्यालयले लिएको छ,’ वडाध्यक्ष तण्डुकारले भने।

कानुनअनुसार नै बुझाउनुपर्ने कर सरकारले कार्यालयले नै नबुझाएपछि आफूले पटक–पटक कानुन परिवर्तन गरेर आउन भन्ने गरेको उनी बताउँछन्।

उच्च सरकारी अधिकारीले त्यसमा समेत ध्यान नदिएको वडा कार्यालयले जनाएको छ।

मन्त्रिपरिषद्ले २०६५ साल मंसिर १ गते काठमाडौँ उपत्यकाभित्रका नगरपालिका र नगरोन्मुख गाविसमा गरिने निर्माणसम्बन्धी मापदण्ड २०६४ मा संशोधन गरेको थियो।

संशोधनअनुसार खोला किनारमा निर्माण गर्दा बाग्मती, विष्णुमती र मनोहरा खोलाको दायाँबायाँ २०–२० मिटर, रुद्रमती (धोबीखोला) का हकमा धोबीखोला आयोजनाले तोकेको दूरी र आयोजना नभएको स्थानमा नौ मिटरको मापदण्ड तोकिएको थियो।

यसैगरी नख्खु खोलाको दायाँबायाँ १२–१२ मिटर, बल्खु, कर्मनासा, कोड्कु, साङ्ले र महादेव खोलामा १० मिटर, करखुसी खोलामा छ मिटर मापदण्ड मन्त्रिपरिषद्ले तोकेको थियो।

टुकुचा, सामाखुसी र काठमाडौँ उपत्यकामा बग्ने अन्य खोलामा चार मिटर छोडर मात्र निर्माण गर्न पाइने मापदण्ड खाद्य व्यवस्था तथा व्यापार कम्पनीले पालना नगरेको भेटिएको छ।
संरचना निर्माण गर्दा राजकुलो छोप्न नपाइने मापदण्ड पनि मन्त्रिपरिषद्ले पारित गरेको थियो।

यसको पालना नगरी कम्पनीले भाडामा दिएको संरचना निर्माण अन्तिम चरणमा पुगेको छ। कम्पनीले मनोरञ्जनात्मक कामका लागि सात रोपनी जग्गा भाडामा दिँदा कानुनबमोजिम गर्ने भनी दोस्रो पक्षसँग सम्झौता गरेको सूचना अधिकारी न्यौपानेले बताए।

कम्पनीले कानुनबमोजिम गर्ने भनी सम्झौता गरेको दाबी गरिए पनि फनल्यान्ड इन्टरटेनमेन्ट प्रालिले भने नदीको दायाँ–बायाँ छाड्नुपर्ने मन्त्रिपरिषद्को मापदण्डअनुरुप चार मिटरको नियम पालना गरेको छैन। यस विषयमा केही दिनअघि कम्पनीका उच्च अधिकारीले अनुगमन गरेको जनाइएको छ। राससबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दुई आयोगबिच सहयोग, समन्वय र सहकार्य हुने
२०८२ श्रावण ७, बुधबार
कांग्रेस र कम्युनिस्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छः प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन: प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
कामविनाको पद चाहिँदैन, जिम्मेवारी दिनुहोस् : वामदेव गौतम
२०८२ श्रावण ७, बुधबार
जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
२०८२ श्रावण ७, बुधबार
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा जापानसँग ‘बृहत्’ व्यापार सम्झौता भएको घोषणा
२०८२ श्रावण ७, बुधबार
प्रतिनिधिसभा बैठकबाट पानी जहाज विधेयक सर्वसम्मतिले स्वीकृत
२०८२ श्रावण ७, बुधबार