काठमाडौंः जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले आजदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गरेको छ ।
कम्पनीले प्रतिकित्ता रु एक सय अङ्कित मूल्यमा रु पाँच करोड २२ लाख मूल्य बराबरको पाँच लाख २२ हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) को बिक्री खुला गरेको हो ।
निष्कासन गरिने साधारण शेयरमध्ये पाँच प्रतिशत अर्थात् २६ हजार १०० कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको र जारी पुँजीको शून्य दशमलव पाँच प्रतिशत अर्थात् आठ हजार कित्ता शेयर कर्मचारीलाई सुरक्षित गरी बाँकी रहने चार लाख ८७ हजार ९०० कित्ता शेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन पाउने कम्पनीले जारी गरेको आव्हान पत्रमा उल्लेख छ ।
सर्वसाधारणले माघ २५ सम्म न्यूनतम १० कित्तादेखि अधिकतम पाँच हजार २२० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् र यो अवधिसम्म माग गरिएबमोजिम आवेदन नआए आगामी फागुन ६ सम्म निष्कासन खुला रहने कम्पनीले जनाएको छ ।
सर्वसाधारणले नेपाल धितो पत्र बोर्डबाट सी–आस्वा सुविधा प्रदान गर्न अनुमति पाएका बैङ्क तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै अनलाइनमार्फत ‘मेरो शेयर’ प्रयोग गरेर पनि शेयर खरिदका लागि आवेदन दिन सकिने कम्पनीको धितो पत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले जनाएको छ ।
कम्पनीको पुँजीको संरचनामा अधिकृत पुँजी रु २५ करोड र हालको जारी पुँजी रु १६ करोड बराबरको तथा तत्कालको चुक्ता पुँजी रु १० करोड ७८ लाख छ । विवरण पत्रमार्फत सर्वसाधारणलाई खरिदका लागि खुला गरेको शेयरको बाँडफाँड पश्चात् कम्पनीको चुक्ता पुँजी रु १६ करोड पुग्नेछ ।
धितो पत्रको सार्वजनिक निष्कासन गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थाअनुसार रेटिङ गर्दा ईक्रा नेपालले कम्पनीलाई ‘ईक्राएनपी आईआर बीबी’ ग्रेडिङ प्रदान गरेको छ ।
रेटिङअनुसार कम्पनीको हालको अवस्था वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको भन्ने बुझिन्छ ।रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया