असार २२, २०८२ आइतबार July 6, 2025

एमसीसीमा सत्ता गठबन्धनका पाँच दल पाँचतिर, कसको पोजिसन के ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः एमसीसी अनुमोदनका लागि अमेरिकाले पछिल्लो पटक दिएको समयसीमा सकिने ११ दिन मात्र बाँकी रहँदा यसको भविष्य के हुने भनेर अझै अन्यौल छ ।

विशेषगरी सत्ता गठबन्धनका पाँच दल नै पाँचतिर लागेपछि एमसीसी संसदमा टेबल हुन सकेको छैन भने प्रधानमन्त्री शेरबहादुर देउवा निकै दबाबमा परेका छन् ।

१६ फागुनभित्र संसदबाट एमसीसी पारित नगरिए अन्तर्राष्ट्रियस्तरमा देशको छवी बिग्रनसक्ने, दातृ निकायबाट प्राप्त हुँदै आएको अनुदान*ऋणमा नेपाललाई हेर्ने नीति फेरिन सक्ने भन्दै देउवा दबाबमा परेका हुन् ।

तर, सत्ता गठबन्धनका माओवादी केन्द्र र एकीकृत समाजवादी हालको अवस्थामा एमसीसी पारित गर्नै नहुने पक्षमा छ भने जनता समाजवादी पार्टीका दुई अध्यक्ष नै दुईतिर छन् । राष्ट्रिय जनमोर्चा त सडक आन्दोलनमा छ ।

बुधबारको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गर्ने तयारी सरकारको थियो । तर अन्तिम समयमा आएर टर्‍याे, माओवादी केन्द्रकाे अनुराेधका कारण ।

एमसीसीमा छिनोफानो गर्न आज दिउँसो ३ बजे सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच छलफल हुँदैछ ।

कसको पोजिस के ?

नेपाली कांग्रेस : सत्तासीन नेपाली कांग्रेस एमसीसीमा स्पष्ट छ । यसअघि प्रतिपक्षमा छँदा पनि एमसीसीको पक्षमा रहेको कांग्रेसले यसअघिको प्रतिवद्धता अनुसार सम्झौता पारित गर्नुपर्ने अडान लिँदै आएको छ ।

हालै सम्पन्न कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पनि एमसीसी संसदमा टेबल गर्नुपर्ने निर्णय गरिसकेको छ । कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले बुधबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेका थिए । उनले कांग्रेस यो सम्झौताबाट ब्याक नहुने र आफूसँग अन्य विकल्प पनि रहेको बताइसकेका छन् ।

एमसीसी अस्वीकार गरेमा विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष लगायत दातृ निकायबाट प्राप्त हुने ऋण अनुदान पनि कटौती हुनसक्ने कांग्रेस नेताहरूको ठम्याइ छ । कांग्रेस नेताहरु पनि एमसीसीलाई चुनावी परीणामसँग हेर्न नहुने बताउँदै आएका छन् ।

माओवादी केन्द्र : माओवादी अध्यक्ष प्रचण्डले आफू अहिले चौतर्फी घेराबन्दीमा परेको बताउन थालेका छन् ।

माओवादीभित्र देव गुरुङ, नारायणकाजी श्रेष्ठ पक्षधरहरू एमसीसीको तीव्र विरोधमा छन् । अर्काे धार पनि त्यति आक्रामक छैन । तर, अहिलेको अवस्थामा एमसीसीको पक्षमा लागे आगामी निर्वाचनमा असर गर्ने माओवादी केन्द्रका नेताहरूको बुझाइ छ । त्यही भएर चुनावपछि मात्र एमसीसीबारे निर्णय लिइनुपर्ने मत माओवादीमा छ ।

प्रचण्डले बुधबार प्रधानमन्त्री देउवासँगको छलफलमा अहिले मोरल्ली एमसीसीको पक्षमा आफ्नो पार्टी उभिन नसक्ने र नैतिकताका आधारमा सरकारबाट बाहिरिने बताएका थिए । तर, देउवाले भने बरु विपक्षमा मतदान गर्न तर सरकारबाट नबाहिरिन भनेका थिए ।

अघिल्ला सभामुख कृष्णबहादुर महराले पनि एमसीसी अगाडि बढाउन साथ दिएका थिएनन् भने हालका सभामुख अग्नि सापकोटा पनि राष्ट्रिय सहमति चाहिने बताइरहेका छन् । सभामुखकाे आलाेचना प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी ओलीले गर्ने गरेका छन् । सरकारले अगाडि बढाएका बिजनेस सभामुखले राेक्न नमिल्ने उनी सार्वजनिक कार्यक्रममै बताउँदै आएका छन् ।

माओवादी केन्द्रका जनवर्गीय संगठनले त बुधबार एमसीसीविरुद्ध आन्दोलन नै गरे । नेता नारायणकाजी श्रेष्ठ पनि सडकमा उत्रिएका थिए ।

एकीकृत समाजवादी : नेकपा (एकीकृत समाजवादी)का प्रवक्ता जगन्नाथ खतिवडा संशोधन बिना एमसीसी पारित नै नहुने बताउँछन् ।

एमसीसीको सवालमा माओवादी केन्द्र र एकीकृत समाजवादीका लाइन मिल्न जान्छ । एकीकृत समाजवादीका जनवर्गीय संगठन पनि मंगलबार प्रदर्शनमा उत्रिएका थिए ।

तत्कालीन प्रधानमन्त्री केपी ओलीले एमसीसी अगाडि बढाउन खोज्दा पार्टीभित्र (नेकपा)बाटै विरोध भएको थियो । उक्त विरोधपछि पूर्वप्रधानमन्त्री झलाना खनालको नेतृत्वमा तत्कालीन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, नेता भीम रावल सम्मिलित कार्यदल गठन गरेको थियो । जसमध्ये ज्ञवालीबाहेक अरु नेता एमसीसीको विपक्षमा छन् । रावल एमालेमा रहे पनि खनाल एकीकृत समाजवादीका वरिष्ठ नेता हुन् ।

जसपा : ‘पर्ख र हेरको नीति’ लिएको जसपामा पनि दुई लाइन छ । अध्यक्ष उपेन्द्र यादव माओवादी केन्द्र र एकीकृत समाजावादीको निर्णय कुरिरहेका छन् भने संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई एमसीसी पारित गर्नुपर्ने पक्षमा छन् । भट्टराईले बुधबार ट्वीट गर्दै एमसीसीका पक्षधर र विरोधी एउटै सरकार/गठबन्धनमा बस्न नहुने बताइसकेका छन् ।

तर, अध्यक्ष यादव अहिले एमसीसीको पक्षमा उभिए निर्वाचनमा असर गर्न सक्ने भन्दै गठबन्धनका दलबाट पारित हुने निश्चित भएपछि मात्र निर्णय लिने पक्षमा छन् । सभामुख सापकोटाले मंगलबार बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रमुख प्रतिपक्षी एमाले मात्र होइन, जसपा पनि अनुपस्थित थियो । यादव जनकपुरमा छन् ।

जनमोर्चा : गठबन्धनमा रहे पनि सत्तामा नरहेको राष्ट्रिय जनमोर्चा सुरुदेखि नै एमसीसीको विपक्षमा छ । अध्यक्ष चित्रबहादुर केसी एमसीसी राष्ट्रघाती रहेको बताउँदै आएका छन् । एमसीसीको विरोधमा बुधबार कम्युनिस्ट पार्टीहरूले गरेको नेपाल बन्दमा जनमोर्चा पनि सहभागी थियो ।न्युज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार