असार २२, २०८२ आइतबार July 6, 2025

माधव नेपालको पार्टीलाई चुनाव जित्न दिन्नौँ : महासचिव पोखरेल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई चुनाव जित्न नदिने बताएका छन् ।

अखिल नेपाल महिला सङ्घले आज (बिहीबार) काठमाडौंमा आयोजना गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रममा पोखरेलले एकीकृत समाजवादी भविष्यमा अस्तित्व नै नरहने अवस्था सिर्जना गर्ने बताएका हुन् ।

‘अहिले हामीले माधव नेपालको पार्टीलाई किन मान्यता दिएका छैनौँ भन्दा त्यसलाई हराइदिने हो । भविष्यमा त्यो पार्टी अस्तित्वमा नरहोस् भन्नका लागि हामीले चुनाव नजित्ने खालको स्थिति बनाउनैपर्छ’ पोखरेलले भने ।

चुनावमा हारेपछि सो पार्टी एमालेमै समाहित हुने उनको दाबी छ । ‘जसरी विगतमा नेकपा माले भन्ने पार्टी गठन भएको थियो । सबैतिर चुनाव हराइदिएपछि के भयो रु झोली झुम्टा बोकेर सबै कमरेडहरु अब हामी घरै फर्कियौँ भनेर आउनुभयो । पार्टी सकियो’ पोखरेलले भने ।

महासचिव पोखरेलले अरु साना कम्युनिस्ट पार्टीलाई पनि चुनावमा हराएर एमालेमा समाहित गर्ने बताए । ‘नेता जोडेर बलियो कम्युनिस्ट पार्टी बनाउन खोज्यौँ सम्भव भएन । अब कार्यकर्ता जोडेर कम्युनिस्ट पार्टी बलियो बनाउनुपर्छ । त्यसका लागि साना पार्टीहरुलाई चुनावमा हराइदिने र कार्यकर्तालाई आफूसित ल्याउने’ उनले भनेका छन् ।

पोखरेलले अघि भने, ‘अब हाम्रो बाटो एमालेलाई नेपालको वामपन्थी आन्दोलनको एक मात्र शक्ति बनाउने हो । अहिले थुप्रै छन् । तर, ती पार्टीहरुलाई हामीले चुनाव जित्न नसक्ने तहमा पुर्‍यायौँ भने हराएर जान्छन् ।’

नेपालमा ठुलो पार्टी फुटाएर जानेहरु कसैले पनि ठुलो पार्टी बनाउन नसकेको उनले बताए । ‘मोहन वैद्यहरु एक प्रकारले प्रचण्डकै हाराहारीको शक्ति लिएर विभाजित भएका थिए । तर, आज कस्तो अवस्था छ ? कुनै ठाउँमा चुनाव लडेर चुनाव जित्ने ठाउँ छ र ? छैन’ उनले थपे, ‘चुनाव जित्न नसक्ने भएपछि भनिरहेका छन् हामी क्रान्तिकारीहरु हो चुनावमा भाग लिँदैनौँ ।’

अबको राजनीतिक व्यवस्था आर्थिक विकास र समृद्धिको भएकाले सरकारको नेतृत्व गर्न नसक्ने दलको अर्थ नहुने पोखरेलले बताए ।

‘आर्थिक अवस्थामा रुपान्तरणको राजनीतिभित्र सरकारको नेतृत्व गर्न नसक्ने पार्टीहरुको के अर्थ छ र ? केही पनि छैन । यस अर्थमा नेपालमा सानातिना पार्टीहरु बिस्तारै हराउँदै जान्छन् । र त्यसको ठाउँ ठुला पार्टीले लिन्छन्’ उनले भने ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार