काठमाण्डौंः नेकपा एमालेभित्र उम्मेदवार छनोट प्रक्रिया नमिलेको भन्दै विवाद उत्पन्न भएको छ। खासगरी पार्टीभित्र एमालेका उपाध्यक्ष ईश्वर पोखरेल, विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ, खगराज अधिकारीलगायतले पार्टीभित्र आफूनिकटका नेताहरूले टिकट पाउनुपर्ने भन्दै अडान राख्न थालेपछि मध्यमार्गी धार खोज्दा झन् विवाद भएको हो। पोखरा र विराटनगर, ओखलढुंगा, कैलाली, इलामलगायतका जिल्लामा ‘भूमिगत गुटगत’ समूह हाबी भएको स्रोतको दावी छ। उच्च नेताहरूले आफ्नो जिल्ला र आफू निकटका नेताहरूलाई अगाडि सार्न खोज्दा विवाद बढेको छ।
पार्टीभित्रका कार्यकर्तालाई बेवास्ता गरेको बाहिरबाट आएका व्यक्तिले टिकट लिएको र टिकट छनोट प्रक्रियामा पार्टीको ध्यान नपुगेको भन्दै विवाद उत्पन्न भएको हो। महत्वपूर्ण स्थानमा विवाद आएका कारण सोमबार मात्रै सबै स्थानमा मनोनयन दर्ता गर्ने जनाएको छ। विवादकै कारण एमालेले विराटनगर महानगरपालिाको मेयरको उम्मेदवार टुंग्याएको छैन। एमालेका अध्यक्ष केपी ओली आफैंले त्यहाँको उम्मेदवार टुंगो लगाउने बताएका छन्। विराटनगरमा धेरैजना उम्मेदवार रहेका कारण त्यहाँ पार्टी अध्यक्ष ओली आफैंले टुंगो लगाउने भएका हुन्।
प्रदेश १ को सोलुखुम्बुको दूधकुण्ड नगरपालिकाको उम्मेदवार छनोटको विषयलाई लिएर निवर्तमान उपमेयर कल्पना राईलगायतका नेताहरूले पार्टी छाड्न घोषणा गरिसकेका छन्। एमालेको सबैभन्दा बढी मतदात रहेको नगरपालिकामै विवाद देखिएको छ। त्यहाँ नेपाली कांग्रेसबाट भर्खरै एमाले प्रवेश गरेका विवादास्पद छविका काजी शेर्पालाई मेयरको उम्मेदवार बनाएपछि असन्तुष्टि देखिएको हो। काजी शेर्पालाई मेयरमा टिकट दिइएपछि निवर्तमान उपमेयर राईले एमाले परित्यागको घोषणा गरेकी हुन्। साथै जिल्ला कमिटी सचिवालय सदस्य वीरउदास श्रेष्ठ युवा संघका केन्द्रीय सदस्य योगेन्द्र श्रेष्ठले पनि पार्टी छाडेको घोषणा गरेका छन्। एमाले सोलुमा व्यापक असन्तुष्टि देखिएको छ। त्यहाँ एमालेका नगर अध्यक्ष मिङमा शेर्पालगायतका धेरै नेताहरू असन्तुष्टि जनाएका छन्।
त्यसैगरी, इलाममा नेकपा एमालेका नगर अध्यक्षसहित पूरै कमिटीले सामूहिक राजीनामा दिएका छन्। नरेन्द्रनाथ भट्टराईलाई सिफारिस गरिएको भन्दै एमालेका नगर कमिटी अध्यक्ष तिलक ठकुरीसहित २२ जनाले सामूहिक राजीनामा दिएका हुन्। नगरपालिकाको मेयरमा एमाले नेता नरेन्द्रनाथ भट्टराईको नाम टुंगिएको थाह पाएपछि कार्यकर्ता असन्तुष्ट भएका छन्। असन्तुष्ट पार्टीका युवा कार्यकर्ताले पार्टी कार्यालय तालाबन्दी गरेका हुन् भने एमाले इलामको कार्यालयमा नगर कमिटीले तालाबन्दीसमेत गरेको छ। एमालेबाट इलाममा नगरपालिकाको नगर प्रमुखमा भट्टराईसहित धिरेन चेम्जोङ र कृष्ण श्रेष्ठ सिफारिस भएका थिए।
नेकपा एमालेकी केन्द्रीय सदस्य एवं पोखरा महानगरपलिकाको उपमेयर पदकी उम्मेदवार मञ्जुदेवी गुरुङले आफ्नो उम्मेदवारी अस्विकार गरेकी छिन्। पार्टीले आफूलाई उपमेयर पदको उम्मेद्वार बनाएकोमा उनले असन्तुष्टि व्यक्त गरेकी हुन्। आफूले मेयर र उपमेयर कुनैपनि पदमा दाबी नगरेको र आफूसंग कुनैपनि सल्लाह नगरिकन नेताहरूले के कारण यस्तो निर्णय गरेको हो भन्दै असन्तुष्टि जनाएकी थिइन्। उनी एमाले केन्द्रीय सदस्य हुन्।
मेयरका उम्मेदवार दीपक पौडेल भने प्रदेश कमिटी सदस्य हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीकी मितिनी रहेकी गुरुङले उम्मेदवारी छनौट प्रकृयालाई अस्वीकार गरेकी छिन्। पौडेलको उम्मेदवारी छनोटप्रति कास्कीका एमाले नेताहरूले असन्तुष्टि मात्रै जनाएका थिएनन उनको विवादास्पद भिडियो समेत बाहिरिएपछि एमालेले पोखरामा मेयरको उम्मेदवारमा अर्को व्यक्ति उठाउने तयारी गरेको छ। शिक्षक पृष्ठभूमिका पौडेल राष्ट्रिय शिक्षक संगठका उपाध्यक्ष पनि हुन्।
दोलखाको भिमेश्वर नगरपालिकाको विषयलाई लिएर त्यहाँ नेताहरूले असन्तुष्टि जनाएका थिए। पार्टीका जिल्ला उपाध्यक्ष राजेन्द्र मानन्धर लगायतका नेताहरूले प्रदेश कमिटीमा उजुरी गरेका थिए। उनीहरूले त्यहाँको असन्तुष्टिलाई लिएर पार्टीको प्रदेश कमिटीमा उजुरी गरेपछि उम्मेदवार परिवर्तन गर्ने तयारी भएको छ।
विरगन्जको मेयरमा विजय सरावागीलाई उम्मेदवार बनाएपछि त्यहाँ स्थानीय एमाले कार्यकर्ताहरू रुष्ट भएका छन्। यद्यपि त्यहाँबाट उनको मात्रै नाम सिफारिस भएको थियो। उनलाई उम्मेदवार बनाएपछि त्यहाँ जिल्लास्तरीय नेता जसपामा प्रवेश गरेका छन्।
नेकपा एमालेले कम्युनिष्ट सिद्धान्त विपरित काम गरिरहेको र पार्टीमा पुँजीवादीहरू हावी भएको आरोप लगाउँदै लामाले पार्टी परित्याग गरेका हुन्। वीरगञ्जको शहरी क्षेत्र भित्र मतदातामा राम्रो पकड भएका लामाले जसपा प्रवेश गर्दा एमालेको ठूलो भोट बैंकमा समेत असर पर्ने बताइएको छ। काठमाडौ महानगरपालिकामा इन्दिरा पन्तले पनि असन्तुष्टि व्यक्ति गरेकी छिन्। उनी मेयरको दावेदार थिइन। काठमाडौमा केशव स्थापितलाई उम्मेदवार बनाइएको छ भने उपमेयरमा मिस नेवा सुनिता डंगोललाई उम्मेदवार बनाइएको छ। डंगोल स्वतन्त्र रूपमा मेयर पदमा उम्मेदवार दिने तयारीमा थिइन। नागरिक
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया