काठमाडौंः स्थानीय तह निर्वाचनकै ‘इपिसेन्टर’ बनेको भरतपुरमा चुनावी सभा गरेको भोलिपल्ट शुक्रबार सत्तारूढ गठबन्धनले काठमाडौंमा चुनावी सभा गरेको छ ।
भरतपुरको चुनावी सभामा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले मन्तव्य दिएकोमा काठमाडौंमा भने जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसी पनि थपिएका छन् । यी सबै जना शीर्ष नेताले गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरेका छन् ।
मुलुककै सबैभन्दा ठूलो महानगर काठमाडौंमा योपटक सत्तारूढ गठबन्धनका तर्फबाट कांग्रेसकी सिर्जना सिंह उम्मेदवार बनेकी छन् । ६ ओटा महानगरमध्ये सत्तारूढ गठबन्धनले भरतपुर र काठमाडौंमा महिलालाई अघि सारेको छ ।
काठमाडौंमा उम्मेदवार बनेकी सिंह कांग्रेस नेता प्रकाशमान सिंहकी पत्नी हुन् । भरतपुरकी रेणु माओवादी अध्यक्ष प्रचण्डकी छोरी हुन् । छोरी र पत्नीलाई उम्मेद्वार बनाएको भनेर चर्काे आलोचना भइरहेको बेला गठबन्धनका शीर्ष नेताहरूले त्यसको खण्डन गर्न चुनावी मञ्चलाई प्रयोग गरेका छन् । कसैलाई श्रीमती, कसैलाई छोरीका रूपमा प्रचार गरेर महिलाहरूलाई अपमानित गर्ने, महिलाभित्रको क्षमतालाई अवमूल्यन गर्ने कोशिश भइरहेको भन्दै त्यसतर्फ सजग हुनुपर्ने भनाइ पनि उनीहरूले राखेका छन् ।
चुनावी सभामा बोल्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा रेणु दाहाल आफ्नो प्रस्तावमा भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवार बनेको बताउनसमेत पछि परेनन् । रेणुले आफ्नो कार्यकालमा भरतपुरमा राम्रो काम गरेकाले पुनः दोहो¥याउन आफूले माओवादी अध्यक्ष प्रचण्डलाई सुझाव दिएको पनि उनले चुनावी सभामा सुनाए ।
‘हो, भरतपुरमा प्रचण्डले आफ्नी छोरीलाई उठाउनुभएको छ, उहाँले मात्रै रेणुलाई उठाउनुभएको होइन, हामीले पनि रेणुलाई नै उठाउन सुझाव दिएका थियौं,’ प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवाले भने, ‘हामी सबैले तपाईंकी छोरी नउठानुस् भनेको भए पनि उहाँले मान्नुहुन्थ्यो । राम्रो काम गरेको छ, किन हटाउनुहुन्छ ? भनेर मैले भनेको हो, राम्रो काम गरेको मान्छे, त्यो पनि महिलालाई किन रोक्नु ? दिनुस् भनेर मैले भनेको हो ।’
उनले प्रचण्डकी छोरीका रूपमा जन्मिनुबाहेक रेणुको कुनै गल्ती नभएको उनले बताए । भरतपुरमा रेणुले धेरै राम्रो काम गरेको भन्दै देउवाले अनावश्यक बखेडा नगर्न कार्यकर्तालाई आग्रह पनि गरे ।
प्रधानमन्त्री देउवाले काठमाडौं महानगरमा गठबन्धनका तर्फबाट कांग्रेसकी उम्मेदवार सिर्जना सिंहलाई पनि प्रकाशमानकी पत्नीका रूपमा प्रचार गरेकोमा असन्तुष्टि जनाए । उनले प्रकाशमान सिंह स्वयं पनि श्रीमती सिर्जनालाई काठमाडौंमा उम्मेदवार बनाउन डराएको उनले सुनाए । ‘प्रकाशमानको श्रीमती हुनु सिर्जनाको गल्ती हो ? यो अपराध त होइन नि !,’ देउवाले भने ।
माओवादी केन्द्रका अध्यक्ष दाहालले महिला उम्मेदवारलाई छोरी र श्रीमतीका रूपमा प्रचार गरेकोमा असन्तुष्टि जनाए । कसैको छोरी र श्रीमतीका रूपमा प्रचार गर्नु महिलाहरूको अपमान भएको उनको भनाइ थियो ।-राजधानी दैनिकबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया