काठमाडौंः स्थानीय तहको निर्वाचन सम्पन्न भएको २ दिन पूरा भइसक्दा ३ दर्जन पालिकाको मात्रै नतीजा सार्वजनिक भएको छ ।
अहिलेकै गतिमा मतगणना हुने हो भने पूरै नतीजा सार्वजनिक हुन अझै थुप्रै दिन लाग्ने देखिन्छ । मतगणनाको नतीजा ढिला गर्दा राजनीतिक दल तथा निर्वाचन आयोगलाई खासै असर नपरे पनि त्यसले निर्वाचनको प्रक्रियादेखि मतगणनासम्म खटिएका कर्मचारी र आमसर्वसाधारणलाई भने निकै असर गरेको छ । मतगणना प्रक्रिया लम्बिँदा कर्मचारीलाई मानसिक तनाव हुनुका साथै राज्यकोषमा आर्थिक भार पनि थपिन्छ ।
कछुवा गतिमा भइरहेको मतणनाको नतीजा सुन्न मतदान गरेका (वा मतदान नगरेका) कयौं मतदाता सञ्चार माध्यम ढुकेर बसेका हुन्छन् । निर्वाचनपछि अधिकांशले मिनेट मिनेटजस्तो सञ्चार माध्यम पछ्याइरहेको पाइन्छ । यसले गर्दा उनीहरूको नियमित काम मात्र प्रभावित भइरहेको छैन जीविकोपार्जनका कैयन् काम प्रभावित भएका छन् । सर्वसाधारणका दैनिकी प्रभावित हुनेबित्तिकै अन्तत: त्यसले अर्थतन्त्रमा असर गर्ने नै भयो । सर्वसाधारण यसरी काम नगरी मतगणनाको नतीजा कुरेर बस्नुपर्ने हो भने यसले अन्तत: उत्पादनमा लाग्ने समय खेर जान्छ ।
किन सुधार भएन लम्बेतान प्रक्रिया ?
पाँच वर्षअघि निर्वाचन गराउनेदेखि मतगणनासम्म जुन प्रक्रिया र विधि अपनाइएको थियो, यसपटक पनि तिनै प्रक्रिया दोहोर्याइएको छ । सुधार गर्नुपर्ने र गर्न सकिने सामान्य कार्यमा समेत सुधार नभएपछि प्रश्न गर्नुपर्ने अवस्था आएको हो । निर्वाचन आयोगले यस अवधिमा चुनावलाई सहज र छिटो, छरितोका लागि थुप्रै काम गर्न सक्थ्यो । तर, उसले ५ वर्षको अवधि त्यत्तिकै गुजार्दा अझै पनि आफूले गरेको मतदानको नतीजा थाहा पाउन सर्वसाधारणलाई लामो समय पर्खनु परेको हो ।
अहिले जसरी मतगणना भइरहेको छ, त्यो पनि निकै पुरातनवादी छ । उदाहरणका लागि काठमाडौं महानगरपालिकाको मतगणना गर्दा एकैचोटि सबै वडाको शुरू गर्नुपर्नेमा एउटा वडा सकिएपछि मात्र अर्कोको थालनी गर्ने गरिएको छ, जसले गर्दा सर्वसाधारणलाई नतीजाको भेउ पाउन अन्योल भइरहेको छ । कुनै एउटा वडामा अमूक दल वा व्यक्तिले बढी मत प्राप्त गर्ने र अर्को वडामा अर्कैले बढी पाउने हुँदा त्यसले निर्वाचनको मजा दिन सकेको छैन ।
सबैतिर एकैचोटि मतगणना शुरू हुने हो भने त्यसले एउटा प्रारम्भिक खाका दिन्छ, जुन विधि विकसित देशमा अपनाइन्छ । आयोगको काम निर्वाचन गराउने मात्र नभई सर्वसाधारणको विश्वास जित्ने र लोकतन्त्रको आधार मानिने निर्वाचनप्रति सर्वसाधारणको विश्वास टुट्न नदिने पनि हो ।- आर्थिक अभियान दैनिकबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया