श्रावण ७, २०८२ बुधबार July 23, 2025

प्रशासनदेखि शिक्षण संस्थासम्म आजदेखि हप्तामा २ दिन बिदा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सरकारले आजदेखि सातामा दुई दिन बिदा कार्यान्वयन गरेको छ । अब आइतबार र शनिबार सार्वजनिक बिदा हुनेछ । प्रशासनदेखि शैक्षिक संस्थासम्म अब सातामा पाँच दिन मात्रै खुला हुनेछन् ।

इन्धन खपत कम गरी वैदेशिक मुद्राको सञ्चिति बढाउने उद्देश्यले परीक्षणका रूपमा आइतबारसमेत सार्वजनिक बिदा थप गरिएको हो । देशव्यापी रूपमा सातामा दुई दिन सार्वजनिक बिदा दिइएको यो पहिलोपटक हो ।

गत १३ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले १ जेठ (आज) देखि लागू हुने गरी सातामा दुई दिन बिदा दिने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को निर्णयबमोजिम २६ गते राजपत्रमा प्रकाशित भएपछि सार्वजनिक बिदासम्बन्धी व्यवस्थाले औपचारिकता पाएको थियो । यही आधारमा गत २८ गते शिक्षा मन्त्रालयले पनि मन्त्रीस्तरबाट शिक्षण संस्थामा समेत सातामा दुई दिन बिदा दिने निर्णय गरेको थियो ।

बिदा थप गरेसँगै सरकारले प्रशासनमा ‘वर्किङ आवर’ (कार्यघन्टा) बढाएको छ भने शिक्षण संस्थामा शुक्रबारको आधा दिन छुट्टी समय बढाउनुका साथै वार्षिक बिदा कट्टा गरेर पठनपाठन अवधि समायोजन गरेको छ ।

अब प्रशासनमा कार्यालय दिनको समय एक घन्टा थप गरिएको छ । शुक्रबारको ३ बजेपछिको बिदालाई पूरा समय कार्यालय समय कायम गरिएको छ । सोमबारदेखि शुक्रबारसम्म बिहान ९:३० देखि अपराह्न ५:३० सम्म कार्यालय समय तोकिएको छ ।

लामो बिदाका कारण सेवा प्रवाहमा आइपर्ने जटिलतालाई सहज गर्न महत्वपूर्ण र आधारभूत सेवा प्रदान गर्ने कार्यालयमा लगातार दुई दिनभन्दा बढी बिदा नदिने व्यवस्था सरकारले गरेको छ । तर, यो व्यवस्था दसैँ र तिहारका हकमा भने लागू नहुने भनिएको छ ।

त्यस्तै, शिक्षण संस्थाहरूको हकमा विद्यालयहरूमा साबिकबमोजिम नै बिहान १० देखि अपराह्न ४ बजेसम्म पठनपाठन हुनेछ । शुक्रबार १ बजेसम्मको पठनपाठनलाई अन्य दिनझैँ ४ बजेसम्म कायम गरिएको छ । राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ ले निर्दिष्ट गरेबमोजिमको पाठ्यघन्टा (क्रेडिट आवर) र कार्यघन्टा (वर्किङ आवर) नघट्ने गरी पठनपाठनका कार्यहरू सञ्चालन गर्न अपुग हुने समयावधि हिउँदे वा वर्षे वा अन्य बिदा कट्टा गरेर पूर्ति गर्ने निर्णय शिक्षा मन्त्रालयले गरेको छ । यसो गर्दा वर्षभरमा अधिकतम ३० दिनसम्म एकैपटक वा पटक–पटक गरेर बिदा दिन सकिने गरी स्थानीय तहले बिदा समायोजन गर्ने मन्त्रालयको निर्णयमा उल्लेख छ । यहीअनुसार वार्षिक क्यालेन्डर तयार गरी कार्यान्वयन गर्न मन्त्रालयले विद्यालयहरूलाई भनेको छ ।

शिक्षण संस्थाहरूमा पाठ्यघन्टा (क्रेडिट आवर) र कार्यघन्टा (वर्किङ आवर) नघट्ने गरी पठनपाठन कायम गर्न भनिएको छ । तर, प्रशासनका हकमा भने बिदा थप्ने निर्णय मात्र भएको छ ।

बिदा थप भएसँगै यस वर्ष एक सय ३६ दिन सार्वजनिक बिदा परेको छ । तर, आठ दिनको बिदा खप्टिएकाले राष्ट्रियस्तरको सार्वजनिक बिदा एक सय २८ दिन हुन्छ । अघिल्लो वर्ष ९५ दिन मात्रै सार्वजनिक बिदा थियो । संघ सरकारले निर्णय गरेर तोकेकाबाहेक क्षेत्रीय बिदासमेत जोड्दा यो संख्या झन् बढ्छ । प्रदेश सरकारले आ–आफ्नो प्रदेशको धर्म, संस्कृतिसमेतलाई दृष्टिगत गरी वर्षमा अतिरिक्त ६ दिन बिदा दिन सक्ने व्यवस्था छ । प्रदेश सरकारले लागू गरेका यस्ता बिदा संघीय कार्यालयमा समेत लागू हुन्छ ।

०४८ मा तत्कालीन प्रशासन सुधार आयोगले खर्च घटाउन सकिने र प्रशासन सञ्चालन सहज हुने भन्दै सातामा दुई दिन बिदा दिने सिफारिसका आधारमा ०५६ मा काठमाडौं उपत्यकामा सातामा दुई दिन बिदा दिइएको थियो । तर, छोटो समयमै निर्णय खारेज गरिएको थियो ।

यसअघि ८ असोज ०७७ मा पर्यटन मन्त्रालयले गठन गरेको अध्ययन समितिले सातामा दुई दिन सार्वजनिक बिदा कायम गर्दा आर्थिक रूपले कर्मचारी र कार्यालय तथा संस्थाहरूको उत्पादकत्व वृद्धि हुने, सरकारी खर्च कटौतीमा सहयोग पुग्ने, पर्यटकीय दृष्टिकोणले आन्तरिक पर्यटन प्रवद्र्धनमा सहयोग हुनेलगायत सिफारिस गरेको थियो । तर, प्रतिवेदन कार्यान्वयन हुन सकेन । नयाँपत्रिका

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चिकित्सक संघद्वारा सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न माग
२०८२ श्रावण ७, बुधबार
अमेरिकासँगको व्यापार वार्तामा ‘समन्वयलाई सुदृढ’ बनाउने चीनको भनाइ
२०८२ श्रावण ७, बुधबार
‘हनी ट्र्याप’मा पारी १४ लाख असुल्ने महिला पक्राउ
२०८२ श्रावण ७, बुधबार
चलचित्र ‘कोशेढुंगा’को तीज गीत सार्वजनिक, ४० देशमा एकसाथ प्रदर्शनको तयारी
२०८२ श्रावण ७, बुधबार
दुई आयोगबिच सहयोग, समन्वय र सहकार्य हुने
२०८२ श्रावण ७, बुधबार
कांग्रेस र कम्युनिस्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छः प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन: प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार