श्रावण ८, २०८२ बिहिबार July 24, 2025

मतगणना सकिन अझै एक साता लाग्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः अधिकांश पालिकाको मतपरिणाम आइसक्दा पनि काठमाडौं महानगरको मतगणनामा कहिलेसम्म टुंगिन्छ भन्ने अझै अनिश्चित छ । गणनाको गति यति सुस्त छ कि ३२ वटा वडा रहेको महानगरमा शनिबार रातिसम्म १२ वडाको मात्र नतिजा आएको छ ।

तीन लाख दुई सय ४२ मतदाता रहेको महानगरमा ६३.६० प्रतिशत अर्थात् एक लाख ९० हजार नौ सय ५६ मत खसेको थियो । औसतमा दैनिक १२ हजार पाँच सय मतगणना भएको छ । *शनिबार रातिसम्म ९५ हजार ६ सय ७४ मत मात्रै गणना भएको छ । काठमाडौं महानगरको गणना भएको मत ९५ हजार ६ सय ७४ रहेको छ अहिलेकै अवस्थामा सबै मतगणना सकिन एक साता लाग्छ ।

सुस्त मतगणनाबाट गणक मात्र होइन, उम्मेदवार, दलका प्रतिनिधि र परिणाम कुरेर बसेका मतदातासमेत थाकिसकेका छन् । तर, जिल्ला निर्वाचन कार्यालय काठमाडौंका प्रमुख ठाकुरप्रसाद भट्टराईले आइतबार बिहानसम्ममा एक लाख गणना सकिने बताए ।

सुरुवाती चरणमा ६ स्थानबाट गरिएको भए पनि त्यसलाई बढाएर हाल नौ स्थानबाट गणना गरिएको छ । ३२ वटा वडामध्ये शनिबारसम्ममा १, २, ३, ४, ५, ६, ८, २८, २९, ३०, ३१ र ३२ गरी जम्मा १२ वडाको मतगणना सकिएको छ । जिल्ला निर्वाचन कार्यालय काठमाडौंले आइतबार बिहानसम्म थप सातवटा वडाको नतिजा आउन सक्ने जनाएको छ ।

हाल मतगणना भइरहेका ७, ९, १०, २५, २६ र २७ नम्बर वडाको नतिजा आइतबार बिहानसम्म आउने आयोगको दाबी छ । ११ देखि २४ वडासम्मको अर्थात् १४ वटा वडाको गणना बाँकी रहनेछ ।

जिल्ला निर्वाचन कार्यालय काठमाडौंका प्रमुख भट्टराईले मतपत्रको आकार ठूलो हुँदा गणनामा ढिलाइ भएको बताए । उनका अनुसार दलहरूबीचको तालमेल र स्वतन्त्र उम्मेदवार धेरै भएकाले गणनाका क्रममा सबै उम्मेदवारका प्रतिनिधिको सहमति लिनुपर्ने भएकाले पनि गणनामा ढिलाइ भएको हो ।

तुलनात्मक रूपमा अन्य महानगरमा भन्दा काठमाडौंको मतगणना छिटो भएको उनको दाबी छ । ‘अन्य महानगरको तुलनामा काठमाडौं महानगरको गणना छिटो हो । उदाहरणका लागि ललितपुर महानगरको जम्मा १९ लहरको मतपत्र हो । तर, काठमाडौंमा ६४ लहरको मतपत्र छ,’ उनले भने, ‘दलहरूबीचको तालमेल र स्वतन्त्र उम्मेदवारको गणना गर्दा निकै होसियारीका साथ गर्नुपर्ने हुन्छ । निर्वाचन अधिकृतको कार्यालयको कमजोरीका कारण मतगणना ढिलाइ भएको होइन ।’

जिल्ला निर्वाचन कार्यालय काठमाडौंका प्रमुख ठाकुरप्रसाद भट्टराईले ०७४ कै गल्ती दोहोरिएको सुनाए । ‘०७४ को स्थानीय तह निर्वाचनमा पनि काठमाडौं महानगरको मतगणना सुस्त थियो । यसपालि पनि त्यो गल्ती दोहोरियो,’ उनले भने, ‘अब यस्तो हुन नदिन ऐन नै संशोधन गरेर मेयर र उपमेयरको छुट्टै मतपत्र बनाउनुपर्छ र वडाको मतगणना वडामा नै गर्नुपर्ने व्यवस्था मिलाउनुपर्छ । छिटो मतपरिणाम दिन यही नै उत्तम विकल्प हुने देखिन्छ ।’

अहिलेसम्म १२ वडाको नतिजा, कुन दलले कति वडा जिते ?

अहिलेसम्मको मतपरिणामअनुसार सातवटा वडामा एमाले र पाँचवटामा कांग्रेसले विजयी हासिल गरेका छन् । एमालेले १, २, ३, ४, ५, ३१ र ३२ वडामा तथा कांग्रेसले ६, ८, २८, २९ र ३० नम्बर वडामा जित निकालेका छन् । ०७४ मा ३२ वडामध्ये एमाले १, २, ३, ४, ७, ९, १२, १३, १४, १५, १८, २१, २२, २३, २४, २७, ३१ र ३२ गरी १८ वडामा विजयी भएको थियो । बाँकी १४ वटा वडामा कांग्रेसले जितेको थियो । त्यसवेला मेयर एमाले र उपमेयर कांग्रेसले जितेका थिए ।

बुढीगंगा र त्रियुगाको विवाद समाधान भएन

निर्वाचन आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार बाजुराको बुढीगंगा र उदयपुरको त्रियुगा नगरपालिकाको मतगणना सुरु हुन सकेको छैन । दुवै पालिकामा राजनीतिक दलहरूबीचको विवादका कारण मतगणना सुरु हुन नसकेको सहप्रवक्ता अर्यालले बताए ।

विवाद देखिएपछि बुढीगंगामा निर्वाचन आयुक्त सगुनशमशेर राणा संयोजकत्वको टोलीले स्थलगत अध्ययन गरेर प्रतिवेदन तयार पारिसकेको र त्रियुगामा आयुक्त रामप्रसाद भण्डारी संयोजकत्वको टोलीले स्थलगत अध्ययन गरेर प्रतिवेदन बनाउने काम भइरहेको उनले बताए ।

‘दुवै पालिकाका मतपेटिका सम्बन्धित निर्वाचन कार्यालयमा सुरक्षित साथ राखिएको छ । दलहरूबीचको विवादका कारण मतगणना सुरु नभएको हो । आयुक्तजीहरूको टोलीले बनाएको प्रतिवेदनका आधारमा आयोगले छिट्टै यसबारे निर्णय गर्छ,’ उनले भने । नयाँपत्रिका दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आजको मौसम : यी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
२०८२ श्रावण ८, बिहिबार
प्रतिनिधिसभा बैठक बस्दै, यस्ताे छ कार्यसूची
२०८२ श्रावण ८, बिहिबार
मुलुकमा सबै कम्युनिष्ट एकीकृत हुनुपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण ८, बिहिबार
चिकित्सक संघद्वारा सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न माग
२०८२ श्रावण ७, बुधबार
अमेरिकासँगको व्यापार वार्तामा ‘समन्वयलाई सुदृढ’ बनाउने चीनको भनाइ
२०८२ श्रावण ७, बुधबार
‘हनी ट्र्याप’मा पारी १४ लाख असुल्ने महिला पक्राउ
२०८२ श्रावण ७, बुधबार
चलचित्र ‘कोशेढुंगा’को तीज गीत सार्वजनिक, ४० देशमा एकसाथ प्रदर्शनको तयारी
२०८२ श्रावण ७, बुधबार